विराटनगर,१४ चैत।विराटनगर महानगरद्वारा प्रकाशित ऐतिहासिक विराटनगर र प्राज्ञ बालकृष्ण पोखरेल स्मृति ग्रन्थ पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ।
साहित्यकार प्राडा गोपालप्रसाद भण्डारी र महानगरका प्रमुख भीम पराजुलीले दधिराज सुवेदीद्वारा लिखित ऐतिहासिक विराटनगर र विवश पोखरेलद्वारा सम्पादित बालकृष्ण पाखेरेल स्मृतिग्रन्थको संयुक्त रुपमा लोकार्पण गर्नु भयो।सो अवसरमा प्राडा भण्डारीले नेपालको बाङ्मयका लागि कृति महत्वपूर्ण उपलव्धी भएको चर्चा गर्दै यसको स्वदेश र विदेशमा महत्व रहेका धारणा राख्नु भयो।
विराटनगरका प्रमुख पराजुलीले हाटखालामा रहेको आरोहण गुरुकुलमा नयाँ निर्माण गरिएकोे नाटक घरको नाम बालकृष्ण पोखरेल गरिएको जानकारी दिदै नगरले आगामी दिनमा भाषा तथा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टाहरुलाई सम्मान गर्ने बताउनु भयो।नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले मुलुकलाई आधा दर्जन प्रधानमन्त्री दिएको विराटनगरको ऐतिहासिक आन्दोलनका विषयमा पुस्तकमा विस्तृत रुपमा उल्लेख गर्नु पर्ने बताउनु भयो।
ऐतिहासिक विराटनगर पुस्तकमा विराटनगरको इतिहास, प्रथम नगरप्रमुख, राजनीतिक,आर्थिक,सामाजिक लगायतका विषयहरु समेटिएको लेखक सुवेदीले जानकारी दिनु भयो।यसैगरी स्मृतिग्रन्थमा स्वदेश तथा विदेशका १७९ जना लेखकहरुले स्व.पोखरेलका विषयमा आफ्नो धारणा,व्यक्तित्व लगायत लेखहरुको संगालो रहेको सम्पादक दिवसले बताउनु भयो।
विराटनगरका पूर्व नगरप्रमुख रामकृष्ण भट्टराई,साहित्यकार गंगा सुवेदीले कृतिको प्रकाशनबाट स्वदेश तथा विदेशमा नेपाली भाषा अध्ययनमा सहयोग पुग्ने धारणा राख्नु भयो।
प्रतिक्रिया