कविता : कसरी भनौँ गलगाँड तन्त्र – जिन्दाबाद !

इनेप्लिज २०७९ जेठ १५ गते १६:०० मा प्रकाशित

पारीका कथित “छिमेकी” दाइले बोलाए
गए हाम्रा ७ दाइ भाइ लाइन लागेर,
“छिमेकी” दाइ कै खटन पटन र आदेश
थमाए पेन्सिलले लेखेर राखेको कागज
एक दुई गर्दै पढ्दा १२ नम्बर सम्म पुगे
यहाँ सही छाप गर – दाइले उर्दी गरे
सही छाप गरे हाम्रा ७ दाइ भाइले !
यसरी भित्रिएको थियो देशमा लुटतन्त्र
यसरी भित्रिएको थियो देशमा गलगाँड तन्त्र
मादल बजाउँदै नचाउने सबै पारीका
उनीहरूकै मादलको तालमा नाच्ने हाम्रा वारीका
दिन प्रतिदिन उनीहरूकै रख्यौल जस्तो
देख्नु भएकै छ, भोग्नु भएकै छ, थियो कस्तो, भयो कस्तो !
त्यसैले म भन्छु,
एउटा राजा फालेर, हजार राजा पालेर
अफगानिस्तान र श्रीलङ्काको बाटो हिँड्ने
यस्तो गलगाँड तन्त्र चाहिएको भए न भन्ने हो,
गलगाँड तन्त्र – जिन्दाबाद !
माफ गर्नुस् गलगाँड तन्त्र चाहिएकै छैन
देश र जनताका लागि चाहिएको तन्त्र,
अझै पाइएकै छैन !
घाँटी रेट्ने र टाउको काट्नेहरू,
टाउकाको मूल्य तोक्नेहरू
यता र उता गर्दै, जुट्दै, फुट्दै,
देश र जनता लुट्नेहरू
राक्षसी राज धोक्नेहरू र तिनैलाई बोक्नेहरू
हजार पिर्के महाराजा र महारानी स्याहार्नेहरू
हेर्दा भोग्दा वाक्क दिक्क म र म जस्ताहरूले
खोइ कसरी भन्न सकिन्छ र,
गलगाँड तन्त्र – जिन्दाबाद !
– रामप्रसाद खनाल, मे २९, २०२२

प्रतिक्रिया