झ्याउरे लाेक छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला- २७” सम्पन्न !

इनेप्लिज २०७९ वैशाख ३१ गते ११:०१ मा प्रकाशित

काठमाडौ, टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला- २७” सम्पन्न भएकाे छ।

प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका बिभिन्न देशहरूबाट २४ नेपालीभाषी सर्जकहरू सहभागी भई लाेक छन्द अन्तर्गत झ्याउरे छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।

छन्दमा टुक्का अभ्यास श्रृङ्खला विभिन्न छन्दहरू सिकाउदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ  टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।

कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले उत्साहपूर्वक झ्याउरे लाेक छन्दमा सुन्दर तथा चाेटिला टुक्काहरू सिर्जना गर्ने सबै सहभागी टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

झ्याउरे छन्द
सूत्र : ३+२,३+२,३+३=१६

अभ्यासकाे क्रममा सङ्कलन गरिएका झ्याउरे लाेक छन्दका टुक्का कविताहरू

[१]
१.
लेख्दैछु टिप्दै, झ्याउरे छन्द, अक्षर रोजेर ,
न आऊ प्रिय, टाढा छु ऐले,मलाई खोजेर।
२.
मभित्र आगो, पानी छ तातो, उम्लेको भुलुक्क,
चियाई हेर, सक्नेछौ देख्न,मनले सुटुक्क।
३.
म पानी भित्र,जलेर बस्छु,डुवेको भिखारी,
लागेको लेऊ, पखाली देऊ,मैला यो निखारी।
४.
चाँदीको थाल,चाँदीकै भात,पाएर के गर्नु,
जीवन चल्छ,अन्न मै बल, अन्त्यमै छ मर्नु।
५.
के भन्नू बेथा,छुट्टै छ कथा,अभागी मोराको,
जीवन दिन,माया त्यो लिन, पाइनँ छोराको।
६.
आँसुको ढिक्का,मन छ फिक्का,बगर सुकेको,
भत्भती पोल्छ,जलन बोल्छ, कर्मले चुकेको।
७.
तराई डुल्छु,पहाड फुल्छु,हिमाल हेरेर,
कोइली चरी,मुनालसरी कण्ठमा बेरेर।
८.
हावाको वेग,बादलसँग,लुकेर खेल्दैछु,
हेर्दैछु देश,फुलेको केश,दुःख यो झेल्दैछु।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[२]
१.
हिमाल  राम्रो पहाड  राम्रो  तराई छ राम्रो,
हरिया  फाँट गुराँसे पाखा सौर्न्दर्य छ हाम्रो।
२.
मेची र काली गण्डकी कोसी बगेको सलल,
पुगेनी जहाँ यहीँको माया झल्किन्छ झलल ।
३.
सिमाना मेची  पश्चिम काली उत्तर हिमाल,
तराई साँध भारत  देख्छु  नेपाल विशाल ।
४.
फोक्सुण्डाे रारा त्यो बेगनास तिलिचो फेवामा,
धार्मिक कार्य लागौझैँ लाग्छ मानव सेवामा ।
५.
भाषा र भेष संस्कृति जोगाइ अगाडि बढ्नुछ,
जाँगर चल्छ प्रगति पथ हामीले  चढ्नुछ ।
६.
कस्तुरी डाँफे मुनाल हेर नाँचेको छ राम्रो ,
पौरखी हात धानको बाला झुलेको छ हाम्रो  ।
✍️ तारा घिमिरे
सङ्खुवासभा

[३]
१.
आउन प्यारा चुनाव आयो देश नै ढाकेर ,
कि बस्छौ तेतै स्वदेश भुली मृत्यु नै भाकेर ।
२.
हातमा छाप भोटको राप मनभो जलन ,
कसरी जित्नु चुनाव ऐले सुझाव गरन ।
३.
नेपाली खेती वारि र टारी कमाइ खाउँला ,
गाउँदै हाँस्दै रमाइ हामी बेसीमा जाउँला ।
४.
हिमाल चुली ए! नानी ठुली के सारो  जबर ,
हाँसन सानू बोलन नानू के छ नि खबर ।
५.
हिमाली पाखा चरिको भाका बिहानी चर्कियो ,
त्यो तिम्रो माया सम्झना आयो मुटुनै थर्कियो ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ

[४]
१.
चुनाव आयो नेताले डाके जानु छ गाउँमा,
खसाल्नुपर्छ यो गोप्य भोट उसैको नाउँमा।
२.
नजाऔँ सारा भोगबन्धकी खेत र बारी छन्,
साहुको ऋण बढेर भयो थाप्लोमा भारी झन्।
३.
खसी र बोका नेताले आई ब्याजमा लगेछ,
श्रमको खेती ती सुन्दरीको खोलीमा बगेछ।
४.
गरिबमाथि शोषण तथा दमन गएन,
यो गणतन्त्र गाँडझैँ भयो ओखती भएन।
✍️ रामशरण न्यौपाने
भक्तपुर

[५]
१.
चुनाव आयो घरमा आए बाठा र चतुर
होसले चुनौँ असल व्यक्ति नगरौँ कसुर ।
२.
जनता ढाँट्ने गलत बोल्ने जात हो नेताको
अब त जागौँ सबै नै मिलि, खोइ त चेताको ।
३.
असल बन्नु सफल हुनु सदैव भन्दछन्
अज्ञानी जति हेरेर सदा कुमान्छे गन्दछन् ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[६]
१.
डटेका छन देशमा आयो चुनाव नजिक,
गरेका छन विरोध एक अर्काको नै सिक।
२.
सोचेर खुब सम्झेर मत दिनुहै यो पाली,
देशको रक्षा गर्नुहोस् भोट व्यर्थमा नफाली।
३.
गर्दछन् चिल्ला लर्किने कुरा ठगले गाउँमा,
सजग हुन चुनाव गर्ने आ-आफ्नो ठाउँमा।
४.
देशमा शान्ति ल्याउँनु पर्छ मिलेर सबैले,
अब त बिना कामको खेल्नु हुँदैन त्यो भैले।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही १८

[७]
१.
चुनाव भन्दै लौ हेर गाडी गाउँमा सरर,
गाडीमा झण्डा सर्वत्र झण्डा हावामा फरर।
२.
आफ्नै हो हक दिनु छ भोट सोचेर खसालौं,
अमुल्य मत बुझेर दिने नियम बसालौं।
३.
चाप्लुसी धेरै गर्नेले काम पटक्कै गर्दैन,
बिचारी यही दिएमा मत फरक पर्दैन।
४.
जनता सबै सतर्क बनौँ भट्टीमा नजानु,
होटल गई सित्तैको खाना कहिल्यै नखानु।
५.
देखाइ  पैसा इसारा गर्लान् लालची नहुनु,
लौ खाऊ भन्लान् रक्सी र मासु पटक्कै नछुनु।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[८]
१.
हिमाल मेरो विश्वमा अग्लो सुन्दर देशको,
नेपाली नाम नेपाली हामी सुन्दर भेषको।
२.
संसारभरी  चलेको  नाम  जहाँ छ  नेपाली,
सुन्दर शान्त विशाल भूमि हावा छ हिमाली।
३.
प्रकृति  यहाँ  हाँसेर  बस्छ  बिहानी घामले,
विश्वभरी नै चिनिन्छौं हामी नेपाली नामले।
४.
पहेँला पाखा हिमाली  काख  सुन्दर  टाकुरा,
किसान दाजु काखमा बस्छन् कर्मठ पाखुरा।
✍️ गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका

[९]
१.
आउनु दाजु ,भाेटकाे लागि, याे आफ्नै गाउँमा,
अहिले सम्म, छँदैछ लिष्ट, हजुरको  नाउँमा।
२.
लेख्दैछु मैले सिकेर राम्रो छन्दमा रोजेर,
अक्षर अनि अनुप्रासको शब्द त्यो खोजेर।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल

[१०]
१.
गुराँस फुल्ने लेकमा डुल्छु खुकुरी लिएर,
झुकाइ शिर सलाम गर्छु  सत्कार   दिएर।
२.
मुरली  बज्यो  बनमा हेर हरि छन् लुकेका,
मननै छुने सुरिलो स्वर क्या राम्रो फुकेका।
३.
सुन्दर ठाउँ भुटान देश हिमाल टलल,
छहरा छाँगो झरना पानी बगेको सलल।
४.
त्यो चौँरी चर्छ हिमाल फेद हिउँमा रमाइ,
गोठालो साथै निसान गर्छ भिरमा समाइ।
५.
मायाले हेर सजाइ धेर मुटुमा राखेर,
तिमीले दिए बनाइ मिठो तुष्टि छु चाखेर।
✍️ अच्युत घिमिरे
भुटान

[११]
१.
ममता मेरी धड्कन माता म त्यता फिर्दैछु ,
बजार गइ किनेर नयाँ म झोला भिर्दैछु ।
२.
चुनावी सारा माहोल डम्मै जनता तातेको,
झुमेर कोहि बोकेर झण्डा नशामा मातेको ।
३.
बाटोमा छेकी समाई हात भन्न नै थालेका,
गरिब सारा निमुखा जन उनैले पालेका ।
४.
जितेर गए चिन्दिनँ भन्छन् भविष्य सँगाली,
ढुकुटी भर्ने अरबौं हर्ने  कपट  अँगाली ।
५.
विश्वास लाग्न छोडेछ म त नदिउँ कि भोट,
समस्या केछ ख्वाएर भोज टर्दैन यो चोट ।
६.
मायामा तिम्रो फसेर होला फर्केर आएको ,
तिमीले बिर्स्यौ बेसीमा जाँदा पिरति लाएको ।
७.
भुलेको छैन सपना हाम्रा बिहानी सुनौला,
खेतमा पानी लगाई कुलो टालेर थुनौला ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[१२]
१.
तिमीले माया नगरे पनि‚ म माया गर्नेछु‚
सिउँदो तिम्रो आएर प्यारी‚ अवश्य भर्नेछु ।
२.
खेतमा धेरै चटारो छ है‚ सोर्नुछ भकारी‚
छोडेर काम हिड्दिनँ म त‚ आउन्न है प्यारी ।
३.
मायामा दोष कसको भयोॽ सम्बन्ध टुटिगो‚
तिम्रो र मेरो प्रीतिको डोरी‚ कसरी छुटिगोॽ
४.
तिमीले छाडी गएको पल‚ रोएथेँ कुनामा‚
त्योबेला देखि अहिले सम्म‚ राखेछु थुनामा ।
५.
रुमाल गाँठो पारेर राख‚ चोलीको तुनामा‚
सम्झना भए बाँधेर राख‚ मनको कुनामा ।
✍️ गोपालकृष्ण डंगोल
इटहरी‚ सुनसरी

[१३]
१.
काेरेर सिमा टाढिई गयाै मुग्लान पसेर
सुकाउँ कति याे सानाे ज्यान टाेलाई बसेर।
२.
धर्तिकाे धुलाे म सानाे मान्छे तिमी छाै महान
देख्नु नि छैन कसरी छुनु भएछु अन्जान ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास

[१४]
१.
समय काट्न पछाडि हेर्न हुदैन सुनेर,
धोकाको साथ मिल्यो नि आज पिरती उनेर।
२.
भोटको बेला नेताको व्यथा धुरुक्क रुवाए,
जितेर गए बेपत्ता भए  थाङ्नामै सुताए।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड

[१५]
लगन जुरे विवाह गर्न तयार छु आज,
मगनी गरूँ भगाई लगूँ मनाई समाज।
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

[१६]
१.
काम नै तिम्रो देखेर खुसी भएछ साहुजी
बिदाको दिन लौ! खेल्न हिड मेलामा हाउजी।
२.
ढुङ्गाको मन पगाल्न झन गाह्रो पो भैजाला,
पग्लियो भने साथैमा फेरि लिएर गैजाला।
✍️ परिक्रमा श्रेस्ठ
धरान ।

[१७]
१.
कहिले कहीँ आउँदै गर्नु चौतारी वरमा ,
सम्बन्ध हुन्छ बलियो हाम्रो, विश्वास भरमा ।
२.
सोचेर बसेँ मायालु तिम्रो, एकान्त  ठाउँमा ,
कसरी छोड्यौ पुरानो ठाउँ , जन्मेको गाउँमा ।
✍️ बुद्धिमान चौधरी
सुरुङ्गा ४ झापा

[१८]
१.
मनको आसा डाँडामा बसि हेर्दैछु सहर,
मायालु आँखा सम्झेर सारा मेट्दैछु रहर।
२.
पिपल वर चौतारी माझ  सितल छाँयाको,
सम्झना आयो बितेको पल लाएको मायाको।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया

[१९]
१.
भोटको बढ्दै गएको हल्ला शान्त भो शहर,
भोलिका जन नेताको हुन्छ विजयी लहर।
२.
चुनाव चिन्ह हेरेर लौ न सरर बुझेर,
लगाऊ छाप कर्मठ योग्य नेता नै चुनेर।
✍️भगवती दवाडी
झापा

[२०]
१.
हिमाल अनि पहाड कति सुन्दर भेषमा ,
नेपाल राम्रो सितल शान्त लाग्दछ देशमा ।
२.
तिमीले आखाँ खोलेर रै’छ भाग्यमा लेखाको,
हातमा हात समाई खुसी भएर देखाको।
३.
मिलेर खेलौँ रमाइ हात समाइ नाचेर,
घरमा साथी आएका नाचौँ कम्मर भाचेर।
४.
माया छ धेरै सजाइ हेर मनमा राखेर,
विश्वास छैन भनेको अब बुझ त चाखेर।
✍️ दुर्गा आचार्य
मोरङ

[२१]
१.
के आयाे दिन देशमा नयाँ शासन शैलीको ,
विजेता हुन खर्चियाे धन रासन थैलीकाे।
२.
सक्षम जति पछाडि परे धनकाे कारण ,
लफङ्गाे मति डुक्रिदै छरे घाेकेर पारण ।
३.
नेपाल भूमि टुक्रियाे आज साताेटा चिरामा ,
किनहाे कुन्नि हजारौं राजा भित्रिए पिरामा ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[२२]
१.
मुटुमै गढ्यो वचन तिम्रो छुरा नै बनेर,
कसरी सम्झु हितैषी मेरो तिमी हौ भनेर ।
२.
नौनीझैँ मन कसरी पार्यौ एक्कासि पत्थर,
देखिन छाँट बलेको आगो हुने त मत्थर ।
✍️ वसन्त अनुभव
घोराही, दाङ

[२३]
१.
गरेर काम नेपाललाई आफैले बनाऔँ ,
विदेशी शक्ति आएछ भने हामीले थमाऔँ।
२.
डलर खाई रिसाए भाइ असल हुँदैन,
तिमी हौ दाई मिलाउ भाई कसैले छुँदैन।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड, झापा

[२४]
गरेर आशा हालियो भोट नेता छन् असल,
हिड्ला नि देश प्रगति पथ खुसीको यो पल।
✍️ अनिल खग्रास
पर्वत

>> जय टुक्का! जय साहित्य!! <<

प्रतिक्रिया