साकार,लेकाली,मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान प्रदान गरिने

इनेप्लिज २०७८ फागुन २२ गते २:०८ मा प्रकाशित

वासु शशी स्मृति परिषद्ले नेपाली साहित्यमा क्रियाशील चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

परिषद्को निर्णय अनुसार वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई ‘वासु शशी साहित्य सम्मान–२०७८’, साहित्यकार राधेश्याम लेकालीलाई ‘वासु शशी साहित्य पुरस्कार–२०७७’, कवि तथा निबन्धकार माेमिलालाई ‘वासु शशी साहित्य पुरस्कार–२०७८’ र साहित्यकार ध्रुब मधिकर्मीलाई ‘कुमार–सरस्वती साहित्य पुरस्कार–२०७८’ प्रदान गर्ने भएको छ।

सम्मानित व्यक्तित्व साकार विगत पाँच दशकदेखि कविता,कथा सम्पादन लेखनमा सक्रिय छन,उनकाे एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन्।

विगत चार दशकदेखि सक्रिय साहित्यकार लेकालीकाे कविता,मुक्तक र सम्पादन सहित डेढ दर्जन साहित्यिक पुस्तकहरु प्रकाशित छन्।

बितेको साढे तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील निबन्धकार माेमिलाकाे कविता,निबन्ध सम्पादनसहित एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन्।

विगत साढे चार दशकदेखि सक्रिय साहित्यकार मधिकर्मीकाे कथा,लघुकथा,कविता,सम्पादन सहित एक दर्जन भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन्।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साहित्यकार साकार,लेकाली,र माेमिला मधिकर्मीलाई सर्वसम्मतिले पुरस्कृत गर्ने निर्णय गरेको हो।उक्त सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते प्रदान गरिने र उक्त पुरस्कारको राशि रू. २५,०००।- (पच्चीस हजार) रहेको परिषद्का सचिव प्रद्युम्न जोशीले बताए।

वासु शशी साहित्य पुरस्कारबाट यसअगि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली,मञ्जु काँचुली,बद्री पलिखे,गणेश रसिक,हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल,हरि अधिकारी,कृष्णभूषण बल,काजी रोशन,डा.विष्णुविभु घिमिरे,नरेन्द्रबहादुर श्रेष्ठ,डा.विमल कोइराला,तीर्थ श्रेष्ठ, कणाद महर्षि,उषा शेरचन,गोविन्द गिरी प्रेरणा,शैलेन्दुप्रकाश नेपाल र ईन्दिरा प्रसाई पुरस्कृत भइसकेका छन।

यसैगरी वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त,डा.मोहनहिमाशु थापा,तुलसी दिवस,भैरवनाथ रिमाल ‘कदम’,प्रदीप रिमाल,यादव खरेल,गीताकेशरी,शिव रेग्मी,पर्शु प्रधान,कालीप्रसाद रिजाल कृष्ण जोशी,रमा शर्मा,श्रीधर खनाल,ज्ञान उदास,भागिरथी श्रेष्ठ,कल्पना प्रधान,श्रेष्ठ प्रिया पत्थर र कर्ण शाक्य सम्मानित भइसकेका छन्।

प्रतिक्रिया