आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:११
वासिङटन डिसी 00:26

पाँचपाथी कोदो र भोट

कथा

सुरेन उप्रेती पाँचथर हाल क्यानडा २०७९ वैशाख २९ गते १०:३० मा प्रकाशित

त्यसबेला चुनाबमा अहिले जस्तो व्यानर पम्प्लेट छपाउने र बाँड्ने चलन थिएन । सायद पहाडतिरका जिल्लाको सदरमुकाममा पनि छापाखाना पुगेका थिएनन् होला । चुनाबमा उठने मान्छेहरू परिवारका सदस्यहरू सँगै घरघर गएर भोट माग्थे । डाँडाका भँडारी पनि सदस्यमा उठ्ने भएका रहेछन् । अरूबेला मेलाबाट थाकेर आएको बहर जस्तै स्वभावका  हुन्थे भँडारीबाबै । केही दिन देखि उनको आनिबानी फेरिएको थियो । उनका परिवारका सदस्यहरू पनि छिमेकी सँग बोल्न थालेका थिए । यो देखेर बाँसबोटे, फेदापेहरू पनि छक्क परेका थिए । हाओ यी बाजे त साँच्चै असल पो भै गएत । “केपो दबै खाए हाउ यिनले” भनेर बिहान आरनमा हँसिया अर्जाप्न आएका बिष्टहरूले कुरा गरे । बुढाकामीले सुने मात्र । कुनै प्रतिक्रिया दिएनन् । छोरो ठेके पनि आमा सँगै पानी लिन ढुँगेकुवा गएको थियो । ठेकेकी बहिनी डुङ्खुरी घर बढार्दै थिई । उसले आँगनमा गजेरा ओछ्याएर  भाइलाई सुताई । भर्याङमुनीबाट ल्याएर कुखुरालाई डोकाले छोपी । आँगनको डिलमुनी पल्टिएकी भुँनी सुँगुरका पाठाहरू दुध चुस्दै थिए । ती पाठाहरू बेलाबेला आरनतीर पनि आउँथे । आँगनमा आएर कुखुरा छोपेको डोकोलाई थुतुनाले उधिन्थे । कामी बुढाले डुङ्खुरीलाई भाँटी तान्न बोलाए । ठाडो ढुङ्गाको  पछाडी रहेको काँचो छालाले बनेको खलाँती ह्याप्प ह्याप्प गर्दा फ्वाँ फ्वाँ गरेर खलातीका थुतुनाबाट हावा निस्कन्थ्यो । अग्राखका काला कोइलाहरू चट्टटट गर्दै राता हुन्थे । आगो अलिअलि बल्थ्यो । तातेर रातो भएको फलामलाई कामीबुढा सनसाले च्यापेर लिहिमा राख्थे । अनि ओल्टाउँदै पल्टाउँदै घनले बेस्सरी पिट्थे । घनको मारमा परेर फलामले आत्म समर्पण गर्थ्यो ।  चाहेको स्वरूपमा धारिलो भएर फलाम फेरिन्थ्यो ।

फागुनचैत महिना लागे देखि गाँउमा अनिकालको राज शुरू हुन्थ्यो । घरमा भएको सबै अन्नपात सकिन्थ्यो ।  गाउँमा दुईछाक खान पाउँने मानिसहरू कमै मात्र हुन्थे । एकछाक भात खाए पनि एकछाक फर्सी, तरूल, स्कुस, सगरखण्डा ,आलु  आदि उसिनेर खान्थे । त्यो पनि खान नपाउनेको संख्या ठूलै थियो । एक छाक मात्र कोदोको पातलो खोले पिएर रात काट्नेहरूको संख्या पनि कम थिएन । बालबच्चा बचाउन अन्न बाँकी माग्ने भनेको नै छिमेकी सँग हो । छिमेकमा बेसाहा पाइएन भने अरूतिर लाग्ने हो । कामीबुढाले बारी जोतीदिने सर्तमा भँडारीसँग दुईपाथी कोदो ल्याएका थिए। त्यस दिन बिहानै भँडारीबाजे एक्कासी आरनमा आएको देखेर कामीबुढा झसंङ्ग भए । काम गर्न बोलाउन आँटेकी । की त पैसा पो माग्न आए भन्दै छटपटी भयो । फाटेको झुत्रो टोपी टाउकाबाट निकालेर निधारका पशिना पुछ्दै जदौ विष्ट भनेर नमस्कार गरे । भँडारीले ए ! बुढाकामी एता आईज त एकछिन् भनेर बोलाए । दुबैजना घर पछाडीको नस्पातीको बोट छेउमा टुक्रुक्क बसे । भँडारीले साउती गर्दै भोट मागे । अरू तीन पाथी कोदो थपी दिँउला । तेरा घरका भोट मलाई दिनु । आरनमा आउनेलाई पनि मलाई भोट मागी दिनु । केही तीर्नु पर्दैन । भँडारीका कुरा सुनेर कामी खुशी भए । तँलाई थाहा भो नी । तीस गते चुनाब यही अगाडिको स्कुलमा हुन्छ । स्वास्नी र छोरालाई पनि भनेस भनेर उनी घरतिर लागे । कामीले श्रीमतिलाई कोदो लिन पठाए । अरू तीनपाथी कोदो घर आयो । अब फारू गरेर तीन हप्ता पुर्याउनु पर्छ भन्दै प्रफुल्ल मुद्रामा डुङ्खुरीकी आमाले सुनाइन । केही दिन त खान पाउने भईयो भनेर सबै  खुशि भए ।

चुनाबको दिन तीनै जना घर नजिकैको स्कुलमा गए । बाँसका भाँटाले बारहालेर महिलापुरूषको छुट्टाछुट्टै लाईन बनाएको रहेछ । भोट दिनलाई बुढा र छोरा एउटा लाईनमा पसे । कमिनी अर्कोलाईनमा गइन । भोट सकेर तीनै जना स्कुलको कुनामा भेट गरे । तीनै जनाको कुरा भयो ।त्यस पछी  आमाछोरा घर फर्किए । कामीबुढा भोट दिन आउने मानिसलाई हेर्दै स्कुलकै चौरमा घुमी रहे । पाँचबजे चुनाब सकियो ।  भोट गणना शुरू भयो । गणना सकिएर घोषणा हुन मात्र बाँकी थियो । बल्लबल्ल भँडारीबाजे सँग कुरा गर्न मिल्ने भयो । कामीबुढाले भँडारी बाजेलाई एकान्तमा बोलाए । उनको टोपी फाटेर घेरो र भित्री कपडा मात्र देखिन्थ्यो । दायाँबायाँ हेरे र टोपी निकाले । टोपी भित्रबाट पट्याएर राखेको कागज निकाले । कागजको बाहिर सबै पशिनाले भिजेको रहेछ ।  लु है बाजे मेरो ईमान । हामी सबैको भोट यसैमा छ । भन्दै त्यो  कागज भँडारीको हातमा राखी दिए । त्यो त मतप्रत्र रहेछ । पाँचपाथी कोदो फच्चे भएकोमा कामीबुढालाई बल्ल हलुका भयो । उनी खुशी हुँदै घर फर्किए ।

-सुरेन उप्रेती पाँचथर हाल क्यानडा

 

 

प्रतिक्रिया