एन.आर.एन. मा नेपाली मुलका विदेशी नेपालीहरुको पहिचान खोज्दै

डा. गोबिन्द रावत, टोरन्टो २०७८ चैत १५ गते १६:३४ मा प्रकाशित

आजको मितिमा हामी नेपालीहरु विश्वभरी छरिएर बसेका छौं । यसरी विश्वभरी हामी चारथरी वा वर्गकाका नेपालीहरु बस्ने गर्दछौं । पहिलोमा मातृभूमी नेपालका नेपाली, दोस्रोमा भारतमा बसोबास गर्ने भारतीय नेपाली, तेस्रोमा आफुले चाहेको समयअवधिसम्म ग्रिनकार्ड, पि.आर. वा व्यापार, कामदार भिषामा नेपालबाहिर बसोबास गर्ने गैरआवासीय नेपाली र चौंथोमा विदेशी नागरिकता लिएको नेपाली मूलका नेपाली । पहिलो वर्गका नेपाली खाट्टी नेपाली हुन भने दोस्रो वर्गका नेपालीहरु भारतीय भूमिमा जन्मेहुँर्केका नेपाली भाषा बोल्ने भारतीय नेपाली हुन ।

तेस्रो वर्गमा पर्ने नेपालीहरु अध्ययन, काम, व्यापार वा जीवन परिवर्तन आदि विभिन्न कारणले नेपालबाट दुरदेशमा बसोबास गर्ने नेपालीहरु पर्दछन् । तेस्रो वर्गका नेपालीहरुको कालान्तरमा अन्तिम गन्तव्य नेपालनै हुने गर्दछ । यस वर्गमा पर्ने नेपालीहरु बढी चनाखो पनि हुन्छन् । त्यसैले आफुले चाहेको समयावधिसम्म बसेपछि यिनीहरु नेपाल फर्कने गरे तापनि आफ्नो ग्रिनकार्ड वा पि.आर. लाई दुरस्त राख्न समय–समयमा विदेश आउने जाने क्रमलाई निरन्तरता दिदै जान्छन । अनि रह्यो चौंथो वर्ग, यो वर्गका नेपालीहरु नेपाल छोडेर विदेशी नागरिकता लिई सके तापनि उनीहरुको नेपालसँग अगाध सम्बन्ध गासिएको हुन्छ ।

पछि शेष घलेले अष्ट्रेलियाबाट जीब्रो लप्लप्काए । भवन भट्ट र कुमार पन्तहरु त पोखरीका साना माछा हुन् ।

विदेशको नागरिक बनेर पनि उनीहरु आफुलाई नेपाली भनेर चिन्हाउनमा नै गर्व गर्दछन् । अनि आफु बसेको मुलुकमा जन्मभूमि नेपाललाई चिन्हाँउन विभिन्न प्रकारका क्रियाकलापहरुको आयोजना गर्ने गराउने गर्दछन् । यस वर्गमा पर्ने ८० देखि ९० प्रतिशत नेपाली मूलका विदेशी नागरिकलाई एनआरएन बारे थाहा नभएको वा थाहा भएर पनि वास्ता नगरेकाहरु पर्दछन् । यी नै नेपालीलाई नेपालप्रति बढी आस्था रहेको हुन्छ । यस वर्गमा पर्ने नेपालीहरु प्रत्यक्ष वा परोक्ष तरिकाबाट आफु बसेको मुलुकमा रहेको नेपाली संस्थासँग भने आवद्ध रहेका हुन्छन् । किनभने ती संस्थाहरु यिनीहरुकै पहलमा वा यिनीहरुकै सहयोगबाट स्थापना भएका हुन्छन् । आफु र आफ्ना सन्तानलाई मातृभूमीसँग जोडी राख्न तथा आफुले बोल्दै आएको भाषा तथा मान्दै आएको संस्कृति, धर्म, परम्परालाई आफ्ना सन्तानमा हस्तान्तरण गर्न नेपाली संस्थाको आवश्यकता देखेर स्थापना गरेका हुन्छन् ।

त्यहीँ संस्था मार्फत नेपाली भाषाको अध्ययन, नेपाली गीत संगीतको तालीम, हाम्रो परम्परागत चाँड–पर्वहरुमा समुदायका बीच भेटघाट कार्यक्रम, धार्मिक आस्था बचाँई राख्न मन्दिरको स्थापना आदि विविध कार्यहरु गर्दै आएका हुन्छन् । क्यानडामा नब्बेको दशममा किरण ढुङ्गाना आदिको प्रयासबाट स्थापना भएको पहिलो संस्था नेपाली एशोसिएयन ईन क्यानडा (नेक–सन् १९९१) को स्थापनापछि नै आफ्नो एउटा सामुदायिक भवन बनाउने विचारका साथ अर्थ संकलन कार्य शुरु भई सकेको थियो । तर त्यसले सकारात्मक रुप लिन सकेन । हामी आप्रवासी नेपालीहरुको चाहना भनेको हामी बसेको शहरमा हाम्रो आफ्नै समुदायको भवन होस र त्यसमा हाम्रा परम्परागत क्रियाकलापहरु हाम्रै परम्परागत नियानुसार मनाउन पाऊँ भन्ने रहेको हुन्छ । कतिपय शहरहरुमा त्यहाँका नेपाली समुदायको प्रयासबाट यो सुविधा उपलब्ध भई सकेको छ ।

पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिनाको कार्यकाल रविना थापा र बाँकी समय कार्यकालको अध्यक्षता बद्री केसीले नेतृत्व गर्नेछन् ।

अब एनआरएनको प्रसङ्गमा जाऊ । एनआरएनको बिगत खोतल्यौं भने सन् २००३ मा नेपालबाहिर बसोबास गर्दै व्यापार गर्ने नेपाली व्यापारीहरुको प्रयासबाट स्थापना भएको गैरआवासीय नेपाली संघ अर्थात एन.आर.एन. आज विश्वभरीका नेपालीहरुका लागि संवादको एउटा विषय बनेको छ । आज एनआरएनएको सञ्जाल ८४ देशमा विस्तार भएको छ र यसका एक लाखभन्दा बढी पञ्जीकृत सदस्यहरु छन् । स्थापना भएको उन्नाई वर्षमा यसले छ जना अध्यक्ष फेरी सकेको छ र सातौं अध्यक्ष मा तीनजना एकैपटक मनोनित भएका छन् । पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिनाको कार्यकाल रविना थापा र बाँकी समय कार्यकालको अध्यक्षता बद्री केसीले नेतृत्व गर्नेछन् । यसरी संघलाई विभाजित हुनबाट जोगाउन जो–जसले अध्यक्ष माँगेका थिए सबैमा बराबरी बाँडी दिइएको छ । अर्को तर्फ एनआरएनमा पदको हानाथापले गर्दा अदालतले समेत अक्टुबर २०२१ मा हुने अधिवेशन रोकी दिएपछि शुरु भएको भित्री खेलबाट पूर्व अध्यक्ष शेष घलेले विनोद कुँवरलाई अध्यक्ष बनाएर नयाँ नेतृत्व घोषणा गरेका छन् भने अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले भागवण्डा मिलाउने क्रममा ठूलो संख्यामा पदाधिकारी घोषणा गरेका छन् । यही अनुरुप विधानमा समेत संशोधन गर्ने गरी तीन अध्यक्ष बन्ने गरी सहमतिमा पुगेका हुन् ।

आजको मितिसम्म राष्ट्रको एन.आर.एन. लाई हेर्ने दृष्टीकोण स्पष्ट नभई सकेकोले सबै आप्रवासी नेपाली द्वीविधामा परेका छन् ।

एनआरएनमा अहिले पावर, पैसा, पोलिटिक्स तीन ‘पी’ को प्रभाव परेको छ । त्यसैले विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय समिति पनि मुकदर्शक बन्न बाध्य भएका छन् । पूर्व अध्यक्ष शेष घलेको अगुवाईमा भएको एक पक्षको विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ भने अर्को घोषणापत्र अध्यक्ष मण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले गरेका छन् ।

एनआरएनको सन्दर्भमा राजेश मिश्रले आफ्नो फेसबुक स्टेटसमा यसरी लेखेका छन् – सन् १९९६ तिर गोरखापत्रमा ‘नोटबूक’ नामक साप्ताहिक स्तम्भ लेख्दा मैले पहिलोपटक एनआरएनको सम्भावना माथि चर्चा गरेको थिएँ । सोभियत संघ मरिसकेको थियो । तर त्यतिबेलादेखि व्यापारमा खुट्टा गाडेका उपेन्द्र महतो र जीवा लामिछानेहरु ज्युँदै मात्र होईन, नेपालमा लगानी गर्न जुर्मुराएका थिए । उनीहरुले एक्लै नेपालमा लगानी गर्ने अवस्था थिएन । सात बर्षपछि सन् २००३ मा उपेन्द्र महतोको अध्यक्षतामा एन आर एनको स्थापना भयो । नेपालमा बैदेशिक लगानी सम्बन्धी कानून भर्खर बन्दैथियो । शुरुवाती दिनमा जो एन आर एनको नेता बन्यो, उसको पहुँच सरकारमा आरामले पुग्थ्यो । उनीहरुले ब्याङ्क, जलश्रोत, अस्पताल, संचार आदि मालदार क्षेत्रमा ब्यापक लगानी गरे । अहिले सबै त्यसको फल चाख्दैछन । पछि शेष घलेले अष्ट्रेलियाबाट जीब्रो लप्लप्काए । भवन भट्ट र कुमार पन्तहरु त पोखरीका साना माछा हुन् । यीनीहरु सबैलाई एन आर एन नामको खादा माला ओढेर नेपालमा आफ्नो ब्यापार बढाउनु छ । राजनीतिमा लागेकालाई जिताउनु वा हराउनु छ । आफ्ना प्रहरी प्रमुख र न्यायाधीश नियुक्त गर्नुछ । समग्रमा बाहिर बसेरै नेपाल चलाउनुछ । बिदेश बस्ने हलखोर नेपाली यो कुरा बुझ्दैनन् । यी ठूला व्यापारीका खातिर आफ्नै सानो समुदायमा झगडा लगाएर बसेका छन । एनआरएन नामधारी संगठन आम प्रवासी नेपालीको होईन । मुट्ठीभर पुँजीपतिको हो । (फेसबुकबाट साभार)

 

बिदेश बस्ने हलखोर नेपाली यो कुरा बुझ्दैनन् । यी ठूला व्यापारीका खातिर आफ्नै सानो समुदायमा झगडा लगाएर बसेका छन

एनआरएन नेपाल छोडेर विदेशमा पाईला टेक्ने जो कोही नेपालीका लागि आकर्षक बनेको छ । तीन महिना बाहिर बस्नासाथ एनआरएन बन्न पाउने र चुनावमा पनि उठ्न पाउने । त्यसैले आज जो कोही पनि यसमा गाँभिन आतुर छन् । किन ? यसको उत्तर एनआरएनसँग गासिएकाहरुसँग पनि छैन । यसमा गाँसिएपछि आफ्नो नामको मुन्तिर बहालमा भए पदको नाम आफ्नो कार्यकाल पुरा गरेको भए भूपु फलानो जोडिने भएकोले यसमा चमक देख्ने गर्छन् । एकपटकको नेपाली सधैको नेपाली भन्ने नाराका साथ शुरु भएको एनआरएन एकपटक पद पाएपछि सधै त्यही पद नामसँग झुण्ड्उन पाउने त्यति हो । अनि यसमा लाग्नेहरु सबै आआफ्नो स्वार्थका साथ लागेको प्रष्ट देखिन्छ । एउटा गरिमामय संस्था आज यसका अगुवाहरूको राजनीति स्वार्थका कारण भताभुंग अवस्थामा पुगेको छ । सबैलाई मिलाउन तीन अध्यक्ष एघार उपाध्यक्ष दुई महासचिव, ६ उपमहासचव, दस सचिव र माथिका सबै पदमा महिला प्रतिनिधित्व भनेर दुई–तीनजना मनोनित गरिएको छ । झन कोषाध्यक्षमा त सुनील शाह, लोक दहाल र फणिन्द्र पन्त रोजिएका छन् भने सहकोषाध्यक्षमा कृष्ण तिम्सिना, होम तिम्सिना र दीपक शर्मासँगै लाल केसी र मिलन, नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी, पनि कोषाध्यक्षमा चयन भएका छन् ।

त्यसमा पनि महिला कोषाध्यक्ष भनेर अमृत थापा, यमुना भट्टराई र योगीता थापा थपिएका छन् । यसका अतिरिक्त युवा संयोजकमा अब्दुल बसिद र रविन्द्र खड्का चयन भएका छन् । यसरी दुई सयभन्दा बढी पदाधिकारी बोकेको एनआरएनले यसपटक हात खाली नजाने चिठ्ठा झै जो जो उठे सबैले पद पाएका छन् भने बीचमा छोडेकाहरुले पनि मौकामा चौका हानेर पद पाएका छन् । अबका दिनमा एनआरएनले कार्यक्रम गर्दा वर्तमान र भूतपूर्व पदाधिकारीहरु भेला हुँदैमा हल भरिने पक्का छ । यसो नगर्दा एनआरएनमा पद खोज्नेहरु शेष घलेतिर जालान भन्ने डर पनि हुँदो होला । सन् २००३ देखि शुरु भएको एनआरएन अभियान प्र्रारम्भमा नेपालबाहिरका नेपालीहरुको अविभावकका रुपमा परिचित हुँदै गएको थियो । त्यसबेला जहाँ जहाँ एनआरएन स्थापना भयो त्यहाँ त्यहाँ प्रारम्भमा दुईकालसम्म परिपक्क अनुभवी र बौद्धिक व्यक्तीहरुबाट एनआरएन परिचालन हुँदै गयो । त्यसैको परिणाम हो खुल्ला विश्वविद्यालय । तर त्यसपछि एनआरएनमा पदको लोभ गर्ने व्यक्तीहरुको प्रवेशपछि एनआरएन परिचय नभएककालाई आफु चिन्हाउने माध्यम बन्दै गयो ।

प्रारम्भमा जुन जोश र अठोट देखिएको थियो विस्तारै सेलाउँदे गयो । अनि पुर्व अध्यक्षबाहेक एनआरएनमा भूतपुर्व पदाधिकारीहरुले कतै पनि निरन्तरता दिएको देखिदैन ।

एनआरएनको चमक भनेको जबसम्म पद छ तबसम्म संस्थामा आवद्ध हुन्छन् अनि पद नभएपछि कहाँ छन् भन्ने थाहा नै हुँदैन । यसका लागि हामीले आफ्नै मुलुकको भूतपुर्वहरुलाई हेरे पुग्छ । तपाई हामी अहिले पनि एनआरएनको कार्यक्रममा जाने गर्दैछौं तर पदबाट भुतपुर्व भएकाहरु माथिल्लो पद ताकेका छन् भने देखा पर्छन यदि छैनन् भने कार्यक्रममा नै देख्न गाहे हुन्छ । यो क्षणिकको सामाजिक कार्य गरेर नाम खोज्नेहरु यही एनआरएनमा तेस्रो वर्गका नेपालीहरुलाई मात्रै छ । केहीमात्रामा पदको चाहना हो कि किन हो कुन्नि औंलामा गनिने चौंथो वर्गका नेपालीहरु पनि यसमा गाँसिएका छन् । कतिपय नेपालमा आफ्नो जिऊज्यानको खतरा छ भनेर असायलम लिएर बसेकाहरु जसलाई नेपाल जान पनि बर्जित गरिएका हुन्छन् उनीहरु पनि पद खोज्दै यसका लागेको देख्दा अचम्म लाग्छ । सामाजिक सेवा गर्न पद चाहिँदैन आफु कर्मठ भए पुग्छ । बरु आफु बसेको ठाँउमा भएका संस्थालाई अझ बलियो बनाउने तिर लाग्नु पर्छ ।

आज गैरआवासीय नेपाली संघ अर्थात एनआरएनको गन्तीमा सदस्य राष्ट्र बढ्दै जानु तर सदस्यता घट्दै जानुको कारण खोज्न अनिवार्य हँुदै गएको छ । आजको मितिमा एनआरएनलाई नेपालको राजनीतिले नराम्ररी गाँजेको छ । नअांैं अधिवेशनको बेला देखिएको राजनीति दाऊपेँचको असर त्यसपछिको कार्यकालभरी नै रह्यो । राजनीति खिँचातानीले गर्दा कतिपय मुलुकमा अधिवेशननै हुन सकेन भन्ने गुनासाहरु सुनियो पढियो । नेपालबाहिरका नेपालीहरुका लागि खोलिएको संस्थाको दर्ता नेपालको कानून अनुसार नेपालमा गरिएको छ । नेपालबाहिरका नेपालीहरुले पसिना बगाँएर कमाएको पैसाबाट उठाइएको सदस्य शुल्कबाट काठमाडौंमा केन्द्रको भवन ठडिएको छ । नेपाली मुलका विदेशीको हक हीत र अधिकारको बारेमा एनआरएन सधै मौन बस्दै आएको छ ।

नेपालबाट प्रवासिएर विदेशी भुमीमा बसोबास गर्ने सबै नेपाली आप्रवासी नेपाली हुन् । तर सबै आप्रवासी नेपाली एनआरएन हैनन् । किनभने यसको परिभाषा केलाएर हेर्ने हो भने नेपालबाहिर बसुञ्जेल एनआरएन र नेपाल फर्केपछि नागरिक भन्ने बुझिन्छ । यही परिभाषामा रहेर एनआरएन अघि बढी रहेको छ । विदेशमा बसुन्जेल एनआरएन संस्थामा पद लिएर बस्ने र मुलुक फर्केपछि पार्टीबाट पाउने सरकारी नियुक्ती ताक्ने प्रवृति एनआरएनमा बढ्दै गईरहेको छ । त्यसैले विदेशमा नागरिकता लिएर बसेका नेपालीहरुका लागि एनआरएनको विधानमा त्यति विस्तार विवरण भएको देखिदैन । विदशी नागरिकता लिएर विदेशमा बस्ने नेपालीहरुलाई चाहिने दोहोरो नागरिकता हो । एकपटकको नेपाली सधैको नेपाली कहलाउनलाई दोहोरे नागरिकता चाहिन्छ ।

पिआर व ग्रिनकार्ड लिएर बसेकाहरु त सध्रैको नेपाली हुन । उनीहरुसँग विदेशमा बस्न विदेशी अधिकारपत्र (पि.आर वा ग्रिनकार्ड) छ भने नेपालमा बस्न नागरिकता छ । सम्पत्ति आयआर्जन र भोगचलन नागरिकानुसार गर्न पाउछन् । उनीहरुसँग मताधिकार रहेको हुन्छ । राजनीतिक सोँच र समझ हुन्छ । राजनीतिक पहुँच हुन्छ । आफ्नो दलको झण्डा विदेशमा पनि बोकी हिड्छन् । त्यसैले अहिले नेपालका नेताहरु एनआरएनलाई मताधिकार दिनु पर्छ भनेर नाराका साथ उफ्रिन थालेका छन् । तर दोहोरो नागरिकताको कुरा आउँदा सबै दलहरु मौन बस्ने गर्छन् । विदेशी नागरिकता लिएर बसेका नेपालीहरुको चाहना भनेकोनै देशसँग जोडीरहन दोहोरो नागरिकता चाहन्छन् । तर विदेशी नागरिकता लिएको नेपालीहरुप्रति एनआरएन त्यति गम्भिर भएको देखिदैन भने नेपाली मुलका विदेशी पनि एनआरएनप्रति त्यति विश्वस्त छैनन् । दोहोरो नागरिकताको नाराका साथ स्थापना भएको एनआरएन. नारामा भन्दा बढी विवादमा नै रुमल्लिदै रह्यो । स्थापनादेखि कुमारसम्म जतिजना पनि यसको अध्यक्ष भए सबै व्यापारी नै रहे । आफु बसेको मुलुकमा व्यापार गर्दै आएका यिनीहरुले अध्यक्ष भएपछि उनीहरुको व्यापार नेपालमा पनि शुरु भयो । तपाई हामीले विदेशी नागरिकता लिएपछि त्यसरी सहजै व्यापार गर्न सक्छौं ? यो आफैमा एउटा उनुत्तरित प्रश्न हो । माथि उल्लेख गरिएको राजेश मिश्रको भनाईले यसलाई प्रष्ट गरी दिएको छ । यसरी एनआरएनले दोहोरो नागरिकताको कटन क्याण्डी( बम्बैसानको लड्डु) खुवाएर संस्था कहिलेसम्म चलाउने ।

तर विदेशी नागरिकता लिएको नेपालीहरुप्रति एनआरएन त्यति गम्भिर भएको देखिदैन भने नेपाली मुलका विदेशी पनि एनआरएनप्रति त्यति विश्वस्त छैनन् ।

हामी आप्रवासी नेपाली अर्थात नेपाली मुलका विदेशी भएर विश्वका विभिन्न मुकमा बस्दै आएका छौं । हामी दुरदेशमा आएर पनि आफ्नो भाषा साहित्य परम्परा र संस्कृतिको सम्वद्र्धनमा दत्तचित्त भएर लाग्ने गर्छौ । हामी आआफ्नो शहरमा नेपाल झल्काउने नेपाली घर (समुदायिक भवन) निर्माण गर्न चाहन्छौं । त्यस तर्फ एनआरएन कहिल्यै सोच्दैन । किन ? प्रत्येक कार्यकालमा प्रत्येक मुलुकबाट दश–बिसदेखि तीस–चालिसहजार डलर सदस्य शुल्कबापदको रकम केन्द्रमा जाने गर्छ । यो रकम समयमा पुगेन भने केन्द्रिय अध्यक्षले मिति तोकेर यति दिनभित्र रकम नपुगे राष्ट्रिय समन्वय समिति भंग गरेर तदर्थ समिति बनाउने पत्र काटीदिन्छ । यस वर्षको कार्यकालमा मात्रै क्यानडाबाट २१,६५० डलर केन्द्रमा पठाइएको छ । यो रकम केन्द्रमा पठाउन नपरेको भए वा केही प्रतिशतमात्र पठाउँदा हुने भए धेरै मुलुकमा नेपाली घर (समुदायिक भवन) निर्माण भई सक्थ्यो । त्यस तर्फ एनआरएनमा पद पाएकाहरुले कहिल्यै सोच्दैनन् ।

किन सोच्दैनन् । उनीहरुलाई सोच्नु पर्ने वातावरण हामीले बनाउनु पर्छ । एनआरएनमा सदस्य शुल्क बुझाएर अरुलाई पदमा रमाएको र नेपालको राजनीति गरेको कहिलेसम्म हेरेर बस्ने । चुनावको मिति घोषणा भएपछि एउटा गुटले आफ्नो मान्छे जिताउन सदस्य शुल्क आफै बुझाउने र उनीहरुको मत आफ्नो पक्षमा खसाल्ने प्रवृति बढेको छ । अझ सदस्यता लिनका लागि कुनै मापडण्ड पनि नचाहिने । एयरपोर्टमा ओर्लनासाथ सदस्यता बनाई हाल्ने प्रवृति पनि बढेको छ । कमसेकम केन्द्रले दिएको नियमलाई पालना गरेर सदस्य बन्नेको पिआर÷नागरिकता वा पासपोर्टको कपी राखेमा सही गलत आफै छुट्टिने थियो । तर केन्द्र भने सदस्यसँगै शुल्क बढेको देखेर मौन मक्ख छ ।

 एयरपोर्टमा ओर्लनासाथ सदस्यता बनाई हाल्ने प्रवृति पनि बढेको छ 

अर्को कुरा, हामी एनआरएनको प्रत्येक सभा र अधिवेशनमा नेपालमा लगानिका बारेमा मात्र कुरा गर्ने गर्छौ । चाहे विश्व सम्मेलन होस् वा अन्य मेलमिलापको कार्यक्रम । सबैनै व्यापारिक उद्देश्यका लागि संचालिन कार्यक्रम बन्दै गईरहेको छ । अब त यस्तो लाग्न थाल्यो वास्तवमा एनआरएन व्यापारीहरुबाट स्थापित व्यापारीहरुले मात्र लागनि गर्ने र हामी जस्ताले सदस्य बन्ने र चन्दामात्र दिने संस्था हो । लगानिपछि नेपालमै एनआरएन भवन बनाउने कुरा चल्यो भवन पनि बन्यो । त्यसपछि सदस्य राष्ट्रमा नेपाली घर बनाउने हल्ला चल्यो । तर केन्द्रले त्यस तर्फ राम्ररी पहल गरेको देखिएन । केन्द्रले सदस्य शुल्कको रकम एनआरएनका राष्ट्रिय परिषदलाई नेपाल घरका लागि प्रयोग गर्न भनेर दिनु पर्छ । अनि मात्र एनआरएनको सार्थकता देखिन्छ । नभए माथि उल्लेखित तेस्रो वर्गमा आउने एनआरएन गंगा गए गंगाराम, जमुना गए जमुनाराम भने जस्तै होला । अनि नेपाली मुलका विदेशी नेपालीहरुले आफ्नो संर्घष आफै गर्ने मार्गमा लाग्न सोच्ने छन् ।

आजको मितिसम्म राष्ट्रको एन.आर.एन. लाई हेर्ने दृष्टीकोण स्पष्ट नभई सकेकोले सबै आप्रवासी नेपाली द्वीविधामा परेका छन् । राष्ट्रले लगानिकर्ताका रुपमा मात्र नहेरेर विदेशी नागरिकता लिईसकेका नेपालीहरुको पनि संस्था भएकोले नेपालसँग जोडी राख्न दोहोरो नागरिकताको मुद्दालाई चाँडोभन्दा चाँडो समाधानको बाटो रोज्नु पर्छ । अर्को कुरा एनआरएन नेपालबाहिरका नेपालीलाई चिन्हाउने संस्था होइन यसले नेपालबाहिरका नेपालीलाई नेपालीहरुमाँझ चिन्हाउने काम मात्र गरेको छ ।

त्यसैले एन.आर.एन. ले नेपालबाहिरका नेपालीको अभिभावकका रुपमा अगाडि आएर नेपालीपनको पहिचान नेपालबाहिर गराउनमा त्यहाँका स्थानीय संस्थालाई सहयोग पु¥याउन सक्नु पर्छ । त्यसो भएमात्र यसको सदस्यता बन्नेहरुलाई आफुहरु नेपालसँग जोडी रहेको आभाष गर्ने छन् । त्यो नभएमा अहिले देखापरेको पदको गाईजात्रा भोलीका दिनहरुमा झन बढ्दै जान सक्ने छ । अनि नेपाली मुलका विदेशी नेपालीहरुले नेपालबाहिर नेपालको पहिचान बनाई राख्न आ–आफै जुर्मुराउन नथाल्लान भन्न सकिदैन ।

 

प्रतिक्रिया