कविता : आगो सल्किसकेको छ !

रामप्रसाद खनाल २०७९ जेठ ८ गते १३:४४ मा प्रकाशित
लुटको लङ्कामा
अपराध र अनैतिकताको लङ्कामा
आगो सल्किसकेको छ
डढेलो सुरु भैसकेको छ
नहोस् पनि कसरी ?
वैशाख जेठको धूपमा !
पूर्वको धरानबाट
पश्चिमको धनगढीबाट
देशकै मुटु काठमाडौँबाट
यसै गरी ठाउँ ठाउँ
र, गाउँ गाउँबाट
देखिइसकेको छ आगोको झिल्का
सल्किँदैछन् लुटेर बनाइएका,
परालका टौवाहरू
मकैका सुलीहरू
धन र धानका धनसारहरू
सुन र चाँदीका बन्द बाकसहरू
आगो पहिलै लागिसक्नु पर्ने थियो
ढिलो भएकै हो शङ्कै छैन
मौसम त्यति अनुकूल नभएर होला
वा,
सलाई कोर्नेहरूको ढङ्ग नपुगेर होला
सलाई का कैयौँ काँटीहरू खेर पनि गए
सोंचेकाहरु बाट सलाई नपरे पनि
नसोचेका हरूले, नपत्याएकाहरुले
सलाई कोरिरहेका छन्
आगो पारिरहेका छन्
जलाइनै पर्ने फोहोरका डुङ्गुरहरु
ढिला भएकै हो जलाउन
गाउँ देखी शहर सम्म फैलिएकै हो दुर्गन्ध
तर
लुटको लङ्का मा
फोहोरका डुङ्गुरहरु मा
ढिलै भए पनि
आगो लागिसकेको छ
डढेलो लागिसकेको छ
हजुर बा का पालाका जीर्ण दमकलहरू
के सक्थे यो आगो र डढेलो निभाउन
त्यसमाथि,
उद्घाटन भैसकेको मेलम्चीको पानी
झरे पो धारामा, भरिने होलान् दमकल
तर मेलम्ची आफै जलिरहेको छ पानी खोज्दै
त्यसैले
यो आगो, यो डढेलो,
देखिँदैन रोकिने
देखिँदैन छेकिने
पानी बिनाका दमकलहरू
साइरन बजाउन जतिसुकै
छैन कुनै माने
आगो सल्कियो, निभ्ने छैन जाने
समयमै किनारा लाग्नु
आगोले खरानी पार्न सक्छ भाग्नु
नजिक बस्दै नबस्नु आगो को
आगो हो पोल्छ, जलाउँछ
त्यसैले आगो सँग खेल्दै नखेल्नु !
– रामप्रसाद खनाल, May 22, 2022

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया