विराटनगर,२८ फागुन।हात्ती पाइले विरुद्ध सेवा गर्ने औषधी मोरङका मानिसहरुले उत्साहका साथ सेवन गरेका छन्।
जनस्वास्स्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित हात्ती पाइले विरुद्धको औषधी सेवन शुभारम्भ कार्यक्रममा सो उत्साह नागरिकले देखाएका छन्।
मानिसको उचाई अनुसार नौ वटा चक्की खान हुने सो औषधी छारे रोग,गर्भवति महिला,सुत्केरी महिला,सिकिस्त बिरामी र दुई वर्ष भन्दा कम उमेरका मानिसले यो औषधी सेवन गर्नु हुँदैन।
जुकाका औषधी समेत खुवाइने यो अभियान मोरङमा १४ दिनसम्म चल्ने र करिब १० लाख मानिसले सेवन गर्ने स्वास्थ्य कार्यालयका अधिकृत धरणीधर निरौलाले बताउनुभयो।उहाँले यो औषधी सेवन गराउन जिल्लाभरि ७३२ जना स्वयंसेवक परिचालन भएको र यसपटकको औषधी सेवन ११ औँ हो भन्नु भयो।
सो अवसरमा इपिडियोलोजी तथा रोग नियन्त्रक महाशाखाका निर्देशक डा चुमनलाल दासले यो औषधी सेवन गर्ने योग्य मानिसलाई कुनै पनि खराब असर नगर्ने भएकाले निर्धक्क भएर औषधी सेवन गर्न आग्रह गर्नुभयो।
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले हात्ती पाइले जस्तो रोगले मानिसलाई अपाङ्गसम्म बनाउन सक्ने भएकाले यो औषधी सेवन गर्न सुझाव दिनुभयो।
कार्यक्रममा प्रदेश नं १ का स्वास्थ्य सचिव डा अनुज भट्टचन र सङ्घीय स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता डा सङ्गीता मिश्राले पनि औषधी सेवनले मानिस जीवन सरल एवं स्वस्थ्य हुने विचार व्यक्त्त गर्नुभयो।
प्रतिक्रिया