काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिकामा एक दिवसीय प्रथम तारकेश्वर साहित्य महोत्सव हुने भएको छ।आगामी चैत १९ गते हुने तारकेश्वर साहित्य महोत्सवमा साहित्य,कला,अध्यात्म र शिक्षाका विभिन्न पक्षमाथि बहस गरिने महोत्सव आयोजक समितिले जनाएको छ।तारकेश्वरको कला,संस्कृति र साहित्यलाई महोत्सवको माध्यमबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा जोड्न,तारकेश्वरको महत्त्व र विविधतालाई प्रचारप्रसार गर्न तथा कला,संस्कृति,भाषा,साहित्य,शिक्षा र समाजसेवाको क्षेत्रमा योगदान गर्ने प्रतिभाशाली व्यक्तिहरूको पहिचान गरि सम्मान गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले बताए।
तारकेश्वरको इतिहासमा पहिलोपटक हुन लागेको महोत्सवमा कविता, गीत,गजल, मुक्तक,तान्का आदि रचनाहरू वाचन हुनेछन् भने विभिन्न विधाका पुस्तकहरू प्रर्दशनीसमेत गरिने भएको छ।यस्तै कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका अग्र्ज व्यक्तित्वहरू तुलसीनाथ घिमिरे, लुमणी आचार्य,धर्मराज अर्याल,विश्वम्भर चन्चल, तीर्थप्रसाद ढकाल,देवेन्द्र अर्याल,डा.घनश्याम पुडासैनी,डा.केशव खड्का,डा.कान्छी महर्जन,सानुबाबु विन्दुकार,ध्रुबराज खड्का,लक्ष्मण बस्नेत,आर के धर्मस्थली,राम सन्जेल, सरस्वती काफ्ले लगायतलाई सम्मान गरिने भएको छ।महोत्सवले तारकेश्वरको कला,संस्कृति,भाषा,साहित्य, कृषि,पर्यटन,सम्पदा,दर्शन, उद्योग व्यवसाय र समग्र सामाजिक विकासमा टेवा पुग्ने दाबी आयोजक समितिले गरेको छ।स्थानीय सााहित्यको बारेमा कार्यपत्र प्रस्तुत हुने भएकाले साहित्यलाई अझ परिष्कृत र बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।महोत्सव सूचकले आयोजना गर्न लागेको हो।
प्रतिक्रिया