कुनै न कुनै दिनदेखि त दुख्न कम हुन्छ भन्ने आशालाई बारम्बार जगाइरहनेथें । नेशनल न्यूरो हस्पिटलको ओैषधी खाएको छ कि सात दिनको दिन बिहानै उसलाई भमिट भयो । त्यो दिन दिनभर उसले केही खान पनि सकेन । बिरामी भएको धेरै दिन भैसकेको र त्यसै माथि भमिट समेत भएकोले ऊ झन् कमजोर भयो । दिउँसो तिर ज्वरो समेत आयो । अब बि एण्ड बि लाने कि न्युरो हस्पिटल लैजाने , दोधारमा परियो । किनकि दुबै तिरको ओैषधी खाएको थियो । हामीले नेशनल न्यूरो हस्पिटल नै लैजाने विचार गरियो । त्यहाँ उसलाई जचाएको डाक्टरको पालो बेलुकी मात्रै थियो । कतिबेला दिन जान्छ भनेर पर्खेर बस्यौं । धेरै दिनदेखिको बिरामी पनले उसको अबस्था अझै नाजुक भएको थियो । हामी धेरै आत्तिएका थियौं ।
बेलुकी भएपछि हस्पिटल लगियो । डाक्टर साबले अहिलेलाई माइग्रेनको ओैषधी बन्द गर्ने र भमिट रोक्ने ओैषधी दिनुभयो र त्यहाँबाट जाने इशारा गर्दै हातमा मोबाइल लिएर मोबाइल हेर्न थाल्नु भयो । वास्तवमा हामीलाई सहानुभूतिको पनि खाँचो थियो । तर अफसोच! यहाँका कुनै पनि प्राय: जसो डाक्टरबाट त्यो पाउन सकिन्न । अनि मेरो मनमा खोपप्रति उब्जेको शंका प्रति प्रश्न गर्दै सोधेँ “कतै यो खोपको कारणले त होइन ?” तर उहाँले मोबाइलमा नै ध्यान केन्द्रत गरेर “तपाईं कस्तो अन-न्याचुरल कुरा गर्नुहुन्छ ” भन्दै मोबाइलमै व्यस्त हुनुभयो । हामी निरुत्तर भएर फक्र्यौं । हुन त उहाँको लागि हाम्रो छोराजस्ता कति बिरामी आउँछन् , कतिजनाका कुरा सुन्नु र? तर पनि मनोविज्ञान भन्ने विषय यो डाक्टरी लाइनतिर पनि टड्कारो परेको महशुस हुन्छ मलाई त!
भमिट रोक्ने ओैषधीले भमिट त रोकियो । तर घाँटीको दुखाइ फेरि बढ्यो । फेरि बि एण्ड बि नै लगियो । उसको घाँटीको इन्फेक्सन घटेको रहेनछ । वास्तवमा भमिट रोकिने देखि बाहेक अन्य कुनै पनि ओैषधीले काम गरेको थिएन । अनि उसको घाँटीको भिडियो एक्सरे गरियो । रिपोर्ट नर्मल आयो । अनि डाक्टर साबले त्यही ओैषधीलाई निरन्तरता दिन सुझाव दिनुभयो । मैले उहाँ इ यन टि को डाक्टरसँग पनि खोपकै कुरा गरें । तर उहाँले अन्य डाक्टरबाट भन्दा फरक धारणा बताउनुभयो । उहाँबाट चाहिँ हामीले निकै राम्रो सल्लाह र सुझाव पायौं । उहाँले ” खोपले हुन पनि सक्छ अनि नहुन पनि सक्छ , यो त ट्रायल फेजमा त छनि !” भन्नुभयो । यति धेरै दिन भैसक्दा उसलाई निकै नै कमजोरी महशुस हुन थालेको थियो । उ राम्रोसँग हिँड्न सक्दैनथ्यो । अनि उहाँले कमजोरीको लागि एकपटक भिटामिन बि 12, भिटामिन डि, क्याल्सियम, अनि थाइराइड टेष्ट गर्न भन्नुभयो । भगवानको कृपाले सबै रिपोर्ट नर्मल आयो । यसरी दिनदिनै हस्पिटल धाउनु दिनचर्या जस्तै भएको थियो ।
हाम्रा दिनहरु तनावमा नै बित्दै थिए । नजिकै आएको उसको एस ई ई परीक्षा, अनि स्कुल छुटेको एकमहिना बित्न लागेको थियो, यसले गर्दा अझै तनाब हुन्थ्यो । अब टाउको दुख्न भने कम भैसकेको थियो । तर पनि कमजोरीले गर्दा ऊ केही गर्न सक्ने अबस्थामा थिएन। जिन्दगीमा ठक्कर त धेरै नै पाएको थिएँ तर यतिधेरै दुख्ने गरेर पाएको थिइन । जसको लागि म बाँचेको थिएँ, ऊ नै बिरामी भएको महिना दिन पुगेको थियो । म बिहान कलेज पढाउन जान्थें । कसरी गएर पढाएर आउँथें आफैंलाई थाहा छैन । बाटोमा हिँड्दा मेरा आँखा भिजेका हुन्थे । किनकि घरमा त उसको अगाडि म नर्मल भएर उसलाई हिम्मत दिन्थें । मलाई अब कसैसँग हाँस्न अनि बोल्न मन लाग्न छोडिसकेको थियो । एकछिन कलेज जाँदा पनि कतिबेला घर पुगौं जस्तो हुन्थ्यो । तर त्यहाँ सहकर्मी साथिहरुले निकै नै साथ दिनुहुथ्यो। उहाँहरुले भन्नुभएको “सन्चोहुन्छ , नआत्तिनुस्” भन्ने शब्द नै मेरा लागि अमृत समान कर्णप्रीय हुन्थे ।
छोराले “चैत लागेपछि त स्कुल जान सक्छु होला ” भनेको थियो । चैत पनि लाग्यो , तर ऊ स्कुल जान सक्ने अबस्था भएन । धेरैले मेडिटेसनले ठिक हुन्छ भनेको सुनियो र त्यतातिर पनि लग्यौं । दिनदिनै लैजानु पर्थ्यो । दिनदिनै लगियो पनि । दुई चार दिन त अल्ली राम्रो जस्तो पनि भएको थियो । अब त ठिक हुन्छ भन्ने आशा पनि पलायो । तर त्यो आशा पनि चाँडै नै निराशामा परिणत भयो । पाँच / छ दिनभन्दा धेरै दिन ऊ मेडिटेसनमा जान सकेन । एकदिन ऊ यति कमजोर भयो कि ट्याक्सीमा समेत बस्न नसक्ने भयो । त्यस अबस्थामा मेडिटेसन लाने कुरा नि भएन । अब कता लैजाने ? कोरोनाको खोपले यति सम्म पार्छ भनेर सुनेको पनि थिएनौं तर पनि भोग्न बाध्य भयौं । ।यस्तो हुन रहेछ र मलाई यो खोपमाथि कहिल्यै विश्वास लागेको थिएन ।
क्रमश……
दुर्गा लोहनी
प्रतिक्रिया