तपाईं गृह मन्त्री हो कि गुन्डा नाइके?

नवीन रायमाझी २०७९ वैशाख २० गते १:२८ मा प्रकाशित

माननीय गृह मन्त्री बालकृष्ण खाँण ज्यु,नमस्कार।

त्रिभुबन बिश्व बिधालयमा आफ्नै शिक्षक लाइ कुटेर घाइते बनाउने हरि आचार्य नामको अपराधीले म बालकृष्ण खांडको मान्छे हुँ मलाई कसैले केही गर्न सक्दैन र मेरो धरौटी शेर बहादुर देउवाले तिरिदिएको हो भनेर एउटा राष्ट्रिय टेलिभिजन मा बोल्दा र त्यस्तो अपराधीको मुद्दा फिर्ता लिने प्रक्रिया गर्दा बि पी को हावादारी सपना देख्ने तपाईं लाइ शान्ती सुरक्षा को प्रत्याभूति दिनुपर्ने जिम्मेदार पदमा रहेको तपाईं गृह मन्त्री हो कि गुन्डाको नाइके हो?

प्रचण्डको सहयोगमा प्रधानमन्त्री शेरबहादुर देउबाको भित्रिया भएको कारण मन्त्री पद प्राप्त गर्नु भयो यसमा कसैलाई आश्चर्य लाग्नु पर्ने कारण छैन। तपाईं विद्यार्थीकाल देखि नै नेपाली काँग्रेसको पक्षमा नारा, जुलुस, तोडफोड जस्ता नेता हुनुको लागि अत्यावश्यक विषयमा प्रशिक्षण प्राप्त भएको कारण पनि तपाईंको उचाई निकै अग्लो छ जस्तो लाग्छ।

तपाईं हालसम्म पनि युवा नेताको पदमै हुनुहुन्छ या उमेरले नेटो काटेको सामान्य नेतामा परिवर्तन भइसक्नु भयो यो विषयमा भने म ‘अनविज्ञ’ छु।गृह मन्त्री हुनु भनेको राज्यको स्रोतलाई दुरुपयोग गरेर शक्ति प्राप्त गर्नु हो भन्ने सामान्य सोचाईलाई मान्ने हो भने हाल तपाईंको नजिक पर्न अनेक कारण देखाएर देशका दलालहरु तपाईंको घर पुगिसकेको हुनुपर्छ।

भर्खरै जेलबाट छुटेका गुण्डाले तपाईंसँग कुममा कुम मिलाएर खिचेको तस्वीरलाई दाइको फुर्को जोडेर सामाजिक सन्जालमा पोस्ट गर्ने क्रम जारी छ। सायद यो देशमा मन्त्रीसँग परिचय हुनु भनेको ठूलै कुरा हो। तर, मेरो दुर्भाग्य कुनै मन्त्रीसँग दोहाेराे परिचय भएन, जो–जति मन्त्री छन् तपाईंसँग जस्तै एकतर्फी मात्र परिचय छ।

पंक्तिकारले बुझेसम्म गृहमन्त्रीको पहिलो कदम लगभग सत्ताधारी पार्टीको घरेलु नोकरको रुपमा परिवर्तन भएको नेपाल प्रहरी सशस्त्र प्रहरीमा आफ्ना भित्रियाहरुलाई पैसा असुल्न सकिने स्थानमा सरुवा गरेर आफू पनि खाने र उसलाई पनि चाट्न दिने हो।

यसको लागि तपाईंको कुनै भित्रिया वा श्रीमती र प्रहरी महानिरीक्षकको बीचमा कुराकानी भएको हुनुपर्छ, यस्तो गतिबिधि सबै गृहमन्त्री र प्रहरी महानिरीक्षकले गरेकै हुन् र भविष्यमा पनि गर्ने छन्।

तत्कालिन गृहमन्त्री वामदेव गौतमको ‘बुइ’ चढेर चोरबाटो प्रहरी महानिरीक्षक भएका ध्रुबबहादुर प्रधान ‘धोबीको कुकुर जस्तो घरको न घाटको’ भएको कुरा नेपाली जनताले बिर्सेका छैनन्।यस्तो प्रक्रियामा तपाईं चोखो हुनु भयो भने तपाईंलाई सबैले धन्यबाद दिने छन।

पैसाको बलमा हरेक बस्तु र सेवा खरिद गर्न सकिने हाम्रो जस्तो भ्रष्ट समाजमा तपाईंलाई मात्र इमान्दारीको किन आबश्यकता? भोलि चुनाव लड्नु छ,कार्यकर्ता पाल्नु छ,नेताका यस्ता साना दु:खहरुलाई जनताले मतलब नगरेर अन्याय गरेका छन्।

साढे सत्र हजार मान्छेको ज्यानको लिइएकाे आरोपी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका कार्यकर्ताहरुलाई सोझो आँखाले पनि हेर्न नसक्ने नेपाल प्रहरीले पूर्वयुवराज पारस शाहलाई हेलमेट लगाउन आग्रह गरेर शुसासनका दिन सुरु गराउन थालेको छ। तपाईंको कार्यकालमा निर्मला पन्तको बलात्कार र हत्या र अचानक गायब भएको ३३ किलो सुन प्रकरण र त्यस्तै रहस्यमय घटनाहरुको रहस्य खुल्छ कि खुल्दैन त्यो हेर्नु छ।

मलाई राम्रो सँग जानकारी छ,तपाईंलाई नराम्रो लाग्यो भने मेरो उठिबास पनि गर्न सक्नुहुन्छ।आशा छ यो मेरो गुनासोलाई एउटा नागरिकले मन्त्रीसँग गरेको गुनासो सम्झेर सकारात्मक रुपमा लिनु होला।

जुन समुदायसँग निकै लामो समयदेखि उठबस गरेको तपाईं जस्तो मान्छेले आफ्नो कार्यकाललाई उपलब्धिमुलक बनाउनुहुनेछ भन्ने आशाका साथ: पुन एकपटक शुभकामना दिन चाहन्छु।

तपाईको शुभेच्छुक
नवीन रायमाझी
हाल:अमेरिका

 

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया