तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन

नवीन रायमाझी २०७९ वैशाख ३१ गते ०:४९ मा प्रकाशित

व्यक्तिगत लाभ नभएसम्म अरुको अस्तित्व स्वीकार नगर्नु, आफूलाई मात्र जान्ने बुझ्ने सम्झिनु, सरोकार नभएको बिषयमा माग्दै नमागी राय सल्लाह दिनु, बिज्ञानले प्रमाणित गरेको भन्दा पनि मामा र काकाले भनेको कुरामा बिश्वास गर्नु, फरक मत राख्नेलाई समाज बिरोधी वा पागल भन्नु, कूप्रचलनको बिरोध गर्यो भने घमण्डीको संज्ञा दिनु, तर्क ले भन्दा पनि जिद्दी ले जित्न खोज्नु वा हरेक कुरा मा आफै मात्र माथी पर्न खोज्नु आदि नेपाली समाजका विशेषता हुन्।

यहाँ यस्तै बिज्ञानले प्रमाणित गरेका तर हाम्रो समाजले स्वीकार गर्न नसकेका तीन मानसिक अवस्था माथी चर्चा गर्न खोजेको छु। यद्धपि म मनोविज्ञानको ज्ञाता होइन। तर पनि आफ्नो अनुभव तपाईहरु समक्ष प्रस्तुत गर्न खोजेको छु।

परपीडक मानसिकता अर्थात् सेडिजम: अरुको हासो र खुशी देख्न नसक्ने, आफूभन्दा कमजोरलाई बिनाकारण शारीरिक यातना दिने, समाजका लोकप्रिय मान्छे हरुलाई बिनाकारण आरोप लगाउने वा चरित्र हत्या गर्ने आदि सेडिजमका रुप हुन्। यस्तो बानी भएको मान्छेलाई सेडिस्ट भनिन्छ।

बाटोमा बसिरहेको कुकुरलाई ढुङ्गाले हान्नु, मध्य रातमा ढुङ्गाले हानेर अरुको घरको शिशा फुटाउनु, महिलाहरुको काल्पनिक कुरा गरेर चरित्र हत्या गर्नु सेडिजमका उदाहरण हुन्। सेडिस्टहरु अत्यन्तै चलाख हुन्छन् र अरुलाई छिटै प्रभावित गर्न सक्छन्। आफ्नो सामर्थ्यभन्दा बढी पैसा खर्च गर्ने, तपाईं जस्तो राम्रो र असल मान्छे यो धर्तीमै कोही छैन जस्तो ब्यवहार गर्ने यिनीहरुको चरित्र हुन्छ। बाहिर जति देखावटी गरे पनि आफ्नो प्रसंसा गर्दा खुशी नहुने मान्छे यो संसारमा बिरलै भेटिन्छन्। यिनीहरु मान्छेको यस्तै कमजोरीमा प्रहार गरेर नजिक बन्छन्। र, भित्रि कुरा थाहा पाएपछि त्यसैको आधारमा पिडा दिन्छन्। अरुलाई दु:ख, पिडा भएको हेरेर मनोरञ्जन लिनु सेडिस्टहरुको बिशेषता नै हो।

अत्याधिक सहनशक्ति अर्थात् मेसोकिजम: हाम्रो समाजमा दु:ख र पिडा सजिलै लुकाउने मान्छेलाई असल वा भलाद्मीको पदवी दिने चलन छ। अरुले दिएको यस्तै नि:शुल्क ‘तक्मा’ पाउन धेरैले आफ्नो शारीरिक वा मानसिक पिडा सहेको अभिनय गरिरहेका हुन्छन। समाजमा बस्दा एउटा सिमासम्म सहेर बस्नु बेसै मानिएला तर अरुले अत्याचार गर्दा पनि सहेर बस्नु भनेको रोग नै हो। यसलाई मेसोकिजम भनिन्छ भने त्यस्तो मान्छे मेसोकिस्ट हुन्।

यस्तो रोग भएका मान्छेलाई कसैको कुराले उत्तेजित तुल्याउन सक्दैन।यसैकारण यिनीहरु समाजको लागि त्यति हानिकारक हुँदैनन्। मेसोकिस्टहरु अरुको बिरोध गर्न सक्दैनन् र भित्रभित्रै दबेर बस्दा उनीहरु बिस्तारै डिप्रेसनमा जाने खतरा हुन्छ। यिनीहरुले आफैलाई बिभिन्न प्रकारले हानी पुर्याइरहेका हुन्छन्। उनीहरु आफ्नो अङ्ग काट्ने, भित्तामा टाउको जोत्ने वा आत्महत्या गर्ने कुरामा पनि पछि हट्दैनन्। सानतिनो कुरामा रिसाउनु पनि रोग हो। हरेक कुरा सहनु वा कुनै प्रतिक्रिया ब्यक्त नगर्नु पनि एक किसिमको रोग नै हो। यद्वपि यस्तो रोगले अरुलाई हानि नगर्ने कारण यसलाई हाम्रो समाजमा गम्भीरतापूर्वक लिने गरिन्न।

नार्सेसिजम: यस्तो अवस्थालाई नेपालीमा ठ्याकै के भनिन्छ त्यो पंक्तिकारलाई जानकारी भएन। यसको लागि खेद प्रकट गर्दछु। उदाहरणको लागि तपाईं हामीले सुनेको वा देखेको छौ– सासुले बुहारीलाई अत्यन्तै माया गरेको तर बुहारीले त्यो मायालाई स्वीकार नगरेको। अरुले खै हाम्रो अगाडी त् त्यस्तो देखिदैन भनेर भन्ने गर्छन् तर भित्री रहस्य बुझ्दैनन्। नार्सेसिजमबाट पिडितलाई नार्सेसिस्ट भनिन्छ। यस्ता मान्छे अरुको अगाडी अत्यन्तै माया दर्साउने तर भित्रभित्रै सताउने खालका हुन्छन्। यो सासु–बुहारीमा मात्र होइन, आमा–छोरा वा बावु–छोरा जस्तो सम्बन्धमा पनि हुनसक्छ।

कोही नहुँदा छोराछोरीलाई निर्ममतापूर्वक कुटपिट गर्ने वा खान नदिने। तर अरुको अगाडी चेपारो घसेर धेरै माया गरे जस्तो गर्ने। मान्छेले आफ्नो आँखाले देखेको कुरालाई मात्र सत्य मान्ने कारण यस्ता रोगीहरु समाजको दृष्टिमा सम्मानीय हुन्छन्।

मेरो एउटा छिमेकीले आफ्नो बुहारीलाई यति सताउने कि कुरा गरेर साध्य छैन। तरकारी पाकिरहेको बेला नुन थपिदिने, लुगा च्यातिदिने, नुहाउन लागेको समय पानी बन्द गरिदिने जस्ता क्रियाकलाप गरेर सताउने गर्थे। तर, अरुको अगाडी बुहारी त् छोरी जस्तै हो भन्ने गर्थे। अब भन्नुस् समाजले कसको कुरामा विश्वास गर्ने?

यी माथिका मानसिक अवस्थालाई हाम्रो समाजले झट्टै विश्वास गर्छ भन्ने मलाई लाग्दैन। तर कसैले विश्वास नगर्दैमा सत्य मेटिने होइन।

-नवीन रायमाझी

 

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया