दिल्ली जयपुर यात्रा एक, अनुभूती अनेकः यात्रा स्मरण

बिनोद कुमार पोख्रेल २०७९ वैशाख २ गते १०:०३ मा प्रकाशित

यथार्थमा जीवन यात्रा नै हो यही यात्राको क्रममा मैले केही वर्ष यता आफ्ना यात्रा अनुभूतिहरू मन मस्तिष्क बाहेक कागजका पानाहरूमा पोख्दै आएको छु। जीवनमा खुसी सधैँ नहुन सकिएला तर आफ्ना विगतका आनन्ददायी क्षणहरूलाई स्मरण गरे सदा खुसी हुन सकिन्छ। त्यस्तै यात्रानुभूतीको संगालो स्वरूप आज मैले हाम्रो सुन्दर देश नेपालको छिमेकी देश भारतको केन्द्रीय राजधानी दिल्ली, त्यस सँग जोडिएको भारतकै सबै भन्दा ठुलो राज्य राजस्थानको राजधानी जयपुर तथा उत्तर प्रदेशको आगरा स्थित ताजमहल बारे सुखद अनुभूतिहरू उल्लेख गर्न चाहन्छु।

मैले आफ्नो उच्च माध्यमिक शिक्षा भारतको वाराणसीमै बसेर गरेता पनि करिब २४-२५वर्ष यता मैले भारतका कुनै पनि सहरहरूको भ्रमण गरेको थिएन। समाचार वा मेडियाहरुबाट धेरै कुराको जानकारी पाए पनि आफ्नो मानस पटलमा आफूले प्रत्यक्ष देखिएका पुराना तस्बिरहरू घुम्दो रहेछन्। मैले दिल्लीमा २४-२५ वर्ष अघाडी जे देखेको थिए त्यहाँ पुग्नु अघि सम्म मेरो दिमागमा त्यस्तै दृश्यहरू नै आई रहन्थ्यो।

जब हामी भ्रमणको सिलसिलामा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्ट पुग्यौ मलाई कतार एयरपोर्टको सम्झना आयो। एयरपोर्ट बाट निस्केर राजस्थानको जयपुर तिर लाग्यौ त्यो बाटो, दायाँ बायाँ भवनहरू, अन्डर पास ओभर पास हाइवे देख्दा म चकित भए । सुनेको थिए तर प्रत्यक्ष अनुभूति गर्न पाए यति छोटो अवधिमा भारतले भौतिक पूर्वाधारको विकासमा धेरै नै फड्को मारेको रहेछ तर ट्रफिक व्यवस्थापन र नियम पालना तथा सहरको सर सफाई तर्फ भने पुरानै संस्कार अझै रहेछ।

भारतका २८ वटा गणराज्य मधे क्षेत्रफलको हिसाबले सबै भन्दा ठुलो राज्य राजस्थान हो।नेपाल भन्दा धन्नै दोब्बर क्षेत्रफल भएको यस राज्यको जनसङ्ख्या नेपालको जनसङ्ख्याको दुई गुणा भन्दा बढी ६ करोड ८५ लाख रहेको छ।भारतका राज्यहरू मधे एउटा कला संस्कृति र सभ्यताको इतिहास बोकेको क्षेत्र राजस्थानलाई मानिन्छ। यसलाई मानव सभ्यताको इतिहास बोकेको सिन्धु घाटीको सभ्यताको महत्त्वपूर्ण क्षेत्र मानिन्छ।हिन्दू धर्म ग्रन्थ ऋग्वेद मा मत्स्य जनपद बारे उल्लेख गरिएको छ जुन राजस्थानमै पर्दछ।त्यसै गरी महाभारत पुराणमा मत्स्य नरेश विराटको बारे उल्लेख गरिएको छ, जहाँ पाण्डवले गुप्तवास बसेमा थिए। मत्स्यका वंशजहरू आदिवासीहरू राजस्थानमा अहिले पनि रहेका छन्।राजस्थानमा पहिले विल राजाले शासन गरेका थिए पछि राजपूत जातीका विभिन्न बंसहरूले शासन गरेका थिए। ब्रिटिस शासन कालमा राजस्थानलाई “राज पूतना” नामबाट जानिन्थ्यो। भारत स्वतन्त्र भएपछि १९४९ मा यो भारतको राजस्थान गणराज्यको रूपमा आएको हो। राजस्थानको अर्थ “राजाहरूको स्थान” धेरै राजाहरूले शासन गरेको स्थान भएकोले यसलाई राजस्थान नामाकरण गरिएको हो भन्ने भनिन्छ।

राजस्थानको राजधानी तथा प्रमुख सहर जयपुर मानिन्छ।जसलाई गुलाबी सहर (Pink City) तथा भारतको पेरिस पनि भनिने रहेछ। आमेरको तौरमा यो जयपुर नामले प्रसिद्ध प्राचीन रजवाडाको पनि राजधानी रहेको थियो । यस सहरको स्थापना १७२८ मा आमेरका महाराज जयसिंह द्वितीयले गरेका थिए । जयपुर आफ्नो समृद्ध भवन निर्माण-परम्परा, कला संस्कृति र ऐतिहासिक महत्त्व को लागि प्रसिद्ध छ। यो सहर तीनै तर्फबाट अरावली पर्वतमालाले घेरिएको छ। जयपुर सहरको पहिचान यहाँका पुरातात्त्विक भवनहरू तथा ती घरहरूमा भएको गुलाबी धौलपुरी ढुङ्गाले हुन्छ जुन यहाँको स्थापत्यको खुबी हो । सन् १८७६ मा तत्कालीन महाराज सवाई रामसिंहले ईङ्ल्यान्डकी महारानी एलिजाबेथ प्रिंस अफ वेल्स युवराज अल्बर्टको स्वागत मा पुरा सहरलाई गुलाबी रङ्गले आच्छादित गराएका थिए । त्यहीदेखि जयपुर सहरको नाम गुलाबी सहरी रहेको हो।

भारतको केन्द्रीय राजधानी दिल्लीबाट ४-५ घण्टा को सडक यात्रा बाट पुगिने जयपुर सहर पर्यटकीय दृष्टिकोणले भारतको घुम्नै पर्ने सहर मधे एक हो। प्राचीन कला संस्कृति इतिहास तथा पुरातात्त्विक दृष्टिकोणले यसको धेरै महत्त्व रहेको छ भने हाल यस सहर औद्योगीकरण तर्फ समेत निकै अघाडी बढी रहेको छ। चार दिसा तर्फ चार वटा गेट बाट भित्र छिर्न सकिने गुलाबी सहर साँच्चै नै मनमोहक रहेको छ। त्यस भित्र रहेको बजार त्यहाँको सबै भन्दा पुरानो बजार रहेछ।कलात्मक डिजायनवाट बनाइएको हवामहल यहाँ आउने पर्यटकहरूको प्रमुख गन्तव्य नै रहेछ भने महाराजा सवाई मानसिंह द्वितीयको दरवारको रूपमा रहेको सिटी प्यालेस र त्यस भित्र रहेको संग्रालय, बगैँचा तथा आकर्षक भौतिक संरचना यहाँको आकर्षण नै मानिने रहेछन्। त्यसै गरी विश्व सम्पदा सूचिमा संरक्षित जन्तरमन्तर भित्र राजाहरू द्वारा निर्मित संरचनाहरू सामान्य देखिए पनि हेर्दै जाँदा निकै गहिरो अनुभूति गर्न सकिने स्थान रहेछ। त्यहाँ बाट ५-६ किमीको दुरीमा मानसागर तालको बिचमा रहको जलमहल, सो नजिकै इतिहासकै धरोहरको रूपमा रहेको अमिर किल्ला यहाँका घुम्नुपर्ने स्थान रहेछन्। त्यसै गरी मोतिघुङ्ग्री हिल स्थित गणेश मन्दिर सोनजिक रहेको विडला मन्दिर दर्शन गर्न जाँदा दिन भरको थकान समेत मेटाउने रहेछ।केही वर्ष अघाडी पुन निर्माण गरिएको विडला मन्दिरको सुन्दरता अमेरिकाको अक्षय धामको जस्तो देखिने रहेछ।यस्तै प्राचीन, ऐतिहासिक, धार्मिक आकर्षक स्थलहरूको अवलोकन भ्रमण गरी हामी पहिलो दिनको विट मारेमा थियो।

यस्तै अवलोकन भ्रमणकै सिलसिलामा दोस्रो दिन हामी मालविय नगर स्थित यहाँको पुरानो सपिङ्ग सेन्टर गौरब टावर, सो नजिक वर्ल्ड ट्रेड पार्कको अवलोकन तथा जयपुरको चिनो स्वरूप केही सपिङ्ग समेत गर्दै राम निवास बाग स्थित मसाला चौकमा गई छोटो विश्राम लिएका थियौ। पर्यटकहरूको लागी मसाला चौक खाना नास्ताको लागी प्रसिद्ध रहेछ जहाँ प्रवेश गर्न भारु १०को टिकट लाग्ने रहेछ त्यहाँ भित्र छिरे पछि विभिन्न खाना का कोर्टहरू रहेछन्।सफा सुन्दर दृश्य सहित स्वादिष्ट भोजनको लागी यो चौक प्रसिद्ध रहेछ। त्यस पछि सोही नजिक अल्वर्ट हल म्युजियम तथा त्यसमा रङी विरङ्गी लाइट बाट सजाइएको रात्रि कालिन दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लाग्ने रहेछ। हामी पनि यस्तै अवलोकन गर्दै यहाँको प्रसिद्ध हेन्डलुम तथा घरेलु मेड सामानहरूको बिक्री स्थल रजवाडा मार्केटमा छोटो र मिठो सपिङ पश्चात् यहाँको यात्राकै क्रममा देखिएका गोपाल वारी स्थित गणपति प्लाजा, सेन्ट्रल पार्क, रामनिवास बाग स्थित चिडियाखाना, जेएनयु रोडमा रहेको राजस्थान स्टेट युनिभर्सिटी समेत रोड अवलोकन गर्दै आजको भ्रमण अन्त्य गरेका थियौ।

जयपुर भ्रमण पछि हाम्रो करिब एक हप्ताको बसाई भारतको केन्द्रीय राजधानी नयाँ दिल्ली रहेको थियो। एक पन्थ दुई काज भने जस्तै घुमाई तथा विस्तृत स्वास्थ्य जाँच हाम्रो लक्ष्य थियो। दिल्ली सहरको दक्षिण पूर्व अवस्थित गुरगाँउमा रहेको मेदान्त माडिसिटी हस्पिटल हाम्रो स्वास्थ्य जाँचको केन्द्र थियो। करिब ३ दिन को स्वास्थ्य जाँच पश्चात् बाकी समय दिल्ली र यसको आसपासको घुमाई मै बिताएका थियौ।

करिब १५ सय वर्ग किलोमिटर मा क्षेत्रमा फैलिएको दिल्ली जनसङ्ख्या को हिसाबले भारतको सबै भन्दा ठुलो सहर मुम्बई पछि दोस्रो ठुलो सहर दिल्ली हो। भारतमा दिल्लीको ऐतिहासिक सांस्कृतिक महत्त्व रहेको छ। यमुना नदीको किनारामा अवस्थित यो सहर आफ्नै सांस्कृतिक तथा पौराणिक इतिहास छ। यसको प्राचीन इतिहासको प्रारम्भ सिन्धु घाटी सभ्यता सँग जोडिएको छ।हरियाणा राज्यको आसपासको क्षेत्रमा भएको उत्खननमा यसको प्रमाण मिलेको बताईन्छ। कथन अनुसार हाम्रो धार्मिक ग्रन्थ महाभारत कालमा यसको नाम ईन्द्रप्रस्थ थियो जसको प्रातीको लागी सिङ्गो महाभारतको युद्ध भएको थियो।यहाँ कयौँ प्राचीन एवं मध्यकालीन भवन इमारत तथा त्यसका अवशेषहरू देख्न सकिन्छ।

१६३९ मा मुगल बादशाह शाह जहाँले दिल्लीलाई एउटा चारैतिरबाट बाट घेरिएको सहरको रूपमा निर्माण गरेका थिए। जुन १६७९ देखि १८५७ सम्म मुगल साम्राज्यको राजधानी रहेको थियो। पछि १८औँ एवं १९औँ शताब्दीमा ब्रिटिस इस्ट इंडिया कम्पनीले लगभग सम्पूर्ण भारतलाई आफ्नो कब्जामा लियो र कलकत्तालाई भारतको राजधानी बनाएको थियो।१९११ मा अङ्ग्रेज सरकारले नयाँ राजधानी बनाउने उद्देश्यले पुरानो दिल्लीको दक्षिणमा एउटा नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ गरेको थियो। पछि१९४७ मा भारत स्वतन्त्र भए पछि नयाँ दिल्लीलाई भारतको राजधानी घोषित गरिएको थियो। साथै स्वतन्त्रता प्राप्ति पश्चात् दिल्लीमा विभिन्न क्षेत्रबाट मानिसहरूको आप्रवासन सुरु भयो, यसबाट दिल्लीको स्वरूपमा आमूल परिवर्तन भयो। विभिन्न क्षेत्र स्थानका धर्म एवं जातिका मानिसहरू दिल्लीमा ओइरिनुको कारण दिल्लीको सहरीकरण हुनु त थियो नै साथै यहाँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो। आज दिल्ली भारतको मात्र नभई पूर्वी तथा दक्षिण एसियाकै एक प्रमुख राजनैतिक, सांस्कृतिक एवं व्यापारिक केन्द्रको रूपमा विकास भैरहेको देखिन्छ।

मैले पहिले देखेको दिल्ली र अहिले देखेको दिल्लीमा आमूल परिवर्तन भएको पाए। युरोप अमेरिका जस्तो हाइवे, फ्लाई ओभर रोडहरू ठुला ठुला मलहरू यहाँ रहेका छन्।दिल्ली, दिल्ली सहर भित्र मात्र सीमित नभएर दिल्लीदेखि ३५-४० किमीको दुरीमा रहेका सहरहरू मद्ये दक्षिण पश्चिम तर्फ हरियाणा राज्यमा रहेको गुरगाँउ सहर, पूर्व दक्षिण तर्फ उत्तर प्रदेशमा रहेको नोयडा सहर तथा पूर्व तर्फ रहेको उत्तर प्रदेशकै एउटा ठुलो सहर मद्येको एउटा ग़ाज़ियाबाद सहर अहिले केन्द्रीय राजधानी क्षेत्रकै (NCR) रूपमै विकास भैरहेका छन्।

गुरगाँउ भारतको बेङ्लोर पछिको दोस्रो ठुलो आई टी हब तथा भारतकै आर्थिक सहरको रूपमा विकास भैरहेको छ भने मेडिकल टुरिजमको रुममा पनि विकास हुदैछ। त्यस्तै नोयडा आइटी पार्क, विश्व विद्यालय, सपिङ मल तथा मनोरञ्जन स्थानको रूपमा विकास भैरहेकोछ। त्यस्तै ग़ाज़ियाबाद विभिन्न उद्योग धन्दा कलकारखाना स्थलको रूपमा विकास भैरहेकोछ। दिल्लीमा छोटो समयमा हेर्नै पर्ने स्थान मद्ये अक्षयधाम, लोटस टेम्पल, कुतुम मिनार, लाल किला, बिरला मन्दिर, कृष्ण मन्दिर, ईन्डिया गेट, जन्तर मन्तर, जामा मस्जिद, संसद् भवन,राष्ट्रपति भवन, गुरद्वारा, लोदी गार्डेन, गान्धी समाधि स्थल तथा विभिन्न म्युजियम, पार्क, चिड़ियाघरहरु रहेका छन्।

परम्परागत सपिङ गर्नको लागी दिल्लीमा प्रशस्तै पुराना बजारहरू रहे तापनि हामी मुख्यतः दिल्ली हाट, कनाट प्लेस, करोलबाग, सरोजनी नगर, साकेट नगर, चाँदनी चोक आदिमा केन्द्रित थियौ। त्यसै गरी आधुनिक सुविधा युक्त बिदेसी ब्रान्डका सामानहरूसमेत पाइने युरोप अमेरिका कै तुलना गर्न सकिने ठुला ठुला मलहरू जस्तो: सेलेक्ट सिटी वाक मल, डिएफएल ईपोरिओ मल, डिएफएल प्रोमेन्डे मल, अंसल प्लाजा मल, टिडिआई मल, द चाणक्य मल, एम्बियन्स मल, प्यासिफिक मल, सिटी स्वायर मल, मेट्रो वाक मल, जस्ता दर्जनौँ सपिङ मलहरू यस क्षेत्र आसपास रहेका छन्।

दिल्लीकै भ्रमणको क्रममा हामी एक दिन समय निकालेर दिल्ली देखि करिब २४० किमी टाढा रहेको संसारकै ७ औ आश्चर्य मद्येको एक ताज महल हेर्न आगरा सम्म पुगेका थियौ। विश्वकै पर्यटकीय गन्तव्य मध्येको एक भारतको ताजमहल हेर्न बर्षेनी करिब७०-८० लाख पर्यटकहरू आउने रहेछन्। दिल्ली देखि यमुना एक्सप्रेस रोड हुँदै जाँदा २४०किमी दुरी करिब साढे दुई घण्टामै पुग्न सकिने रहेछ। तस्बिरहरूमा सारै सुन्दर देखिने ताजमहल प्रत्यक्ष रूपमा हेर्दा सारै आनन्द आउने रहेछ। तर हाइवेबाट ताजमहल पुग्ने एसेस रोड, पर्यटकको लागी पार्किङ व्यवस्थापन, रेस्टुरेन्टहरू, गिफ्ट सपहरुको भने आगरामा अव्यवस्थित मात्र होइन अभावै देखियो।

यथार्थमा भारतले विगत १५-१६ वर्षमा विकास को ठुलो फट्को मारेको छ। आर्थिक बिकासले जनताको जीवन स्तर माथि उठेको देखिन्छ। विगतमा भारतीय बजारमा घुम्दा चोरी ठगीबाट देखिने डर अहिले खासै देखिदैन्। अझै दिल्लीको मेट्रोको व्यवस्थापन उत्कृष्टै लाग्यो। बाटोमा देखिने साना साना छाप्राहरू अहिले महलमा परिणत हुँदै गई रहेका छन्। एउटा सहर बाट अर्को सहरमा जोडने हाइवेहरूको बिस्तार तीव्र गतिमा भैरहेको देखियो। बजार भित्र यातायातको उपयोग गर्दा उबर, ओला जस्तो एप्लिकेसनले सहजता बनाएको छ। तथापि बढदो जन सङ्ख्याको चापले ट्रफिक व्यवस्थापन र सर सफाईमा भने तुलनात्मक रूपमा व्यवस्थित देखिएन। राजनैतिक नेतृत्वले गर्न चाहेमा छोटो समयमै देशलाई छिटै संवृद्ध राष्ट्र बनाउने सकिन्छ भन्ने हामीले भारत बाट सिक्नु पर्छ साथै सदा भारतबाट हेपिएर दबेर उसको ईर्ष्या, रिस र बिरोध मात्र होईन उसले गरेको प्रगतिको सिको गर्दै त्यो भन्दा माथी उठने प्रयास समेत गर्नु पर्छ।

( यो आलेखमा उल्लेख गरिएका तत्थ्यहरु २०७८ साल फाल्गुन महिनामा जयपुर,दिल्ली तथा आगरा भ्रमण को प्रत्यक्ष अनुभव,विभिन्न समाचार,विक्किपीडिया आदिको आधारमा लेखिएको हो)

बिनोद कुमार पोख्रेल
तुल्सिपुर उमनपा १८, बिजौरी दाङ
हाल- सुकेधारा काठमान्डौ !!
चैत्र, २०७८

प्रतिक्रिया