विज्ञापन व्यवसायलाई नियमन गर्नु पर्ने–सञ्चार डा सचिव अर्याल

इनेप्लिज २०७८ चैत १७ गते २१:५० मा प्रकाशित

 

विराटनगर,१७ चैत।सञ्चार तथा सूचना प्रविधि सचिव डा बैकुण्ठ अर्यालले विज्ञापन व्यवसायलाई नियमन गर्नु पर्ने आवश्यकता रहेको बताउनुभएको छ।

विज्ञापन बोर्ड,बबरमहल,काठमाण्डौँद्वारा आज यहाँले आयोजित विज्ञापन आचार संहिता एवं विज्ञापन राष्ट्रिय नीति सम्बन्धी प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै विज्ञापनमा ठूलो बजेट रहेकाले यसले रोजगारी पनि सिर्जना गर्ने कुरामा जोड दिनुभयो।

सचिव डा अर्यालले लगभग रु.१५ अर्बको व्यवसाय रहेको विज्ञापनलाई व्यवस्थित एवं नियमन गर्न विज्ञापन बोर्डको स्थापना भएको जानकारी दिनुभयो।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनको राष्ट्रिय नीति, विज्ञापनको प्रस्तावित आचार संहिता र लोककल्याणकारी विज्ञापनमो तर्जुमा, प्रकाशन तथा प्रशारण,भुक्त्तानी प्रक्रिया,समस्या र समाधानका बारेमा आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने मन्त्रालयका कर्मचारी रामप्रसाद सापकोटाले विज्ञापन बोर्डले गरेको कामहरुको बारेमा चर्चा गर्नुभएको थियो।

उहाँले बोर्डले अहिलेसम्ममा विज्ञापन एजेन्सी १९६, छापा माध्यम ८८७, रेडियो ४३८,टेलिभिजन ६० सूचीकृत गरी अनलाईनलाई सूचीकरण गर्ने तयारीमा रहेको धारणा राख्नुभयो।

बोर्डका सदस्य चेतन अधिकारी र बलराम थापाले बोर्ड गठन भएदेखि नै यसले आफ्ना काम तीव्र गतिमा बढाएको धारणा राख्दै विज्ञापन राष्ट्रिय नीतिले झन यो विज्ञापन व्यवसायलाई फस्टाउन,नियमन गर्न र रोजगारी सिर्जना गर्न मद्दत गर्ने कुरामा जोड दिनुभयो।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रक लुइँटेल र नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष लीलबल्लभ घिमिरेले राज्यबाट प्राप्त गर्ने लोककल्याणकारी विज्ञापनका शुल्क उठाउन सञ्चार माध्यमले भोग्ने समस्या समाधान हुनु पर्ने बताउनुभयो।

प्रतिक्रिया