मेडिसिटी देखि मेडिसिटी (मेदान्त) सम्म

इनेप्लिज २०७९ वैशाख ९ गते २२:०४ मा प्रकाशित

समय आफ्नै गतिमा केही नभए जसरी  बगिरहेको थियो । हाम्रा दिनहरु भने छट्पटाहटमा बितिरहेको थियो । चस्माको पावरले काम गर्छ भन्ने विश्वास पनि टुटिसकेको थियो । समय अति नै अत्यास लाग्दो भयो। कुनै पनि “पेनकिलर” ले समेत काम नगर्ने अनौठो दुखाइ थियो । एकपटक दुख्न छोडेपछि त ठिक होला नि जस्तो लागेर एकदिन त आफैंले “फ्लेग्जन” खान दिएँ । तर त्यसले पनि कुनै असर गरेन । दिनहरु तनावमै बितिरहे । मलाई भने त्यही खोप लगाएकोमा पश्चाताप लागिरह्यो ।

मेडिसिटी जस्तो हस्पिटलमा जाँदा पनि ठिक नभए पछि सारै नै अन्यौलमा परियो । यस्तैमा नेशनल न्यूरो हस्पिटलमा एकजना वरिष्ठ न्युरोलोजिस्टको नाम सुन्यौं र उहाँलाई देखाउने विचार गरेर उक्त हस्पिटल लगियो । त्यहाँ पनि डाक्टर साबले सबै रिपोर्ट हेर्नुभयो । उसको टाउकाको एमआर आइ रिपोर्ट नर्मल भएको र निरन्तर टाउको दुखेकोले त्यहाँको डाक्टर साबले पनि माइग्रेन नै हो भनेर माइग्रेनको अर्को ओैषधी चलाउनु भयो । हामी पनि एकपछि अर्को माइग्रेनको ओैषधी खुवाउन बाध्य भयौं ।

तर बिडम्बना !  उक्त ओैषधीले पनि केही काम गरेन । दुखाइ बढ्यो भनें खुवाउनको लागि पेनकिलर  दिइएको थियो । रातको समय थियो, तैपनि दुखाइ कम होला  कि भनेर उक्त पेनकिलर खुवाइयो । त्यो ओैषधी खाएको पैंतालीस मिनेट जतिमा अनौठो पाराले लठ्ठ परेर निदायो ।तर भोलिपल्ट बिहान उठ्दा समस्या जहाँको त्यहीँ !

जतिबेला पनि टाउको दुख्दा एकछिनको लागि भएपनि टाउको नदुखे नि कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो । यो बीचमा कति तनाव भयो, कति एक्लै रोएँ,  कति भगवान पुकारें ।  तर भगवानले पनि हाम्रो पीडामा आनन्द मानेका छन् कि जस्तो लाग्थ्यो । तरपनि म उनैलाई पुकारी रहन्थें । हे भगवान ! जसरी भएपनि सन्चो गराइदेऊ,  भनेर हरदम उनैलाई संम्झिन्थें । आखिर दु: ख पर्दाको सहारा उनै भगवान नै रहेछन् । तर थाहा छैन मैले यो के को परीक्षा दिनुपरेको हो?

मनमा जति पिडा भएपनि आफ्नो पीडा लुकाएर म उसलाई हिम्मत दिइरहन्थें । कति अत्यास लाग्दो र कहालीलाग्दो समय भयो हाम्रो लागि । सायद त्यो खोप नलगाएको भए यस्तो हुँदैनथ्यो होला । खोप लगाउनु नै दशा लगाए जस्तो भयो । सरकारले बाध्यात्मक स्थिति नल्याएको भए यस्तो हुन्थेन होला । कुनै पनि ओैषधी खुवाउने र यस्ता परिक्षण कालमा रहेका खोपमा जनतालाई नै स्वतन्त्र निर्णय गर्न दिनु नै उपयुक्त हुन्थ्यो होला । तर यो त मेरो मनको अड्कल मात्रै थियो । यतिबेलासम्म खोपले हो भन्ने कुनै डाक्टरले भनेका त थिएनन् ।

यही बीचमा फेरि उसको घाँटीमा पनि समस्या देखियो । कहिलेकाहीँ घाँटी दुखेर सुत्न सक्थेन । त्यसैले बि एण्ड बि हस्पिटलमा नाक, कान, घाँटीको डाक्टरलाई देखाइयो । उसको घाँटीमा इन्फेक्सन भएर लिम्फ नोड सुन्निएको रहेछ । डाक्टरले ओैषधी दिएर पठाइदिनु भयो । उसको घाँटीको दुखाइ पनि अनौठोको थियो,  इन्फेक्सन घाँटी भित्र रहेछ । तर दुखाइ भने बाहिर थियो । रोगले पनि एकपछि अर्को गरेर आक्रमण गर्ने रहेछ ।

टाउको दुखेको सत्रौं दिनको दिन अल्ली कम भयो । यहि क्षणको लागि म कति तड्पिएको थिएँ । तर यो क्षण आधा घण्टा जति पनि रहेन । तरपनि मनमा एउटा आशा जगाएँ, सायद ओैषधीले काम गर्न थाल्यो कि?

क्रमश….

-दुर्गा लोहनी

 

 

 

प्रतिक्रिया