अमेरिका: भ्रम र बास्तबिकता

नवीन रायमाझी २०७९ जेठ २ गते २१:५३ मा प्रकाशित

 

नेपालमा बसेर अमेरिकाको विषयमा तर्कबितर्क गर्ने नेपालीमा ठूलो भ्रम फैलिएको देखिन्छ। अमेरिका बसेकाले गर्ने गरेको बढाई–चढाई (गफ) र अंग्रेजी सिनेमाका नायक–नायिकाबीच भएको अन्तरंग दृश्यलाई नै अमेरिकाको वास्तविकता ठान्ने पनि छन् नेपालमा। समृद्ध देश भएका कारण नेपालबाट आउँदा भन्दा अमेरिकामा बसोबास गर्दा नेपालीहरुको जीवनस्तर उच्च भएको यहाँ अवगत गराइरहनु पर्ला जस्तो मलाई लाग्दैन।तर जे जस्तो अवधारणा बनाइएको छ,त्यो सत–प्रतिशत जायज छैन। यस्तै केहि भ्रमलाई चिर्ने प्रयास यहाँ म गरिरहेको छु।

नेपालबाट झट्ट हेर्दा अमेरिका बसोबास गर्ने सबैको जीवनस्तर सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिर झैं बडो ‘ग्ल्यामर्स’ देखिन्छ।अपवाद छोडेर कुरा गर्ने हो भने– जसको जीवनस्तर ‘ग्ल्यामर’ युक्त देखिन्छ वास्तवमा उसले यस्ता तस्बिर पोस्ट गर्दैनन्।तर,जसको जीवनस्तर मुश्किलले चलेको छ,उसको चुरीफुरी बढी नै हुनेगर्छ।

एउटा कथन नै छ नि– सूर्य अस्ताउन लागेको समय छाँया ठूलो देखिए झैं अमेरिका बसोबास गर्ने मान्छेले ठूलो कुरा गर्यो भने,उसको जीवन अस्तब्यस्त भएको ठोकुवा गर्दा हुन्छ।

‘थ्रिप्ट सप’ नाम गरेको ‘सेकेण्ड ह्याण्ड’ सामान बिक्रि गर्ने पसलबाट जुत्ता,लुगा र अन्य सामान खरिद गरेर गुजारा चलाउने धेरै नेपालीलाई यहाँ मैले चिनेको छु। तर,उनीहरु आफ्नो बाध्यता स्वीकार गर्दैनन्।यसलाई शोखको रुपमा लिन्छन्।मेरो बिचारमा कुनै मान्छेले सोखले ‘सेकेण्ड ह्याण्ड’ सामान प्रयोग गर्दैन। वास्तविकतामा बाच्ने मान्छेले यो कुरा राम्रो सँग बुझेका छन्।नबुझेको दावी गर्नेलाई के नै भन्न सकिन्छ र खै?

अमेरिकामा म्यानेजर (पद) र ‘इन्भ्यारोमेन्टल सर्भिस’ (काम) जस्ता शब्दको पनि ब्यापक दुरुपयोग भएको छ। यताको बिश्व बिधालयमा नपढेको मान्छेले ‘म म्यानेजर हुँ’ भन्छ भने त्यो बिल्कुल झुटो कुरा हो। अझ कुनै नेपाली वा भारतीयको पसल वा रेस्टुरेन्टमा काम गरेर उसले आफूलाई म्यानेजर भन्छ भने, उ केवल ‘हेड पिउन’ मात्र हो। उसले काम गर्ने ठाउँको पनि चर्पी सफा गर्नुपर्ने हुन्छ।

यस्तै सब–वे, डनकिन डोनट, म्याक डोनाल्ड, ग्यास स्टेशन (पेट्रोल पम्प) जस्ता ठाउँमा काम गर्नेले पनि सातामा एक दिन अनिवार्य चर्पी सफा गर्नैपर्ने हुन्छ। ‘इन्भ्यारोमेन्टल सर्भिस’ भन्ने शब्द सुन्दा जति आकर्षक लाग्छ, यो काम पनि चर्पी सफा गर्ने नै हो।

नेपालमा बसोबास गर्ने आफन्तले यताको मान्छेसँग सबैभन्दा धेरै आशा गर्ने भनेको आईफोन हो। न्युनतम एक हजार डलर मूल्य पर्ने यस्ता फोन सेट उपहार दिन कठिन पर्छ। निकटसम्बन्ध भएकाले माग गरेको खण्डमा फोन हरायो भनेर अर्को ‘क्लेम’ गर्ने र पठाउने हो।

यदी त्यस्ता फोनको आइएमइआइ नम्बर ‘ट्रयाक’ भयो भने प्रयोग गर्ने ब्यक्ति कानुनी झन्झट्मा पर्न सक्छ। यस्तै कसैले डलर ट्रि, फेमेली डलर र डलर जरनलको सामान उपहार दियो भने सम्झनुस्, यी पसलमा सबै सामान केवल एक डलरमा आउँछ। चकलेट (यता क्यान्डी भनिन्छ) उपहार दियो भने त्यसमा म्याद सकिएको छ कि छैन, त्यो हेर्न नभूल्नुहोला। यस्ता चकलेटमा यदी ‘वान्ली फर पेट’ लेखिएको छ भने बुझ्नुहोला, त्यो कुकुरको लागि मात्र हो।

अमेरिकी महिलालाई लिएर पनि नेपालमा ठूलो भ्रम छ।पबाद बाहेक यताका कुनै पनि महिलाले हामी सँग प्रेम गर्छन् जस्तो मलाई लाग्दैन।अमेरिकामा अंकमाल गरेर गाला जोड्नु सामान्य कुरा हो।हामीले नमस्ते गरे जस्तो।त्यसैले एउटै ठाउँमा काम गर्दा परिचय भएकाले अँगालो हालेर गाला जोडे भने त्यसलाई गम्भीरतापूर्वक लिएर खुशी हुनुको कुनै अर्थ छैन।

नेपालमा कुनै नारीलाई यसरी अँगालो मारेर गाला जोड्ने चलन छैन।त्यसैले हामीलाई अच्चम लाग्नु मनासिब होला तर यँहा यस्तो बिषयमा यसमा अच्चम मान्नुपर्ने खासै कारण म देख्दिन्।

यस विषयमा अमेरिकामा झनै चनाखो हुनु जरुरी छ।कुनै महिलाले यौन दुर्ब्यवहारको आरोप लगाएको खण्डमा बरु मान्छेलाई मरे आराम होला,जिउँदो हुँदा सम्म उसले अनेक किसिमका झन्झट ब्यहोर्नु पर्ने हुन्छ।कुनै महिलाले इच्छ्याएको खण्डमा पुरुषलाई जुनसुकै झुटो मुद्दामा फसाउन सक्ने कानुन भएको देशमा कुनै घटना घट्यो भने के सम्म हुनसक्छ? त्यो पाठकवर्ग आफैले अनुमान लगाउन सक्नुहुनेछ।

यो आलेख अमेरिका नपुगेका तर अमेरिका भनेको यस्तै होला भनेर कोरा कल्पनामा हिँडेका नेपालीको भ्रम चिर्ने उद्धेश्यका लागि तयार पारिएको हो।हाम्रो जस्तो अविकशित देश,जहाँका सर्वसाधारण अभावमा जीवन गुजार्न विवश छन्,उनीहरु वास्तविकता भन्दा भ्रममा बाच्न चाहन्छन्।उनीहरुका लागि भ्रम नै प्रियकर हुन्छ।त्यसैले कसैलाई रामायण पढेर रामको भन्दा रावणको व्यक्तित्व राम्रो लाग्छ भने त्यस्ता व्यक्तिका लागि अहिले सम्म कुनै औषधि बनेको छैन। बन्दैन पनि।-

-नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया