आँकुरा पढेपछि

अरुणबहादुर खत्री “नदी” २०७९ वैशाख २४ गते ९:३५ मा प्रकाशित

“आँकुरा” नामक कविता गीतसङ्ग्रह साहित्यकार एवं कवि राजेन्द्र श्रेष्ठको २०७३ सालमा प्रकाशित भएको छ।यस सङ्ग्रहभित्र शुभकामना अनेसासलाई,आँकुरा, जीवन,अमेरिका नेपाल भिन्नता,हाम्रो अठोट,स्वार्थ,नसुध्रिने यात्री लगायत विभिन्न शीर्षकका ९६ वटा कविता गीतहरु रहेका छन्।यस सङ्ग्रहभित्रको शुभकामना अनेसासलाई शीर्षकको पहिलो कवितामा समन्वय र सम्बन्धको गाँठो बलियो बनोस् बिशुद्ध यी साहित्यलाई आहा क्या छ भनोस् भनिएको छ।कृतिको नामसँग जुधेको आँकुराशीर्षकको दोस्रो कवितामा फैैैलाइदिन्छन् हरियालीहरु बढ्दै जान्छन् पालुवाहरु फलिदिन्छन् फलफूलहरु आहार बनिदिन्छ कतिको वहार बनिदिन्छ कतिको आँकुरा कवि राजेन्द्रले भनेका छन्।

कति झ्याम्मिने थिए होलान् ?
कति हरियाली दिने थिए होलान् ?
कति मौलाउने थिए होलान् ?
आफ्नै करेसाहरुमा
आँकुराहरु।
उनले लेखेका कविताहरुमा जागरणको सन्देश छ।उनका कतिपय कवितामा स्वाभिमान बोलेको छ।कविता सिर्जना होइन भावना र संवेदनाको उपज हो अर्थात् कविता लेख्छु भनेर लेखिदैन।जीवन शीर्षकको कवितामा अनि,शुभ होस् भनी उनकै नाम जप्ने यात्रालाई सुखमय बनाउने भनिएको छ।स्वार्थ शीर्षकको कवितामा हरेक समस्याको कारण हुन्छ यहाँ कारण छ यत्रतत्र छ यो कारण,यो युगको महामारी हो भनिएको छ।कविले समाजमा घटेका यथार्थ घटना,विषयवस्तु अवस्था र परिवेशहरुलाई समेटेर कविता लेखेका छन्।राष्ट्रका विभिन्न स्थानहरुको भौगोलिक अवस्था सामाजिक सांस्कृतिक अवस्था,रहनसहन लगायतका विविध कुराहरुले छुट्टाछुट्टै महत्व राखेको हुन्छ।भानु तिमी अमर छौ शीर्षकको कवितामा भानु तिमी आदिकवि भानु तिमी राष्ट्रिय विभूति नेपाली साहित्यको चम्किलो तारा तिम्रो नाम जगमा सारा भनेर कविले भानुलाई सम्झेका छन्।

हल्लाको पछि दौड्ने मान्छे हावा
आफ्नै ढ्याङ्ग्रो मात्रै ठोक्ने

भर्यांग ङबिना धुरी चढ्ने
लुकाइछिपाइको खानी
नकारात्मक सोचको
मान्छे हावा।
कवि राजेन्द्रको यस कृतिभित्र विविध,भाव,भूमि र विषयमा लेखिएका कविताहरु समावेश गरिएका छन्।केही कविता लामा छन् भने केही कविता छोटा छन्। उनका कृतिभित्र समावेश गरिएका सबै कविताहरु कुनै न कुनै उद्देश्य,सन्देश र चिन्तनमा केन्द्रित रहेका छन्।धेरै कविताहरु मानवीय जीवन र जीवनका विविध पक्षहरुमा व्यक्त गरेर लेखिएका छन्।केही कविताहरु माया,प्रेम र आत्मीयतामा केन्द्रित देखिन्छन्।केही कविताहरुमा राष्ट्रियता र देशप्रेमको भावना उजागर भएको छ।उनका केही कविताहरु प्रकृतिसंग सम्बन्धित छन्।केही कविताहरुमा प्रेमसँगै वियोग पनि मिसिएर आएको छ।नेपाली साहित्यको कविता विधामा विगत लामो समयदेखि फुटकर रचनाहरु लेख्दै आएका राजेन्द्रको यो कविता कृति सबैले पढ्नैपर्छ।उनका कवितामा प्रयोगमा आएका प्रकृतिका सुन्दर बिम्बहरु सराहनीय छन्।भावनामा प्रगाढता छ,अनुभूतिमा गहिराई छ,कविता लेख्ने शैली आकर्षक छ र प्रस्तुतिमा निख्खारता छ।जागरण,आध्यात्मिक चेतना र दार्शनिकताले परिपूर्ण उनका यी कविताहरु प्रेरणादायी र सन्देशमूलक छन्।यसमा उनले विभिन्न समयमा रचना गरेका छयान्नब्बे कविता गीतहरु समावेश गरिएका छन्।उनका कविता गीतहरु साह्रै नै स्तरीय र मिठासले भरिएका छन्।उनका कविता गीतमा सरलता, भावप्रवणता र प्रेमको स्पष्टता झल्किएका छन्।

मलाई के भयो खोज्दा पत्ता लाग्दैन
हात पाउ अल्मलिएझैँ चल्न मान्दैन
यो मन जगाउन खोज्छु मनै जाग्दैन
मलाई के भयो मैले बुझ्नै पा छैन।

कवि राजेन्द्रका कविताहरु भावनात्मक मात्र छैनन्,जीवन र जगत्को वास्तविक छवि चित्राङ्कनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन्।मानवीय संवेदनालाई व्यावहारिक रुपमा लेख्न खप्पिस कवि राजेन्द्र मध्यमवर्गिक मानिसका पीडाहरु बोल्ने कवि हुन्।उनका कवितामा अक्सर मानिसले पूरा गर्न नसकेका सपना,आर्थिक अभाव र नासिएको सम्बन्ध र जीवनमा तक्माजस्तो पटक पटक मिलेका हारहरु भेटिन्छन्।उनका कविताहरुले हारेका मानिसहरुको प्रतिनिधित्व गर्छ।शब्द र अक्षरहरुलाई अगाध माया गर्छन् कवि राजेन्द्र।अक्षर र अनुभूतिको यो गुच्छाले पाठकहरुको मनभित्र कलात्मक रङ र सुवास दिने कुरामा हामी विश्वस्त छौ।उनले लेखेका कविता गीतमा विषयवस्तुको विविधता पाइन्छ,त्यस्तै उनका शिल्प शैलीमा पनि विविधता भेटिन्छन्।उनले लेखेका कविता गीतहरु सरल छन्।शब्द र वाक्य विन्यास पनि सामान्य छ। त्यसकारणले कवि राजेन्द्रका कवितालाई आम पाठकले ज्यादै सरल भयो पनि भन्न सक्छन्।
बिहानीको पहिलो घाम
घामसँगै तिम्रो झझल्को
झझल्कोलाई दबाउने प्रयासमा
बित्दैछ क्षणहरु।

मातृ प्रेम शीर्षकको गीतमा रात ढल्यो बिहानी भो भैरहेछ दिन आइरहेछ याद उनकै हरेक छिन छिन कविले भनेका छन्।यस सङ्ग्रहभित्रको नेपाल डे परेड शीर्षकको अन्तिम गीतमा हतासमा गल्ती हुन्छ अनुभवको कमजोरी हो भए गल्ती अब हुन्छ आश्वासन एक हजुरी हो कवि राजेन्द्रले भनेका छन्।उनले लेखेका कविता गीतमा स्वतन्त्रता,समानता,सामाजिक न्याय एवम् मानवीय गरिमाप्रति गम्भीर सरोकार व्यक्त भएको छ।यस सङ्ग्रहभित्रका कविताले हामीलाई उज्यालोका निम्ति सङ्घर्ष गर्न प्रेरित गर्छन्।यस सङ्ग्रहका कतिपय गीत कवितामा ठाउँ ठाउँ अंग्रेजी शब्द र वाक्यको प्रयोग पाइए पनि मूलतः सरल र बोधगम्य नेपाली भाषाको प्रयोग गरिएको छ।यसमा प्राकृतिक र सामाजिक बिम्बको प्रयोग स्वाभाविक रुपमा गरिएको छ।

कवि राजेन्द्रको हृदय भावुक छ।उनलाई राष्ट्रको अगाध माया छ । त्यसैले त उनी भावनामा र कर्मशीलतामा नेपाललाई देख्दछन्।राष्ट्रका अङ्ग–अङ्गसित समाहित हुन पुग्दछन्।राजेन्द्र काव्यिक जगत्मा उदयीमान सर्जक हुन्।उनका समकालीन केही कविताहरु समय सान्दर्भिक र वलवान् देखिन्छन्।साँच्चै भन्ने हो भने राजेन्द्रद्वारा लेखिएका कविताहरुको भाषा सरल छ।सरल शब्दमा उनिएका कविताहरु पढ्नमा जति सजिलो हुन्छ त्यसैगरी बुझ्न समेत कठिनाइ पर्दैन भन्ने भनाई पाठक वर्गको देखिन आउँछ।अन्त्यमा उनका अन्य राम्रा राम्रा कविता सङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु।

पुस्तकः आँकुरा
विधाः कविता गीत
लेखकः राजेन्द्र श्रेष्ठ

प्रकाशनः प्रथम २०७३ देवकोटा जयन्ती
प्रकाशकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,न्यूयोर्क च्याप्टर,अमेरिका
पृष्ठः १२४
मूल्यः ने.रु.१५०।–

 

 

 

 

 

 

प्रतिक्रिया