युगल बालौरी लाेक छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२५” सम्पन्न ।

इनेप्लिज २०७९ वैशाख १७ गते २:५२ मा प्रकाशित

काठमाडाें, टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२५” सम्पन्न भएकाे छ।

प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका बिभिन्न देशहरूबाट २३ नेपालीभाषि सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

छन्दमा टुक्का अभ्यास श्रृङ्खला बिभिन्न छन्दहरू सिकाउदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ  टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।

यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत युगल बालौरी छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले उत्साहपूर्वक युगल बालौरी लाेक छन्दमा सुन्दर तथा चाेटिला टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~ युगल बालौरी
सूत्र – ४+३,४+३ = १४ अक्षर

अभ्यासकाे क्रममा सङ्कलन गरिएका युगल बालाैरी छन्दका टुक्का कविताहरूहरू

[१]
१.
किन रून्छौ पियारी? हाँस्न खोजे हाँसिन्छ,
चोखो माया पिरती,आजै देखि गाँसिन्छ।
२.
कान्छी साली छँदैछ,ससुराली पसिन्छ,
प्रिये चिन्ता नगर,बास उतै बसिन्छ।
३.
हाम्री राम्री सालीको,जिउ ज्यान कसिलो,
आँखा हेर्यो हँसिलो,ओँठ उस्तै रसिलो।
४.
उतै  रोदी  घरमा,ढुक्क भई गाइन्छ,
आऊ मेरा दौँतरी,नाँच्न पनि पाइन्छ।
५.
चिन्ता किन गर्ने हो? दुई दिने चोलामा,
मरे पछि बोकेर,फाल्न लान्छन् खोलामा।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[२]
१.
मायाँ गर्छु भनेर अाएँ चट्ट बनेर ,
पन्छाईछ्याै तिमीले उहीँ लठ्ठु गनेर ।
२.
याैवनकाे जाेशमा आउ अब हाेसमा ,
पिरतीकाे निशाना परेलीकाे काेशमा ।
३.
लाज डर नमान पुराउँछु जमान ,
बिहिपछि सम्हाल पिरतीकाे कमान ।
४.
युगाैयुग जानेछ मायाँसाथै लानेछ ,
मजनुकाे प्यारले लैला आफैं छानेछ ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[३]
१.
जुनदिन  नेता हो, राम्रो काम  गर्नेछौ,
जनताको प्यारले,स्याबासीमा पर्नेछौ।
२.
चोर नेता कसैले,हिजोआज मान्दैन,
कुकुर झैँ भुक्दैमा,नेता भनि ठान्दैन।
३.
आउ काधमा काध,मिलाएर गर्नुछ,
दुःखीयारीहरुको, दुःखलाई  हर्नुछ।
४.
काम गरे  सबैले ,धन्यवाद  पाईन्छ,
नगरेमा जनको,गालीमात्र खाईन्छ।
५.
त्यसैले म भन्दैछु,बन तिमी सपूत,
आमा बेच्न गएमा,हुँनेछौ है कपुत।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा ।

[४]
१.
जताततै कपट रङ्गिचङ्गी संसार,
भ्रष्टाचार बढेर पुरिएछ भन्सार ।
२.
माया गर्छु भनेर छोडी गयौ मलाई,
मर्नु बाँच्नु कसरी अब कोर्छु सलाई ।
३.
गर्छन् छल कपट पत्याउनु कसरी,
मनपरी गरेर रमाउँछन् यसरी ।
४.
बालबच्चा सबैले रमाइलो गरेर,
विद्यालय पुगेछन् ओरालीमा झरेर ।
५.
बुझ्न गाह्रो दुनियाँ मान्छे स्वार्थी भएछन्,
आफू मात्रै वरिष्ठ ठान्दै नर्क गएछन् ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास

[५]
१.
हँसियाको धारले घाँस काँटी बसेर,
दिन गन्दै छु प्यारा डिलमुनी खसेर।
२.
साधुसन्त आएर मेरो कर्म देखेझै,
फटाफटी भन्दिए छैटीमा नै लेखेझै।
३.
पाएँ भने खाउँला, सँगसँगै बसेर,
आँखा छलि गरौँला, मन मनै रमेर।
४.
मौका हेर ढुकेर, बस उता लुकेर,
पालो आयो हाम्रै हो, नबसौ है झुकेर।
५.
रातो पिरो जुहार, मागौँला नि गुहार,
साथ दिने भेटिए, फिर्छ हाम्रो मुहार।
६.
झुटो मुटो बोलौँला,मन पेट खोलौँला,
तितो टर्रो मिसाई, नुन चिनी घोलौँला।
७.
आगो पानी सेकाई,झिलिमिलि देखाई,
पानी बल्छि थापौँला,हाम्रै नाम लेखाइ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।

[६]
१.
पानीमा छ भ्यागुतो आकाशमा बेसारो,
बुद्धिमानी  मानव  गर्नु  किन  लगारो?
२.
उस्तै  परे  जगतै  सकिन्न  र  उचाल्नु!
मिल्ने बाटो छानेमा रक्त किन उमाल्नु?
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

[७]
१.
जुन   तारा  साँचेर, बरमाला गाँसेर,
तिमीसँगै जाउला, डोली चढी हाँसेर।
२.
तिम्रो मेरो काहानी, मिठो गीत  बन्नेछ,
दुनियाँले मिलेको,राम्रो  जोडी  भन्नेछ।
३.
झलझली तिमीनै, आँखा भरी आउछौ,
धड्किएर छातिमा, मुटु भरी छाउछौ।
४.
घुम्न लान्छु  मायालु,  देउराली  पाखामा,
मिठो गीत गाँउला, हाक्पारेको भाकामा।
५.
तिमी मेरो  मुटु  हौ, छैन  मैले  ढाँटेको,
तिमीसँग मात्र हो, मैले  प्रिति  साटेको।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ

[८]
१.
सानू तिम्रो कुराले मन धेरै दुखेको ,
यो छातिमा तिम्रो नै नाम छ है लुकेको ।
२.
कति धेरै सोचेछौ माया मेरो बारेमा ,
मैले पनि जान्याछु भेट्छु भनि टारेमा ।
✍️ बुद्धिमान चौधरी
सुरुङ्गा ४, झापा ।

[९]
१.
राम सीता गएर, वृन्दावन्मा बसेर,
चौध वर्ष बिताए,  बनिबास पसेर।
२.
तिम्रै लागि भनेर, चोखो माया साँचेको,
कैले हुन्छ मिलन, औला गनि भाँचेको।
३.
रमणीय  आँखाले, नहेर भो भाकाले,
सस्तो हुन्छ प्रतिक्षा, छेलोखेलो पाकाले।
४.
तारा सङ्गै चम्केर, दिल दिँए लम्केर,
तिमी अब देखाउ, मोहवश  हम्केर।
५.

अनुराग प्रेमको, प्यार प्रिती  बसाइँ,
कैलै पनि नछोड्नु, हृदयमा फँसाई।
६.
माया जाल बुनेको, फूल माला उनेर,
तिम्रै पिछे परेछु,  मिठा कुरा सुनेर।
७.
तिरिमिरी आँखाले आकृति त्यो हेरेर,
बस्न पाऊँ मजाले  अंगालोमा बेरेर।
८.
सोह्र सत्र पुगेर बैंस आयो घुमेर,
कति राख्छौ थुनेर आँट गर्ने उमेर।
९.
बन  पाखा  हरियो   वसन्त यो छाएर,
बुन्छौ नाम्लो बरियो त्यो गोठमा धाएर।
१०.
समाजको सोचले बाधा पुगे रुचीमा,
दिनु छैन लान त जीवनको सुचिमा।
✍️ अच्युत घिमिरे
भुटान ।[१०]
१.
आशा थियाे मनमा, सफलता छुनमा,
छेक बाधा कस्काे हाे, अलमल हुनमा।
२.
माछा मार्न खाेजेकाे, भ्यागुताे झैँ बनाए,
आफ्नाे घर भत्काई, त्यही कुवा खनाए।
३.
झटाराेले ताकेर अर्कालाई हानेकाे,
उल्टै फुट्याे पुर्पुराे, कत्ति हाेला जानेकाे ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास ।[११]
१.
नानी बाबु असल  काम गर पढेर,
भोली देश हाक्नु छ ठूलो भइ बढेर ।
२.
जानु पर्छ अगाडि जोस अनि जाँगर ,
सारी चोली राम्रो छ राम्रो हुन्न घाँगर ।
३.
नाम राम्रो कमाई सेवा गर्छु देशको,
माया गर्छु असाध्यै आफ्नै भाषा भेषको ।
✍️ तारा घिमिरे
सङ्खुवासभा ।

[१२]
१.
नहोस् आँसु आँखामा, जिन्दगीमा कहिल्यै,
खुसी साथ रमेर, कटुन् दिन जहिल्यै।
२.
सुखदुःख सदैव, मानिसको साथमा,
भोग्नुपर्छ लेखेको, विधाताले माथमा।
३.
मेट्न खोजे मेटिन्न, सच्याएर सचिन्न,
भाग्यरेखा कोरेको, हटाउन सकिन्न ।
४.
जिन्दगी यो रमिता, दुईचार दिनको,
तिर्दातिर्दै सकिन्छ, सावाँब्याज रिनको।
५.
नचिताऊ कुभलो, संसारमा कसैको,
सोच्नुपर्छ जहिल्यै, कल्याण होस् सबैको ।
✍️ वसन्त अनुभव
घोराही, दाङ ।

[१३]
१.
तिमी हामी वालक, गीत गाँउ नाचेर ,
रमाइलो   गरेर, कम्मर  नि  भाँचेर ।
२.
देश माटाे छाेएर, आत्मालाई धाेएर ,
कसम  खनु हेर , चित्त शान्ति भएर।
३.
हिमालमा हिउँ छ, पहाडमा जङ्गल ,
तिम्राे हाम्राे भेटमा ,हुन्छ पक्का मंगल ।
४.
पूर्वबाट सूर्यले , ओैषधी बाेकि आए ,
जगत्-चराचरले , नव- जीवन नै पाए ।
५.
काम कुरा राम्राेरी , गर्दछिन् हाम्री छाेरी ,
लेखी पढी भ्याएर , गाईन  रे   दाेहाेरी ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर ।

[१४]
१.
रूवाएर गएछ सबै आफु हाँसेर,
जिन्दगीको रहर समाजमा साँचेर।
२.
निर्वाचन आएको लेखिरहें टुक्कामा,
बञ्चराले न हान्नु जनता ले खुट्टामा।
३.
पुराउँनु बिचार चुनावमा आएको
हेर्नुपर्छ मानिस देशलाई चाहेको।
४.
मदिरामा इमान नबेचे है जनता,
संवेदनसिल नै हुनुपर्छ अबता।
५.
अमूल्य छ भोटर नागरिक देशको,
न मदिरा नगरे चिन्ता कत्ती मेषको।
६.
सुन्दर छ नेपाल अखण्डित बसेरा,
नफाले है मानव यो समय नै खेरा।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही-१८

[१५]
१.
लगिहाले नेताले देशलाई भिरमा,
रुँदै बस नेपाली मुटु मिच्दै पिरमा।
२.
भ्रष्टाचारीहरूको देश भयो बपौती,
खोपिएका तस्कर धेरै भए थमौती।
३.
नेपालमा उज्यालो हुने दिन आएन,
कानूनको आँखाले केही देख्न पाएन।
४.
गुटको र लुटको भयो पापी जमाना,
सभ्य दक्ष युवाको विदेशमा रमाना।
५.
जता जाऊँ उतै नै ठुङ्नथाले बाधाले,
अब जोगी बने भो यहाँ सिधासादाले।
✍️ रामशरण न्यौपाने
भक्तपुर ।

[१६]
१.
सानासाना नानीले खेल खेल्ने कसरी,
मिलीजुली खेलेर जीत गर्ने यसरी ।
२.
लुकामारी गरेर खेल खेल्थौं पहिले,
जीतेपछि रमाई खुशी हुन्थ्यौ जहिले।
✍️भगवती दवाडी
दमक, झापा ।

[१७]
१.
छेउ आयौ  लुसुक्क मायागरि  हेरेको,
सुन्दर त्यो मुहार कापीभरी केरेको।
२.
धेरैपछि  मेलम्चि खेाला यहाँ पाइयेा
बल्लतल्ल  प्यासीले तृष्णा मेटी खाइयेा।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं ।

[१८]
१.
सानो छँदा खेलेको , तिमी सँगै गएर,
स्कुल हामी गएथ्यौं ,  सँगसँगै भएर ।
२.
माछी बस्यो लेवैमा , आउ सानु घरैमा,
माया प्रीति गाँसेर , बसौं आफ्नो थरैमा।
३.
गाउँ घर पसेर , भोट नेता  माग्दैछन् ,
पानी खाइ  धाराको , घरघर लाग्दैछन्।
✍️ बेदु न्यौपाने
काठमाडौ।

[१९]

१.
आँखा भरी आँसुकाे धारा सरी बगेछ,
बाढी आइ पारीको गाउँ सारा लगेछ ।
✍️ अम्विका अधिकारी
बिर्तामाेड, झापा ।[२०]
१.
कति राम्रो रहेछ मनभरि कामना,
अनुकुल मौसम गरिजाने सामना ।
२.
राम्रोपन  सोचेर   मनमन  गुनेर,
बुट्टा भरि रुमाल ल्याउनेछु बुनेर ।
३.
कता जाने गोरेटो भुल्नुहुन्न गन्तव्य ,
सभाहल बीचमा सुहाउँछ  मन्तव्य  ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक ।[२१]
१.
जुन जोगी आए नि उहीँ कानै चिरेका,
राम राम मुखमा भरै झोला भिरेका।
२.
उठेपछि चुनाव जित्नैपर्छ भन्दछन् ,
जितेपछि कतिले जितिएछ गन्दछन्।
✍️ परिक्रम्म श्रेस्ठ
धरान- सुनसरी ।

[२२]
१.
नजानु है ए आमा,घाँस काट्न भिरमा,
रुँदै बसे यहाँ म हजुरको पिरमा।
२.
सधैंभरि सुन्दर , बाआमाको मुहार,
दु:खै दु:ख पाएर, मागेका छन् गुहार।
३.
गीत गाउ मायालु,हामी सबै नाँचेर,
रमाइलो गर्नेछौं, कम्मर नै भाँचेर।
४.
मेलापात गएर काम गरी आउँला,
भोको पेट भएमा खाजा रोटी खाउँला।
५.
जिन्दगी यो यस्तै हो यस्तै रैछ संसार,
मान्छे हुन्छ मान्छेकै संगतको अंसार।
६.
साथीभाई मिलेर बालौरी यो गाउँला,
चौतारीमा बसेर माया प्रिति लाउँला।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही-१४ बुटवल ।

[२३]
१.
बोलीचाली आहा! छ, नेपालकी चरीको,
सुवासना छरेर डुल्दै हिड्ने परीको।
२.
भेटघाट भएन, खोज्दै आएँ घरैमा,
साँचो मायाँ लाएर पर्‍यौ कि त डरैमा।
३.
राजनीति दशा भो हेर्‍याहेरै जनता,
चुनावको माहोल भोट हालौँ म कता?
✍️ अनिल खग्रास
फनपा ९, पर्वत ।

>> जय टुक्का! जय साहित्य!! <<

Attachments area

प्रतिक्रिया