विराटनगर,३० फागुन।कर तिरी नेपाल आउने भारतीय पर्यटक सवारी साधनलाई नेपाल प्रहरीले दुःख दिने गरेको गुनासो सहभागीहरुले गरेका छन्।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश तहमा पर्यटन विकास तथा प्रबर्धन एवं सङ्घसँगको सहकार्य सम्वन्धी अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायीहरुले प्रदेशमा तारे होटलको कोठा सम्वन्धी प्रावधानमा संशोधन हुनु पर्ने,ट्राभल एजेन्सि दर्ताका लागि रु पाँच लाख धरौटीको व्यवस्था खारेज गर्न माग गरेका छन्।
पर्यटक व्यवसायीहरुले प्रदेशमा रात्रिकालीन व्यवसाय २४ घण्टा खुल्ला गरेमा रोजगारीका साथै राजश्व वृद्धि भै आर्थिक चलायमान हुने धारणा राख्नु भयो।
उहाँहरुले प्रदेशको राजधानी विराटनगरबाट लुक्लाका साथै अन्तरप्रदेशीय हवाई सेवा सञ्चालन गर्नुपर्ने,पर्यटन कार्यालयलाई प्रदेशका १४ जिल्लामा विस्तार गर्नुपर्नेमा जोड दिनु भयो।
प्रदेश नं १ का संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूले प्रदेशका पर्यटकीय केन्द्रको विकासका लागि गुरु योजना निर्माण गरिएको बताउँदै पर्यटनलाई रोजगरीसँग जोडि आर्थिक समृद्धि कायम गर्ने धारणा राख्नु भयो।
उहाँले पहाडी क्षेत्रका पर्यटकीय केन्द्रहरुमा सहज आवागमनका लागि सडक विस्तार गरी निजी क्षेत्रको सहयोगमा सुविधा सम्पन्न होटल निर्माण गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गराउने विचार व्यक्त्त गर्नु भयो।
मन्त्रालयका सचिव इश्वरकुमार गिरीले पर्यटन व्यवसाय एक अवसर भएको बताउँदै निजीक्षेत्र र सरकारवीच हातेमालो गरी यस क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र आर्थिक विकासका लागि आगाडि वढनु पर्ने आवश्यक्ता औल्याउनु भयो।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चर्चा गर्दै पर्यटकीय स्थलको सौन्दर्यकरण गर्नुपर्नेमा जोड दिनु भयो।
संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका उप सचिव प्रकाश आचार्यले कार्यपत्र प्रस्तुत गर्दै पर्यटन अर्थतन्त्रको एउटा खम्वा भएको र राष्ट्रिय अर्थतन्त्रमा १० प्रतिशत योगदान रहेको जानकारी दिनु भयो।
संस्कृति,पर्यटत तथा नागरिक उड्डयन मन्त्रालयका राजकुमार दुलाल,संस्कृति तथा पर्यटन मन्त्रालयका शम्भु साह,पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले कार्यपत्र पत्र प्रस्तुत गर्दै मन्त्रालयले प्रदेशका सात स्थानमा पर्यटन पूर्वाधार विकास कार्यक्रम शुरु गरेको जानकारी दिनु भयो।
पर्यटन व्यवसायीहरु भविष श्रेष्ठ,पुण्य भट्टराई,उदयकुमार श्रेष्ठ,भुपाल चाम्लिङ, मन्जित देवान लगायतले प्रदेशमा साहशिक खेलको लागि योग्य भूमि रहेकोले पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सुझाव दिनु भयो।
अन्तरक्रियामा प्रदेशका १४ जिल्लाका होटल व्यवस्थायी, ट्राभल एजेन्सि,साहशिक खेल प्रर्वद्धक लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया