डा कोइरालाद्वारा जेरीएटिक अस्पताल शिलन्यास

इनेप्लिज २०७९ जेठ ९ गते २१:२९ मा प्रकाशित

विराटनगर,९ जेठ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नव निर्वाचित जनप्रतिनिधिहरुले कामको आधारमा जनताको विश्वास जित्नु पर्ने बताउनु भएको छ।

विराटेश्वर वृद्धाश्रम सेवा समितिद्वारा विराटनगर–८ द्वारा विराटनगर–६ रामपुरमा एक विघा जग्गामा रु २५ करोडको लागतमा १५ शैय्याको निर्माण गरिने ‘शंकर अधिकारी मेमोरियल स्मारक जेरीएटीक अस्पतालको आज शिलन्यास गर्दै उहाँले कुरा बताउनु भएको हो।

डा.कोइरालाले पालिकाका प्रतिनिधिहरुले सुशासन,पारदर्शी र जवाफेही ,भ्रष्टाचारमुक्त र जनउत्तरदायि भएर कार्य गर्नु पर्नेमा जोड दिनु भयो।

उहाँले स्थानीय तहमा हुने विकास निर्माण कार्यको प्रमुख तथा अध्यक्षहरुले आवश्यक अनुगमन गरी ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो।

नेता कोइरालाले मुलुकमा मंहगी अध्याधिक वृद्धिले तल्लो तहमा जनता यसवाट प्रभावित भएकोले यसतर्फ राज्यको ध्यान जानुपर्ने आवश्यकता औल्याउनु भयो।

विराटनगर महानगरपालिकाका नव निर्वाचित प्रमुख नागेश कोइरालाले जेष्ठ नागरिकहरुलाई आवश्यक पर्ने स्वास्थ्य उपचार लगायत अन्य कार्यका लागि समन्वय गरि अगाडि वढ्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

आश्रम प्रमुख जगत अर्याल,नेकां महानगर अध्यक्ष दिपक चापागाई,नेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता,डा नाराण कोइराला र रुक्मणी कोइरालाले अस्पताल स्थापनाबाट यस प्रदेशका जेष्ठ नागरिकहरुले गुणस्तरीय उपचारको सुविधा पाउने विश्वास व्यक्त गर्नु भयो।

उक्त अस्पताल निर्माणका लागि स्व.अधिकारीकी श्रीमती सरोज अधिकारी,संजिव अधिकारी वुहारी अन्जना अधिकारीले निशुल्क जग्गा उपलव्ध गराउनु भएको हो।

जेष्ठ नागरिकहरुलाई सम्पूर्ण स्वास्थ्य सम्वन्धि उपचार एकै ठाउँमा उपलव्ध हुने अस्पताललाई ‘जेरिएटीक’ अस्पताल भनिने र यो नेपालको पहिलो हुने कार्यक्रममा जानकारी दिइयो।

उक्त्त अस्पताल निर्माणका लागि आश्रम प्रमुख अर्यालले सर्वसाधारणसंग दैनिक रु ५ संकलन गर्नुका साथै सङ्घीय,प्रदेश,स्थानीय पालिका तथा स्वदेश तथा विदेशबाट आवश्यक सहयोगबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया