सोमबार, असार १३ २०७९
काठमाडौं ००:०६
वासिङटन डिसी 14:21

खोक्रो आदर्शमा रमाएको भ्रष्ट नेपाली समाज

-नवीन रायमाझी २०७९ वैशाख २९ गते १:४९ मा प्रकाशित

नेपाली समाज अत्यन्तै खोक्रो आदर्शले निर्माण भएको छ। आफूलाई पर्दा एउटा कुरा गर्ने र अर्कोलाई समस्या पर्दा अर्को कुरा गर्नु हामी नेपालीहरुको चलन नै हो। कुल मिलाएर नेपाली समाज ‘सेन्स अफ ह्युमर’ (हँसी–मजाक) मा गरिब, परपिडक र बलेको आगो ताप्ने अर्थात् हुने खाने सँग मात्र सम्पर्क गर्ने, असहयोगी, लोभी र पाखण्डी, शक्तीको पुजारी र दोहरो मानसिकता भएको अर्थात् भ्रष्ट छ। मनमा एउटा र मुखमा अर्को कुरा गर्नु, एउटा कुरा बोल्ने र त्यसको बिपरित गर्ने स्वभाब अर्को बिशेषता हो।

यही समाजको सदस्य आफू पनि भएको कारण धेरै अवगुण ममा पनि छ। हामी आफू पनि खुशी हुन् सक्दैनौ र अरु खुशी भएको पनि देख्न सक्दैनौ। हँसी–मजाकलाई गम्भीरताका साथ लिने र अर्काको भावनामा चोट पुर्याउने तर मैले मजाक गरेको भन्नेहरुको पनि कुनै कमि छैन। अझ ब्यङ्ग बुझ्ने कलाको कुरै नगरौ।

धेरै बर्ष पहिले एउटा टेलिभिजन कार्यक्रममा पत्रकार विजय कुमारले नेपाली कांग्रेसका दिवंगत नेता स्व कृष्णप्रसाद भट्टराईलाई तपाईं सांसद किन हुन् चाहनु हुन्छ भनेर सोध्दा भट्टराईको जवाफ थियो, ‘मलाई रक्सी खान पैसाको जरुरत पर्छ।’

उनको त्यो जवाफ संसदको बैठकमा उपस्थित नहुने सांसद प्रति लक्षित थियो। उनको त्यो जवाफलाई खासै कोहीले बुझे जस्तो मलाई लागेन। त्यसैले अनेक प्रकारको ट्रोल बन्यो।

नेपाली राजनीतिमा सादगीका लागि चिनिने भट्टराईको थुप्रै अनुयायी थिए। त्यसैले उहाँले रक्सी पिउने कुरा त के रक्सीमा पौडी खेल्छु भनेको भए पनि उहाँको इच्छा पूर्तिका लागि स्विमिङ्ग पुल बनाइदिने थुप्रै कार्यकर्ता थिए।

यस्ता धेरै प्रसंग छन् व्यङ्ग नबुझ्ने र हँसी–मजाकलाई गम्भीर रुपमा लिनेहरु।

मलाई अहिले पनि याद छ, मेरो एक आफन्त सानै उमेरमा बिधवा हुनुभएको थियो। अशिक्षित र आर्थिक अवस्था पनि निकै कमजोर भएको ती महिलाको अवस्था कस्तो भयो होला, तिनले सानै उमेरमा श्रीमान गुमाउँदा? हाम्रो समाजलाई कल्पना गरेर तपाईहरुले अनुमान लगाइसक्नु भयो होला!

बिहान उठेदेखि राती नसुतुन्जेल आधा पेट खाएर र कहिले भोकभोकै घरको सम्पूर्ण काम गर्दा पनि उनीसँग कसैले दुई शब्द मिठो बोल्थेनन्। यतिसम्म कि उनको अनुहार देखियो भनेर सबैले गाली गर्थे। अपसगुन भयो भन्थे।

मेरो विचारमा उनको अनुहार देखेर अरुलाई अपसगुन हुने होइन कि अरुको अनुहार देखेर उनलाई अपसगुन हुने हो। किनभने उनले अरुको अनुहार देख्ने बितिकै बिना अपराध गाली खानु पर्थ्यो। संसारमा सगुन र अपसगुनको अस्तीत्व छ भने यो भन्दा ठूलो अपसगुन अर्को के हुन्छ होला?

यद्वपि म यस्ता सगुन र अपसगुनको चक्करमा छुइन। मलाई विश्वास पनि लाग्दैन। कसैले विश्वास गर्छ भने त्यो उसको निजी विचार हो। तर यसलाई कानुनले मान्यता दिएको छैन।

बलेको आगो ताप्ने अर्थात हुने खानेसँग मात्र खोजीखोजी सम्बन्ध राख्ने र गोरु बेचेको साइनो लगाउने चलन पनि हाम्रो समाजमा ब्यापक छ। कुनै ब्यक्ति उच्च पदमा पुग्ने बितिकै त्यसको जाती, घर भएको जिल्ला वा गाउँ टोलसँग आफूलाई जोडेर त्यो ब्यक्ति सँगको काल्पनिक अनुभव जोडेर आफ्नो वरिपरीको मान्छेलाई गफ दिने चलन पुरानै हो।

तर कुनै ब्यक्ति निम्छरो छ भने त्यसलाई कसैले मेरो नजिकको मान्छे हो भनेर सायदै भन्ला। धेरै पहिले तत्कालिन श्री ५ को सरकारका एक सचिवले आफ्नै अशिक्षित पितालाई सहकर्मी माझ परिचय गराउने क्रममा अंग्रेजी भाषामा ‘उनी मेरा सेबक हुन्’ भनेको चर्चा खुब चलेको थियो। त्यो कुरा सुन्ने धेरै ब्यक्ति हालसम्म जिवितै छन्।

त्यस्तै हाम्रो समाज असहयोगी, लोभी र पाखण्डी अर्थात कुरा एउटा र काम अर्को गर्ने प्रवृत्तिको छ। कुनै मान्छेलाई दु:ख पर्दा मद्दत गर्नुपर्यो ठाउँमा टाढा भाग्ने र झन् खुशी हुनेको जमात ठूलै छ हाम्रो समाजमा।

त्यस्तै आफूलाई पर्दा खुट्टा मोल्ने र काम सकिएपछि नचिनेझै गर्ने प्रवृत्ति पनि यहाँ हावी छ। त्यसैगरी लोभको कुरै नगरौ– बावुआमा सँग अँश लिएपछि उनीहरुलाई वास्ता नगर्ने, दाजुभाई कमजोर छ भने उनीहरुलाई अन्याय गर्ने, नातागोताको छोरा छैन र छोरी मात्र छ भने उनीहरुको सम्पत्ति माथि लोभ गर्ने मान्छे पनि हाम्रो समाजमा प्रशस्तै छन्।

यस्तै हाम्रो समाजमा पाखण्डी मान्छेको पनि कुनै कमि छैन। ठूलाठूला आदर्शका कुरा गर्ने तर काम भने यस्तो घटिया गर्ने कि कल्पनासम्म गर्न सकिन्न।

नेताले देश बिगारे, उनीहरु सबै भ्रष्ट भए भनेर कराउने तर अमेरिकाबाट नेपालमा पैसा पठाउने समय बैंकको प्रयोग नगरेर प्रति डलर एक दुई रुपैयाँको लोभमा गैरकानुनी बाटो (हुण्डी) बाट पठाउने पनि धेरै छन्। अब यस्ता क्रियाकलापलाई के भन्ने पाठक वर्गले आफै विचार गर्नुहोला।

यस्तै हरेक बिषयमा आफूलाई फाइदा हुने प्रकारले व्याख्या गर्ने बानी पनि छ। उस्तै घटना र बिषयलाई आफूलाई फाइदा हुने भयो भने एउटा विचार र बेफाइदा हुनेभयो भने अर्को विचार दिने गरिन्छ।

त्यस्तै अरुको परिवारको महिलाहरुको चरित्रको बारेमा वहियात कुरा गर्न पछि नपर्ने तर आफ्नो परिवारको महिलाको बारेमा अरुले गरेको सानो टिप्पणी पनि सुन्न नचाहनेको पनि कमि छैन हाम्रो समाजमा।

मलाई प्रश्न गर्न मन लागेको कुरा, फलानो राम्रो र ढिस्कानो नराम्रो भनेर अरुको चरित्र माथि अनावश्यक टिप्पणी गर्ने र ‘क्यारेक्टर सर्टिफिकेट’ बाँड्दै हिँड्ने अधिकार यी मान्यबरहरुलाई कसले दियो होला?

हाम्रो समाज शक्तिको पुजारी हो। आफूभन्दा शक्तिशाली व्यक्तिको अगाडी नतमस्तक हुने र कमजोरलाई त्यसै हेप्ने चलन पनि नौलो होइन। ठूलो पदमा रहेका र धनीहरुले गर्यो भने त्यो कुरा राम्रो हुन्छ। तर गरिबले गर्यो भने त्यो असभ्य हुन्छ।

धनी हिँड्यो भने त्यो ‘मर्निङ्’ र ‘इभिनिङ् वाक’ हुन्छ। गरिब हिँड्यो भने कति लुखुर लुखुर हिँडेको भनेर भन्ने गरिन्छ। त्यस्तै धनीले मुला, काँक्रो र गाँजर खायो भने त्यो ‘सलाद वा सेलेड’ हुन्छ। तर गरिबले खायो भने नसकेर मुला र काँक्रो मात्र खान्छ भन्ने गरिन्छ।

यस्तै कुनै स्थानमा चार जना छन् र त्यो स्थानबाट कुनै बस्तु हरायो भने त्यसको दोष सबैभन्दा पहिले गरिब मान्छेको टाउकोमा पर्छ। यो फरक बिषय हो। तर यस्तो अग्निपरीक्षामा धेरै जसो कथित धनीहरु नै अनुतिर्ण भइरहेका हुन्छन्।

एकपटक मेरो आफन्तको घरबाट बहुमुल्य घडी हराएको थियो. सायद उसको घरमा आउने म मात्र बिपन्न थिए होला? त्यो घडी चोरको दोष मेरो टाउकोमा आयो.। करिब दुई वर्षपछि त्यो घडी, घडी धनी कै घरमा भेटियो। तर मैले ब्यर्थमा दुई वर्ष उनीहरुको नजरमा चोरको पगरी बोक्नुपर्यो।

बोल्न नसक्ने पशुलाई कुटपिट गर्ने, आफूभन्दा कमजोरलाई हेप्ने र दु:ख दिने, महिलाहरुको पहिरन र गतिबिधिलाई हेरेर उसको चरित्र हत्या गर्ने मान्छेलाई घटिया मान्छेको श्रेणीमा राख्न हामीले चुक्नु हुदैन। नेपाली समाजको यो ऐना सँग मेरो धेरैपल्ट जम्काभेट भइसकेको छ। के तपाईहरुसँग यस्ता व्यक्ति र प्रवृत्तिको भेट भएको छ?

नवीन रायमाझी

प्रतिक्रिया