आइतबार, असार १२ २०७९
काठमाडौं २३:२७
वासिङटन डिसी 13:42

यसरी बिग्रन सक्छन् अमेरिका पढ्न आएका तपाईंका छोराछोरी

नवीन रायमाझी २०७९ जेठ ५ गते २३:२२ मा प्रकाशित

आफ्नो छोराछोरी अमेरिकामा पढिरहेका छन् भनेर मात्र पनि खुशी हुने गरेका छन्– नेपाली अभिभावक। त्यस्ता बावुआमालाई कतिपय छोराछोरीहरुले अनेकौं झुठो कुरा भनेर एकतर्फ ठगिरहेका छन् भने अर्कोतर्फ आफ्नै भविष्य बर्बाद गरिरहेका छन्।

छोराछोरी अमेरिका गएका छन् र उनीहरु गम्भीरतापूर्वक पढिरहेका छन् भन्ने विश्वासमा बसेका अभिभावकहरुले एकपल्ट राम्रो सँग जाँच गर्नुहोला। किनकि, बाआमाको यस्तै विश्वासको फाइदा उठाएर पढाइ छोडी बरालिएर बस्ने मान्छे यता प्रशस्तै छन् ।

हाम्रो नेपालको बन्द समाजबाट एकैपटक खुल्ला समाजमा पुग्दा कसरी आफुलाई टिकाउने भनेर मानसिक रुपमा तयार नभएका युवायुवतीहरु मध्ये धेरै कुबाटोमा लाग्ने सम्भावना रहन्छ। तर, यसको यस्तो अर्थ नलागोस्– पढ्न अमेरिका आएकाहरु सबैले बीचैमा पढाइ छोडेका छन् वा सबै कुबाटोमा लागेका छन् ।

पंक्तिकारसँग परिचित दुई व्यक्तिहरुले पढाइ छाडेको निकै लामो समय भइसकेको कुरा यता आएपछि मात्र थाहा भयो। उता बाआमा मेरो छोराछोरीले पढेपछि यस्तो जागिर पाउँछ र यति पैसा कमाउँछ भनेर सपना सहित औंला भाँचेर हिसाब गरी बसिरहेका छन्।

पढ्न भनेर अमेरिका आएका छोराछोरीको हालत भने न बस्ने ठेगान छ न कामको ठेगान छ। कलेजमा फी तिर्नुपर्‍यो भनेर नेपालबाट पैसा मगाएर यता हल्लिएर बस्ने तिनीहरुले आफ्नो भविष्य त अन्धकार बनाएकै छन्, घरपरिवारलाई पनि खाल्टोमा जाक्दै छन्।

बाबुआमा भने छोराले पढाइ सिध्याउने अवसरको ‘ग्र्याजुएसन सेरेमनी’ मा आफू पनि अमेरिका आउन पाइएला भन्ने मिठो कल्पनामा डुबेका छन्, जुन कल्पना नराम्रो सँग टुट्ने निश्चित छ। अब आफैँ विचार गर्नुस्, यसरी सपना टुट्दा त्यो बाबुआमाको हालत कस्तो होला?

नकारात्मक मात्र सोचेको अर्थ नलागेमा नेपालमा रहेका धेरै अभिभावकहरुलाई मेरो छोराछोरीले कुन विश्वविद्यालयमा कुन बिषय पढिरहेको हो र उसको पढाई कहिले समाप्त हुने हो भन्ने सामान्य जानकारी पनि हुँदैन। अब चिने जानेको मान्छे बिग्रेको देख्न नसकेर उसलाई यसो गर्न हुँदैन भन्यो भने ‘मेरो बारेमा सोच्नु भन्दा आफ्नो काम गर्नु राम्रो’ भनेर रिसाउँछन्।

उता बाबुआमालाई भन्यो भने ‘मेरो छोराछोरीको प्रगति देख्न नसकेर झूठो हल्ला फैलायो’ भन्ने आरोप लाग्छ तर छोराछोरीले गरेको कुकर्मको खबर सबैभन्दा पछि थाहा पाउने बाबुआमाले नै हो। यस्तै नमिठो अनुभव पंक्तिकारले एकपटक भोगिसकेको कारणले यस्तो अनुभव आदान प्रदान गर्न खोजेको मात्र हो।

आफ्नो केटाकेटीमाथि भरोसा र विश्वास गर्नु अत्यन्तै राम्रो कुरा हो तर अलिकति चनाखो भएमा अनुचित कुरा हुन पाउँदैन र पछि हत्तेरी भन्नु पर्ने स्थिति आउँदैन भन्न मात्र खोजिएको हो।

समय समयमा अभिभावक हरुले आफ्नो छोराछोरीको पढाईको बारेमा जानकारी लिइरहने हो भने पनि यस्तो अबस्था नआउन सक्छ। आफ्नो छोराछोरीले कुन विश्वविद्यालय अन्तर्गतको कुन कलेजमा र कुन स्तरमा पढिरहेको छ, त्यो कुराको सम्पूर्ण जानकारी अभिभावकले पनि राख्नु अत्यन्तै जरुरी छ।

यदि आफुलाई त्यसबारे जानकारी छैन भने कुनै परिचित जानकार व्यक्तिहरुसँग सल्लाह लिएर पनि आफूलाई ‘अपडेट’ राख्न सकिन्छ। यदि कुनै केटाकेटी गलत बाटोतर्फ जान लाग्यो भने समय रहँदै उसलाई सम्हाल्न सकिन्छ। जो राम्रै सँग अध्ययन गरिरहेका छन्, उनीहरुको बिषयमा चिन्ता लिनुपर्ने त कुनै कारण छँदै छैन।

मलाई यो पंक्तिहरु लेखिराख्दा आफु शत प्रतिशत झुट्ठा सावित हुन पाए हुन्थ्यो भन्ने महसुस भइरहेको छ तर कसैले स्वीकार गर्न सके पनि नसके पनि मैले लेखेको कुरा सत्य नै हो। यसको मतलब सबैले घरमा आफ्नो बाबुआमासँग झूठो बोलेर बेइमानी गरिराखेका छन् भन्ने होइन। दिनको चार घण्टा मात्र सुतेर, काम गरेर आफ्नो पढाइलाई सुचारु राख्ने मेहनति बिद्यार्थीहरु पनि नभएको होइन तर पढ्न भनेर यता आएर पढाइ छोडेर बसेका बिद्यार्थीहरु प्रशस्तै भएको कुरा पनि सत्य हो।

अलिकति चनाखो भएर अभिभावकहरुले ध्यान दिने र पढ्न भनेर आएका ब्यक्तिहरुले पनि मैले आज अलिकति दु:ख गर्यो भने पछि सुख पाइन्छ भन्ने कुरालाई मनन गर्यो भने यो समस्या आफैँ हटेर जाने छ। हाल विभिन्न तहमा अध्ययन गरिरहेका सम्पूर्ण भाइबहिनीहरुलाई शुभकामना।

-नवीन रायमाझी

प्रतिक्रिया