मैले देखेका आमाहरू

शशी के.सी २०७९ वैशाख १६ गते २२:१० मा प्रकाशित

 

आज नेपालको “आमाको मुख हेर्ने दिन” ! आज संसारभर छरीएर रहेका नेपालीले खोजखाज गरेर आमाको फोटोफेसबुकमा राख्ने दिन र त्यसरी फोटो राखेर देखाउटी गरे भनेर गाली खाने दिन पनि!

मत धन्यवाद दिन्छु सोसलमिडियाहरूलाई,कमसेकम तिनीहरू छन् र पो सबैले आमाको फोटो राखेर देखाउन पाएकाछन्।नत्र कता राख्नु र चिनाउनु “मेरी आमा”भनेर संसारलाई।आमा तॅंपाईको, सोसलमिडिया तॅंपाईको,तॅंपाईलाई जे सही लाग्छ खुशी साथ गर्नुस्।

अझ ती संतान भाग्यमानी जो सॅंग आमाको फोटो छ।कति यस्ता संतान छन् जसले आमाको माया मात्र हैन की आमा कस्ती रहिछन् भनेर हेर्ने फोटो सम्म छैन।

आमा,यिनको बयान जति गरेपनि अपुरो हुन्छ।फेरी आमा भन्ने चिज चाहीं गज्जब कै रहेछ।जंहा चिन्ता नगर भन्छन्।ओहो त्यसमा चिन्ता त कति कति।सोच्दा सोच्दा त सर्वस्व नै बितेको भान हुने!कहिलेकाहीं त लाग्छ आमा भनेको संतानहरूको भएभरको पीर बोकिदिने भण्डार हो।जसले जति पोखिदिएपनि हुन्छ।

आमा फेरी बिभिन्न समयमा बिभिन्न किसिमको लाग्ने।सानो बच्चा हुंदा ओहो,मेरी आमा संसारकी राम्री,उसले जे गरेपनिराम्रो।गाली गर्दा,कुट्दा पनि आमा नै प्यारो।

अलिक ठुलो भएपछि आमा निक्कै कडा,कचकचे लाग्ने।आ आमालाई केही थाहा छैन र पनि जान्ने पल्टिने भन्ने सबैले।

अनि विवाह र अंशबण्डा गरी छुट्टै बस्दा चाहीं आमा मेरो जिम्मा हो र? तेरो जिम्मा,तैंले गर्नु पर्छ भन्नेसम्म अवस्था पुग्ने।कताकता सोच्न मन लाग्छ,आमाले तेसरी नै अगाडी जन्मेका संतानलाई अब तॅं भन्दा मुनिका भाई बहिनी जन्मे।तॅं मेरोजिम्मा हैन,जे सुकै गर भनिदिने हो भने संतान के होलान?

खासमा संतान भएपछि आमाले बांचुन्जेल कहिल्यै पनि एक्लो आफ्नो जिवन चाहीं बांच्दिनन्।झन् धेरै संतान हुने आमा तधेरैतिर बांडिएकी हुन्छिन्।फेरी संतानले आफुलाई के व्यवहार गर्छ सबै थाहा हुन्छ।खै भित्रभित्र मनमा पिडा होला।तर संतानको अगाडी संधैं हांसी खुशी नै देखाउने।

आमासंग फेरी “आमा जिउॅंदे हुंदा” पनि गुनासो नै,अनि “आमा नहुंदा” त जिन्दगीभरको गुनासो।आमासॅंग घुर्कायो,रिसायो,उस्तै परे गाली पनि गर्यो तर आमा संतानले भने भनेर कहिल्यै ईख लिंदिनन्।बरू संतानलाई केही समस्या होलार पो मसॅंग पोख्दैछ दुख सोच्ने।

अनि फेरी संतानले आमासॅंग केही राम्रो बोलिदिनु,आमा एक्कैछिनमा फुरूंग भईदिने।आमाको लिला नै अपरम्परपार !

अझ घत पर्ने कुरा त आमा जे,जस्तो भए पनि संतानहरूमा आमाको गुण/ अवगुण,रूपरंग,आनी/ बानी केही न केही सर्दो नैरहेछ।कोही आमा हक्की हुन्छन्। सत्य कुरा सिधै भन्छन्।त्यो गुण केही संतानमा सरेको हुन्छ र कस्तो “तिमी त तिम्रोआमा” जस्तै भनेको सुनिन्छ।त्यस्तै केही आमा असाध्यै सहने हुन्छन्।केही घुसघुसे,रिसाहा,केही असाध्यै लोभी,केही आफु मिठो र राम्रो खाने,अरूलाई नराम्रो दिने।त्यस्तै केही आमा असाध्यै मिठो पकाउने,निक्कै सरसफाई गर्नु पर्ने, पुजाआजा ब्रत ज्यादै नै गर्ने आदी।

त्यस्तै कोही संतानको आमासॅंग अनुहार मिल्छ।कसैको आमा कै जस्तो हांसो हुन्छ।केही आमा नाच्न,गाउन सिपालु हुन्छन र कुनै संतान पनि आमा जस्तै आफै नाच्न गाउन सिपालु भईदिन्छन्।

आफु पनि एक आमा भएको र आजकल उमेर बढ्दै गएर होला सम्झॅंदा जो “आमा” पनि महान लाग्छ।हामी सानो हुंदादेखेको “भान्छे आमा वा बजै”।चोखो लुगा, धोती लगाएर मिठो खाना पकाएर सबैलाई खुवाएपछि मात्र आफु खाने।ओहो,उॅंहाले पकाएको जे पनि मिठो लाग्ने।अझ केटाकेटीलाई त कति माया गरेर थपेर खान दिने।

त्यसपछि सेतै कपाल फुलेका घर,मामाघर र टोल छिमेकका हजुरआमाहरू ! अहिले त कोही जीवित हुनुहुन्न!।उॅंहाहरू सॅंगत मायाको खजाना नै हुने।खै प्राय: घरमा नै बस्नु हुन्थ्यो,बाहिर जानु हुन्न थियो।तर उॅंहाहरूलाई भेट्न आउने ईष्टमित्रहरूले ल्याई दिने हुनाले होला सधैं बिस्कुट,फलफुल भईरहन्थ्यो।हामी ससाना केटाकेटीलाई खान दिने।उॅंहाहरूले दिएको खान पल्केर होला।हामी कुनै न कुनै बहाना पारेर पस्थ्यौं उॅंहाहरूको कोठामा।अझ घरको हजुरआमा तअपरझट दुईचार सय चाहिंदा माग्न जाने सानोतिनो बैंक नै।कहिले काहीं चाहीं पैसा नपाउन्जेल उॅंहाको सानो बेलाको गांउघरको रातेपाटे गाईको कथा जबरजस्ति सुन्नु पर्थ्यो,हो माहो मिलाएर।

सम्झॅंदा त हाम्रो टोलको सानो किराना पसले आमा झन् महान लाग्छ।बिचरा त्यो बेला एक्ली महिला,तिन बच्चाहरूथिए।सबैलाई पसल चलाएर पनि राम्रो शिक्षा दिनु भयो।छोराछोरीको विवाहबारी गरिदिनु भयो।अहिले त बितिसक्नु भएछ।एउटै टोल भएर होला,हामी कस्का संतान चिन्ने।कहिले काहीं पैसा नहुंदा उधारोमा पुस्टकारी,छुर्पी,बिस्कुट आदी पनि दिने।हामीले तिर्न बिर्से, मम्मीहरूलाई तिराई छोड्ने।

अझ संम्झना त स्कुलको गुरूआमाहरूको पनि छ।म पढेको स्कुलमा मिस नभनेर गुरूआमा भन्थ्यो।ओहो हाम्रो गुरूआमाहरू किन तेस्तो कडा होला त्योबेला। खै अर्काका छोरीहरूलाई कडा अनुशासनमा राखेर तह लगाउनु पर्छ भन्ने सोचले होला।सानोतिनो गल्ति गर्दा पनि कुटाई र सजाय त कति खाईयो कति।

 

तर माया पनि नगर्ने त होईन फेरी।हामी होस्टेल बस्नेहरू घरपरिवारबाट टाढा बसेका,बिरामी आदी पर्दा ख्याल गर्ने।एकपटक तेही चार कक्षामा पढ्थें म ! भरखर होस्टेल बसेको,खाना आदी पनि मिठो नलाग्ने,शायद घरको याद पनि आयोहोला।अलिक मुख खिस्रिक्क रहेछ।होस्टेलको एक गुरूआमाले देख्नु भयो र बोलाउनु भयो।के भो संन्चो छैन तॅंलाई ! डरले ठिक छ भने ! हात छाम्नु भयो तातो पनि रहेछ।माथि क्लिनिकमा लगेर ज्वरो नाप्दा १०० पुगेको रहेछ। औषधी दिएर, बेलुका स्टडीरूममा पढ्न नगई सुत भन्नुभयो।पढ्न नपरेको खुशीले सुत्न गएं। बच्चा न हो भोली पल्ट त ठीक भई हालें।

होस्टेलमा हुंदा अर्को आमा हुनु हुन्थ्यो स्टोररूमको “तुलसा दिदी”।होस्टेल भरीको खानपानको जिम्मा उॅंहाको।सधैंपौष्टिक खाना,तरकारीहरू मगाउने।हप्ताको दुई पटक मासु खान पाईन्थ्यो।केटाकेटी उमेर,उॅंहाले दिउॅंसो देखिपकाएको मासु मगमग बासना आएर कुनबेला खान पाईएला जस्तो लाग्थ्यो।

त्यस्तै स्कुलको क्लिनिक वा बिरामी कोठा हेर्ने फिनल्याण्डका सिस्टरहरू थिए।ओहो,उॅंहाहरू त अहिले संम्झॅंदा असाध्यैमहान “आमाहरू” लाग्छ।आफुहरूले त कोहीले पनि विवाह गर्दैन थिए।तर केही टुहुरा केटीहरूलाई हाम्रै स्कुलमा र केहीकेटाहरूलाई बुढानिलकण्ठ स्कुलमा धर्म छोराछोरीको रूपमा पढाई दिएका थिए।उनीहरूले पढाएका बालबालिकाहरूसबैले राम्रो गरे। कोही त नर्स, डाक्टर आदी पनि भए।

लेख अलिक लामो हुन लाग्यो।देखेका आमाहरू त अरू पनि छन्।आफ्नै जन्मदिने आमा जति नै माया गर्ने ठुलीआमा, सानीआमाहरू ! ओहो, नेपाल जांदा उॅंहाहरूको घर पुगेर मिठोमसिनो नखाईदिएसम्म त छोड्दै नछोड्ने।

त्यस्तै कर्मले जुराएको मायालु सासुआमा,नन्द,आमाजु तथा फुपुसासुआमाहरू,माया गर्ने छिमेकी र साथीका आमाहरू,भाउजु,माईजु,फुपुआमाहरू, पशुपतिनाथको भैरव मन्दिरको पुजारी आमा, यसले ढाडमा एकपट्क ड्याम्म हानेपछि ढाड दुख्न संन्चो हुने,लुगा सिलाउने आमा,तेल लगाई दिने धाईआमा, नॅंया बानेश्वरको साग पसले बुढी आमा,जसले बर्षौं देखि साग बेचेर बिरामी श्रीमानको उपचार गराउॅंथिन्।र सधैं मासु किन्नेअग्लो मासु पसलको हंसिली आमा! मासु पसले आमा किन संम्झेको भन्दा चाहीं,अगाडी हंसिली भएर गफमा अल्मलाउने र तल मासु पोको पार्दा कुन बेला बोसो हाल्दिने पत्तै नहुने,घर आएर मासुको पोको खोल्दा बोसो हुने।सायद त्यसरी ठगेरैतेत्रो अग्लो घर बनाए होलान्।

त्यस्तै मंन्दिर अगाडी बच्चा सहित माग्न बस्ने आमाहरू,ईट्टा, बालुवा बोक्ने बलिया आमाहरू,शरीर बेचेर संतान पाल्नेअभागी आमाहरू,संतानलाई नेपालको कानुन बाधक हुनाले पहिचान र नागरिकता दिलाउन नपाएर छट्पटाएर,टेलिभिजनकार्यक्रममा धरधरी रूने दुखी आमाहरू र सर्वस्व दिएर हुर्काएका संतानले नहेरिदिंदा लावारिस जस्तो अवस्थामा पुगेर,उद्धार गरिएर बृद्धाश्रममा संतानको पर्खाइमा रहेका आमाहरूका आ-आफ्नै कथा होलान्।

एक जना साहसी सौतेनी आमालाई त असाध्यै मान्छु।जसले आफुबाट संतान नहुने पक्का भएपछि,श्रीमानको आफै केटीखोजेर विवाह गरिदिएर,सौताबाट जन्मिएका संतानहरूलाई हुर्काइ, बढाई,पठाई,योग्य बनाई विवाहवारी सम्म गरिदिनुभयो।

आजकल चाहीं नेपालमा “ग्रीनकार्ड धारी आमाहरू”बढ्दैछन्।संतान विदेशी नागरिक भई दिनाले आमाहरूले पनि बाध्यताले विदेशी पि.आर वा ग्रीनकार्ड लिनु परेको छ।यी “ग्रीनकार्ड धारी आमाहरू” बुढेशकालमा सक्की नसक्की नेपाल र विदेश आवत जावत गरिरहनु हुन्छ।

म आफु चाहीं बर्षौं विदेश बसेर होला।आजकल सबै भन्दा प्यारो “ नेपाल आमा” !

सबै आमाहरू प्रति हार्दिक नमन !

-शशी के.सी

 

शशी के.सी

लेखिका

प्रतिक्रिया