स्व.अधिकारी सफल राजनीतिज्ञ–पूर्व प्रधानमन्त्री खनाल

इनेप्लिज २०७८ फागुन १८ गते २३:०५ मा प्रकाशित

विराटनगर,१८ फागुन।नेपाल कम्यूनिस्ट पार्टी एकीकृत (समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले स्व.भरतमोहन अधिकारीले गरेको योगदानलाई नेपाली जनताले सधैँ स्मरण गरिरहने बताउनु भएको छ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनमा आज यहाँ आयोजित स्व.अधिकारीको तेश्रो स्मृति दिवसको अवसरमा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो।

उहाँले स्व.अधिकारी सफल अर्थमन्त्रीको थुप्रै उदाहरण प्रस्तुत गरिसकेको स्मरण गर्दै नेपाली राजनीतिमा सडक र सदनमा पनि उहाँको भूमिकाको प्रसंशा गर्नु भयो।

पूर्वप्रधानमन्त्री खनालले हिमालदेखि तराई तथा मेचीदेखि महाकालीसम्मका नेपाली जनताको गरीवी निवारणमा स्व.अधिकारी महत्वपूर्ण योगदान गरेको चर्चा गर्नु भयो ।

उहाँले नेपालको मैत्री सम्बन्ध भएको राष्ट्रमा राजदूत नियुक्ति गर्न नसक्नु सरकारको असफलता हो भन्दै युके्रेनको विषयमा सरकारले हतारमा दिएको प्रतिक्रिया असंलग्न परराष्ट्र नीति विपरीत हो भन्नु भयो।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादव , सामाजिक विकासमन्त्री राजन राई ,स्व.अधिकारीकी धर्मपत्नी सविता अधिकारी,छोरी लिमा अधिकारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र वस्नेत,प्रदेश अध्यक्ष बलदेव चौधरी,नेका मोरङ उपाध्यक्ष नागेश कोइराला,नेकपा माओवादीका केन्द्रका भोगेन्द्र यादव,फाउण्डेशनका सल्लाहकार कृष्ण पोखरेलले स्व.अधिकारीले जेष्ठ नागरिकलाई वितरण गर्न शुरु गर्नु भएको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म निरन्तरता पाउनुले लक्षित वर्गको सम्मान भएको उल्लेख गर्नु भयो।

सोही अवसरमा पूर्वप्रधानमन्त्री खनालले शिक्षा,स्वास्थ्य,संगीत,खेलकूद,समाजसेवामा महत्वपूर्ण योगदान दिनुहुने चन्द्र थापा,भक्तराज पोखरेल, माधवराज वाना,शान्ति टण्डन,शम्भू साह,मीना जोशी र बेनिगोपाल मुन्दडालाई सम्मान गर्नु भयो।

प्रतिक्रिया