सँगिनी लाेक छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२६” सम्पन्न ।

इनेप्लिज २०७९ वैशाख २२ गते २१:३६ मा प्रकाशित

काठमाडाें, टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२६” सम्पन्न भएकाे छ।

प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका बिभिन्न देशहरूबाट ३३ नेपालीभाषि सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

चाडपर्व र विवाह उत्सव आदि उल्लासमय क्षणहरुमा महिलाहरू वरिपरि घुम्दै गाउने लोक लयलाई सँगिनी छन्द भनिन्छ।

छन्दमा टुक्का अभ्यास श्रृङ्खला बिभिन्न छन्दहरू सिकाउदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ  टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।

यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत सँगिनी छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले उत्साहपूर्वक युगल बालौरी लाेक छन्दमा सुन्दर तथा चाेटिला टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

सँगिनी छन्द
सुत्र ३+२,३+२= १० अक्षर

अभ्यासकाे क्रममा सङ्कलन गरिएका सँगिनी लाेक छन्दका टुक्का कविताहरूहरू

[१]
१.
बसेको चरी उडेर गयो,
मायाको गुँड निस्सार भयो ।
२.
छोएर भन्छु तुलसी तामा,
आउँछु फर्की बस्नु है आमा ।
३.
मर्दको छोरा भुल्दिनँ बाचा,
दिलमा राख्छु लगाई टाँचा ।
४.
कहिले हार कहिले जित,
चल्छ रे यस्तै क्रम र रित ।
५.
बुझ्नेले बुझ्छ आँसुको मोल,
अबुझलाई पानीको झोल ।
✍️ वसन्त अनुभव
घोराही, दाङ ।

[२]
१.
पदमा पुगे सहर बसे
पुगेन अझै गाउँमा पसे ।
२.
नेताको घर नेताकै भर
जनता कति  नमानि डर।
३.
काम के गरे  नेताले यहॉ
पचाई लाज घुमेका कहॉ ।
४.
चुनेर अब असल रोजौ
हामिले तिर्ने कर खै खाेजौ ।
५.
आफन्त जति  जारिरे  भए
तिम्रा ति वाचा कता खै गए ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३

[३]
१.
चुनाव आयो बजेट खायो,
विकास खर्च किनारा लायो।
२.
असल नेता बाहिर बस्छन् ,
पैसाले पेल्ने पालिका पस्छन् ।
३.
हुँदैन प्रात नकटी रात,
बन्दैन देश समाती जात।
४.
अँध्याराे भयाे उज्यालाे खाेजाैँ,
खातिर हित कर्मठ राेजाैँ।
५.
प्रेमले हाँसौ अनन्त बाँचौ,
जुनीले पाको जीवन साँचौ ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर,झापा

[४]
१.
मुटुको टुक्रा हौ भन्छे प्यारी,
दिनैको ठट्टा काट्ने हो क्यारी।
२.
असल प्रेम  संसार जन,
बिताऊ मिलि रमाइ झन।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया

[५]
१.
दिलकी रानी आँखाकी रानी ,
लाएर मायाँ छाडेर जानी ।
२.
गरेको मयाँ टिकेन भन ,
आफैले भन खाेलेर मन ।
३.
दूनियाँ कस्ता तमासे भए ,
अप्ठेराे पर्दा नटेरी  गए ।
४.
दूरीमा गयाै कुरिन्न अब ,
रित्तिनै आँट्याे जवानी सब ।
५.
गाँसियाे मायाँ बेग्लियाैं खुबै ,
टुंगियो आज एक्लियाैं दुबै ।
६.
सम्झौता थियोे क्षणिक भयाे ,
भरेकाे हावा खुसुक्क गयाे ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[६]
१.
मायालु सम्झी नजिक आएँ,
पिरती चोखो पाउन धाएँ।
२.
मिलेर दुवै कम्मर भाचौं,
दोहोरी गाइ त्यसैमा नाँचौं।
३.
कसले भन्छ तुरन्तै जाऊ,
आएको बेला बसेर खाऊ।
४.
घुमेर आयो तिहार फेरि,
फलार सँगै खाउँला जेरि।
५.
तिहार दशैँ  प्रमुख पर्व,
हामीले सधैँ  गर्नुछ गर्व।
६.
मिलेर पर्व मनाऊ साथी,
मानव भन्दा संस्कार माथि।
७.
हाँसेर हेर जीवन बाँच्छ,
खुशीले देह रमाई नाँच्छ।
८.
माघको मेला भएर भेला,
रमाऊ सबै चाडको बेला।
९.
सत्कर्म छान भनेको मान,
गरेर स्नान दिनुछ दान।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[७]
१.
सुनौलो दिन अधेरी रात ,
नगर्नु प्रिया मलाई घात ।
२.
साकार पारौ सपना हाम्रो ,
तिमीले साथ  दिए त राम्रो ।
३.
मायालु साथ रुमानी साँझ ,
आउँछ याद मनको माझ ।
४.
हाँसेर गयौ दिलमा छायौ,
भुतुक्कै पायौ कलेजो खायौ ।
५.
जिन्दगी हाम्रो  बनाउ राम्रो ,
बोलिले तिम्रो हुन्छन् है चाम्रो ।
✍️ बुद्धिमान चौधरी
सुरुङ्गा ४ झापा ।

[८]
१.
भनेकै थिएँ नरोऊ आज,
मस्केर हाँस्छ्यौ खोलेर राज ।
२.
उठायौ रिस नसम्झी हेर,
भएँ की क्या हो अचेल धेर ।
३.
मायाकी खानी आमा नै जान,
अरूले घस्ने चेपारो मान ।
४.
माइती घर आफ्नै हो ठाने,
उनैले आज लाठीले हाने ।
५.
कहानी लेख्छु कहन्छु कथा,
कसले बुझ्ने मेरो यो व्यथा ।
✍️राजेशराज गड्तौला
रतुवामाई-१०, मोरङ
हाल- प्रवास

[९]
१.
चुनाव आयो मागेछन् भोट,
आएर नेता दिएछन् नोट।
२.
अबिर माला ढल्काई कोट,
हाँसेछ नेता दिएर चोट।
३.
राम्ररी चिनौं असल नेता,
फेरिन्छ भाग्य बनाए जेता।
४.
घरमा आई ढोगेर माग्छन्,
तमाम काम अलग्गै भाग्छन्।
५.
योजना के छ? जितेर गए,
तात्तातो सोधौं अध्यक्ष भए।
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

[१०]
१.
ओढेर घुम्टो, पर्खेर बसेँ,
समीप आयाै, मायाले कसेँ ।
२.
छरेर प्रीत, आँगन भरी,
नछाेडी जानू, मनकी चरी ।
३.
चाैतारी राम्राे, पीपल बर,
भागेर आएँ, परेर भर ।
४.
चिहाई हेर, आँखामा सानी,
तिमी नै प्रिये, मनकी रानी ।
५.
तिम्राे र मेराे, मिलेकाे जाेडी,
नजानु एक्लै, मलाई छाेडी ।
६.
मनमा राखेँ, मुटुमा राखेँ,
मायाकाे स्वाद, मुखले चाखेँ ।
७.
बेहुली बन्ने, त्याे तिम्राे मन,
बाआमा सँग, बुझेर भन ।

आयाे है दशैँ, घुमेर फेरि,
गयाे है पापी, रिनले घेरी ।
९.
छाेएर धर्ती, कसम खान्छु,
देशले मागे, मै मरी जान्छु ।
१०.
लेखेर टुक्का, सङ्गिनी छन्द,
परेर दङ्ग, मुस्काएँ मन्द ।
✍️ गोपाल कृष्ण डंगोल
इटहरी, प्रदेश १

[११]
१.
आकाशै भरी उडेका चरा,
झरिले भिजे रुँदैछन् बरा ।
२.
पानी है पर्‍यो झरर गर्दै,
माइत जान्छु म खोला तर्दै।
३.
बाबाको घर जानुछ सासु ,
आँखामा मेरो नबनोस् आँसु ।
४.
ए मेरी छोरी लौ पढ्न जाऊ ,
स्कुलमा जाऊ नढाँटी आऊ ।
५.
ए मेरो छोरो  कखरा पढ ,
पढेर तिमी चाडो है बढ ।
६.
कहानी लेख्दै बिहानी आएँ,
सबेरै हिड्दा मायालु पाएँ ।
७.
विमति मान्छे बाढिको भेल,
चुनावी ताँती भोटको खेल ।
८.
साँझको बेला टाढाको मान्छे ,
बसौँ न यतै कसरी जान्छे।
९.
बोलेको कुरा बिस्तारै सुन्छु ,
बोल्दिन धेरै मनमा गुन्छु ।
१०.
भोटको नुन नुनिलो हुन्छ ,
गरिबी बोल्छ कसले सुन्छ।
✍️ बेदु न्यौपाने,
काठमाडौ ।

[१२]
१.
चुनाव आयो शहर भरी,
पाउछन् भोट नोटमा हरी।
२.
बारीको सबै उखेल झार,
अँध्यारो ठाउँ उज्यालो पार।
✍️भगवती दवाडी
झापा ।

[१३]
१.
चुनाव आयो रौनक छायो,
मागेर भोट मोहनी लायो।
२.
ढोगेर पाउ मेरामा आऊ,
स्वस्तिक चिन्ह मेरैमा लाऊ।
३.
जितेर जान्छु उन्नति गर्छु ,
ढाँटेको छैन शरण पर्छु।
४.
गर्दछु खर्च जे पर्छ पर्छ,
देशको लागि यो ज्यान मर्छ।
५.
बुझेर ल्याउँ सबैको कुरा,
निर्णय आफ्नो गरेर पूरा।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।

[१४]
१.
चुनाव आए पाउ नि छुन्छ,
पछाडि नेता शेर झैँ हुन्छ।
२.
भ्रष्टले भेष साधुको धर्छ,
उदार नेता खडेरी पर्छ।
३.
नेताले बुद्धि धेरैको भुटे,
सपना बाँडी बिपना लुटे।
४.
घडेरी बेची विदेश पस्यो,
छोराको दिल खैरीमा बस्यो।
५.
खेतको आली बेतको डाली,
चिन्दिन भन्छे निष्ठुरी साली।
६.
चैतको मोही बैँसको पोइ,
भुल्नेले बस्नु पर्ला है रोइ।
✍️ रामशरण न्यौपाने
भक्तपुर

[१५]

सोचेर खुसी नाचेको मन,
पुरानो पिर बल्जेछ झन।
२.
वारि र पारि फूलकाे बारी,
गोड्मेल गरि सपक्क पारी।
३.
माया र मोह बढ्दै छ धेरै,
धड्कन पनि बड्दै छ मेरै।
४.
नजर जुधि लाएको प्रीत,
नसोच माया किनेको क्रीत।
५.
सँधैका लागि  भागेर जाँउ,
जे जस्तो पाए बाडेर खाँउ।
६.
केहीले  काही  रमाइ  कन,
गरौन केही, कि कसो? भन।
७.
तिजको दिन माइत जाने,
दह्रिलो दर टन्नै हो खाने।
८.
तिहार दशैं घर्घर आयो,
सबको सामु सुखद छायो।
९.
दशैंको बेला भएर भेला,
तिरि र पासा देखाउँ खेला।
१०.
रातै र भरी देउसी भैलो,
घुमेर खेलौं घर र दैलो।
✍️ अच्युत घिमिरे
भुटान ।

[१६]
१.
तिमीले प्यारी मोहनी लायौ,
गाँसेर  प्रीती  मलाई  पायौ।
२.
फुलेन फूल बगैचा भित्र ,
भेटिन मैले असल मित्र।
३.
देखाइ आशा छोडेर गयौ,
दुखाइ दिल  अर्कैकी भयौ।

जुधाइ आँखा जालैमा पार्यौ,
कुमारी माया  मतिर  सार्यौ।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती,मोरङ।

[१७]
१.
आमाकाे माया सितलु छायाँ
आमाले हेर्छिन् दायाँ र बायाँ ।
२.
गाेर्खाकाे आशा पुगेन अझ
उपाय छैन ईश्वर भज ।
३.
मायाकाे चिनाे सम्हाली राख
यादमा आए आँसु नै चाख ।
४.
झरेकाे मान्छे  उठनु छ फेरि
सङ्घर्ष गर्नु समय हेरि ।
५.
बित्दैछ समय तमासा गर्दै
भविष्य पनि विषले भर्दै ।
✍️ दिपक ठटाल जलन
खरसाङ, भारत ।

[१८]
१.
चुनावी बेला, मान्छेको मेला,
टोल टोलमा, नेताको भेला।
२.
कति राम्रो छ, तिम्रो त्यो ठाउँ,
मलाई घुम्न,  लैजाउँ गाउँ ।
३.
उसँगै अब, तिमी आउन,
माया र प्रीति, चोखो लाउन।
४.
तिमीले भुले, यो मन रुन्छ,
आमा र बाको, कुराले थुन्छ ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही  १४ बुटवल

[१९]
१.
आमाको काख अरुको लाख,
हुँदैन माया लिएर चाख ।
२.
दुधको भारा तिर्नमा सारा,
आतुर देख्छु टिप्नमा तारा ।
३.
बाबाको पन आत्मिय मन,
कर्तव्य कति  थकित  जन ।
४.
हुर्केका बाल घरमा छैन ,
समस्या पर्यो सहारा हैन ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[२०]
१.
बाहिर हेर बिहान भयो,
अँध्यारो रात हराई गयो ।
२.
ईश्वर को हुन् खोजेर छाडौँ,
बिकार जति खोजेर फाडौँ।
३.
संकल्प सच्चा ईश्वर त हुन्,
सुन्दर कार्य गरेकै छौँ जुन ।
✍️ पुष्पशायरा । विराटनगर ।

[२१]

लगाउँ मित समाज सँग,
गराउँ अब फटाईं भंग।
२.
छलेका छन गाउँमा उनी,
भन्छन मनै सबैको हुँनी।
३.
खै युवा बिना भएको ठाउँ,
बिरानो लाग्छ सहर गाउँ।
४.
अबको पालो जुटेर आउ,
सन्तान बनि साइनो लाउ।
५.
दलाल बने विदेशी भक्त,
उठेर आउ जनता शक्त।
✍️ सुरेशकुमार पान्डे।
घोराही १८ दाङ ।

[२२]
१.
मायाले आज सतायो किन,
मरेको जस्तै भयो यो  दिन।
२.
मनको बह कस्लाई  कहुँ,
यो मेरो व्यथा कसरी सहुँ।
३.
पत्थर जस्तै जिन्दगी भयो,
अचल भयी जिन्दगी गयो।
४.
कहिले काहीँ मरु झै लाग्छ,
मनले पनि  विष नै  माग्छ।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा

[२३]
१.
सम्झेर आयौ गाउँको माया,
चुनाव खुशी लिएर छाया।
२.
राखेर मुटु दिएर जान्छौ,
दिनु है भोट मागेर खान्छौ।
३.
रिसाए माफी मागेर पस्छौ,
हजार जुनी सहेर बस्छौ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड ।

[२४]
१,
नआउ घर पाउन्नौ भोट,
सक्दिन फेरि सहन चोट।
२,
बिर्सेर हिजो शहर बस्यौ,
दुखायौ मन छातिमा डस्यौ।
३,
बाटोमा खाल्डो पुरेनौ क्यारे,
कसरी गरौँ भरोसा प्यारे?
४,
गरेर वाचा सिपालु तोड्न,
कसरी आयौ सम्बन्ध जोड्न?
✍️चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके

[२५]
१.
नजाऊ कतै  छोडेर टाढा
पिरती साँची मनमा गाढा ।
२.
साँचेर चोखो मनमा मायाँ
जीवन रैछ  घाम र छायाँ ।
३.
मायालु गए मरेर खेर
पिरती हाम्रो मर्दैन हेर ।
✍️ गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका

[२६]
१.
चुनाव आयो देशमा हेर
विकास गर मुहार फेर ।
२.
देशमा हाम्रो विकास राम्रो
देखाउ गरी देश हो हाम्रो ।
३.
फेर्नु छ अब  मुहार  देश
बचाउ आफ्नो भाषा भेश ।
✍️ तारा घिमिरे
सङ्खुवासभा ।

[२७]
१.
चुनाव आयाे गाउँ शहर
सक्षम नेता छानाै हेरर ।
२.
भाेटमा भने ढाेग्दै आउँछाै
काम है परे भाेली गाउँछाै ।
✍️ प्रेम कला चापागाईं( सिटाैला)
मेचीनगर १२ झापा ।

[२८]
१.
सफल हुन्छ, गहिरो माया
नपरे हुन्थ्यो, कसैको छाया ।
२.
भमरा घुम्यो, बगैँचा भित्र
कता पो भुल्यौ, हे ! मेरो मित्र ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।

[२९]
१.
मागेर भिख बन्नु छ राजा,
जोडेर हात बजाई बाजा ।
२.
यो पनि गर्छु त्यो पनि गर्छु,
मागेर भोट शरण पर्छु ।
३.
सित्तैमा यस्तो काईदा कस्तो ?
यो मतदान साह्रै भाे सस्तो ।
✍️ बिबस पारदर्शी
भद्रपुर, झापा ।

[३०]
१.
मायाकाे बाग, बैँसकाे राग ,
शीतल छाया, प्रेमकाे काग ।
२.
शान्त छ मन, धनकाे बल ,
त्यागेमा अहं मिल्दछ फल ।
३.
सागुराे मन, के गर्नु धन ,
तपस्या त्याग, शान्त छ मन ।
४.
मनुष्य जीव, उत्तम चाेला ,
मनमा धैर्य ,सफल हाेला ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर ।

[३१]
१.
सपना सबै अधुरा भए
सुनौला पल बेकार गए।
२.
बिस्तारै भन्दा कसले सुन्छ?
जोडले भन्दा के चाहिँ हुन्छ?
३.
जल्लाद चिने नदेउ भोट
बनेर मूर्ख नलेउ नोट।
४.
बाचेर हेर! दुनियाँ देख्छौ
मरे त टुक्का कसरी लेख्छौ।
✍️ परिक्रमा श्रेस्ठ
धरान- १५, सुनसरी ।

[३२]
१.
पराई घर स्याहार्दै बस्ने,
छाेरीकाे जात दुःखमा फस्ने ।
२.
सहारा भयाे आँसुकाे भेल,
सधैँकाे दु:ख दैवकाे खेल ।
✍️ ताराप्रसाद चापागाई
धुनिबेसी, हाल प्रवास ।

[३३]
१.
बनेथेँ साथी स्वतन्त्र परी,
रुँदै छु आज न्याउली सरी।
२.
भएका दुःख पखाल्नु पर्छ,
भेट्दा यी सँगी आँसु पो झर्छ।
✍️ अनिल खग्रास
पर्वत

>> जय टुक्का! जय साहित्य!! <<

प्रतिक्रिया