हो त्यो प्रतिगामी नै हुनु पर्छ
राजाकै मान्छे हुनु पर्छ
नभए शाह थर किन भयो उसको ?
कालो चस्मा लगाउँछ किन त्यसले ?
काठमाडौँ बनाउँछु भन्छ किन त्यसले ?
नेपालको झण्डा किन बोक्छ त्यसले ?
लौरो उठाउँछ र सेक्छ हरेक वडाहरुमा,
रैथाने भाउजु र दाइलाई लखेट्छ किन त्यसले ?
मलाई पनि शङ्का लागेको छ उ माथि
खान्न भन्छ, खान दिन्न भन्छ
यस्ताको पनि कहीँ भर गर्न हुन्छ ?
सेटिङमा चल्ने राजमा,
यो बबुराको कुरा कसले सुन्छ ?
मिटिङहरू पनि कहीँ लाइभ गर्न हुन्छ ?
खुबै जान्ने भएको दारी केटो !
न त कुनै मुद्दा लागेको छ
न त जेल बसेको छ
न त रेनुका बाउ छोरीहरु जस्तै,
कहिले यता, कहिले उता पसेको छ !
न त नातावाद र कृपावादमा विश्वास गर्छ
यस्तो बकम्फुसे पनि कहीँ मेयर हुन्छ ??
हो त्यो प्रतिगामी नै हुनु पर्छ
राजाकै मान्छे हुनु पर्छ
नत्र कालो चस्मा किन लाउनु पर्छ ?
मलाई पनि शङ्का जागेको छ
काङ्ग्रेस एमाले माओवादी वा कुनै दलबाट,
विश्वास लाग्थ्यो उठेको भए
तर उ स्वतन्त्र किन उठ्यो ?
लौरो लिएर किन उठ्यो ?
मलाई पुरै शङ्का लागेको छ
प्रतिगामी नै हो भन्ने शङ्का जागेको छ !
काठमाडौँ मा स्थापित हुन खोज्ने ?
सिर्जना गर्छु भन्दै टक्कर दिन खोज्ने ?
यो केटो प्रतिगामी नै हुनुपर्छ
मलाई पुरा शङ्का लागेको छ !
– रामप्रसाद खनाल, May 21, 2022
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया