विराटनगर,४ चैत।रङ्गको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाउँदै छ।
एकले अर्कालाई रङ्ग र अविर दलेर मनाउने यो पर्व विभित्र उमेर समूहका मानिसहरुले समूह बनाएर मनाउने प्रचलन छ।बालबालिकाहरुले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ।
होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्वीहरु सामेल हुने गरेको पाइयो । होलीमा केही मुसलमान समुदायका युवाहरुले होली मनाउने समूहसँग मिलेर होली पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताउनुभयो।
बहुजातीय,बहुभाषिक,बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास छ।
कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा(होली) तराईका जिल्लाहरूमा आज धुमधामसँग मनाइदै छ।
रङ्गहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार,आफन्त,इष्टमित्र तथा साथीभाइहरू एकआपसमा रङ्गमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ।
फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू हातमा रङ्ग र रङ्गीन घोल पदार्थ लिएर विभित्र भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ।
यसपर्वका लागि बजारमा फलफूल, मासु, रङ्ग र अविरको बिक्री बढेको पाइएको छ भने खसीको मासुको मूल्य केजीमा रु.२०० बढेर प्रतिकेजी रु.एक हजार २०० पुगको छ । ब्रोइलर कुखुराको मासु रु.३८० बाट प्रतिकेजी रु.४५० पुगेको स्थानीय मासु पसले मोहम्मद करियाले जानकारी दिनुभयो।
होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो।होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ।
प्रतिक्रिया