नियात्रा मेरो सर्वाधिक रुचीको विषय हो । पुस्तक होस् या फुटकर, नियात्रा भनेपछि नपढी चित्तै बुझ्दैन मलाई । त्यसैकारणलेपनि पुराना र नयाँ प्रायः सबै नियात्राकारहरूको नियात्राहरू पढ्ने बानी छ मेरो । नेपाली साहित्यको विद्यार्थी भएको नाताले नियात्राहरू पढ्दा नियात्राका सैद्धान्तिक पक्ष र लेखकले दिएको नवीनता समेतलाई विचार गरेर पुस्तकको मूल्याङ्कनपनि गर्छु । डा. दामोदर पुडासैनी ‘किशोर’ का नियात्रा भनेपछि हुरुक्क हुन्छु म ।
डा. पुडासैनीका नियात्राहरूमा सुललित शब्द संयोजन, भाषाको लयात्मक रङ्ग, काव्यात्मक विचित्रता, सांस्कृतिक र भौगोलिक स्वादको निखारता टड्कारो रुपमा पाइन्छ । अर्को शब्दमा भन्दा नियात्राको जादु पाइन्छ— डा. पुडासैनीका नियात्रामा । मन र मथिङ्गल हल्लाउँने क्षमता हुन्छ उहाँका नियात्राहरूमा । पाठकलाई लोभ्याउने, स्पर्श गरिरहने र पाठकलाई बेग्लै चमत्कारी संसारमा प्रवेश गराउँने क्षमता डा. पुडासैनीका नियात्राहरूमा भेटिन्छ । त्यसैले पनि म डा. दामोदर पुडासैनीका हरेक नियात्राका फ्यान हुँ, उहाँका नियात्राको जादूले रौं रौं मा उमङ्गित र आलोकित बन्छु ।
डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास नामको नियात्रा सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गर्दैछ भन्ने थाहा पाएपछि धेरै पटक बजारमा सोध्न पुगेँ म । आखिर बजारमा आइपुगेकै दिन मेरो हातमा पर्दा आपूmलाई धन्य भएको महसूस गरें । ग्रीष्मको नीलो बतास हात परेपछि कहिले पढुँ कहिले पढुँ गरि मन थाम्नै सकिन । किताब समातेको एक घण्टा पछि आफ्नो व्यस्ततालाई अलि पर सारेर पल्टाउन थालेँ नीलो बतासका पानाहरू ।
सुरुमै ‘काँचो रगतको अभिलेख’ शीर्षकले नै मन छोयो । खप्तड जाने तयारीमा रहेका किशोरसँगै अब मपनि नियात्रामा सँगै छु जस्तो लाग्यो । यात्रीका समस्या मेरा समस्या हुन गए । तीब्र गतीमा चल्ने सवारी साधनको आवाज, गाडी चलाउँदा चलाउँदै मोबाइलमा कुरा गर्ने चालक महासयहरू, बेलाबेलामा आफ्नो गती रोक्न नसकि भत्किने पहिरो, ट्राफिक समेत नभएका सडक, शौचालय, बिसौनीका अवस्था, बासी भात खान बाध्य यात्रुहरू, कहिल्यै नधोइएका तन्ना र सिरानी सबै समस्या लेखकले भोगेका समस्या— जति जति पढ्दै गयो ती मेरा समस्या हुँदै गए । ती सबै ठाउँमा मेरो मन लेखक सँगसँगै दौडिरह्यो । भालुवाङ्को भातमा होस् या बीचपानी होटलमा या झिंग्रानको होटलमा यात्रीका समस्या आपैmँले भोगे जस्तै लागिरह्यो । यी समस्याहरू नभएपनी हुन्थ्यो । यी समस्या नभए नेपालको पर्यटन व्यवसाय उँभो लाग्थ्यो कि भन्ने राय लेखक र मेरो ठ्याक्कै मिल्दो छ ।
ग्रीष्मको नीलो बतास पढ्दा पढ्दै लेखक डा. दामोदर पुडासैनी ‘किशोर’सँगै यात्रामा हिँडेजस्तो लाग्यो मलाई । लेखकले यात्रामा रहँदा सहयात्रीको सोचाइ, व्यवहार, जीवनका उकाली ओरालीलाई कति सजीव ढंगले वर्णन गर्न सकेका— म त ताजुव भएँ । लेखकले भेटेका पात्रहरूसँग आफैंले कुराकानी गरेजस्तो लाग्न थाल्यो । लेखकले हिँडेका बाटाहरू र आँखाले छोएका दृश्यहरू आफ्ना आँखा र पैतालाका दृश्यहरू जस्ता लाग्न थाले । ग्रीष्मको नीलो बतासका दृश्य र घटनाहरूमा रमाउँदा यो पुस्तकमै भूलिरहुँ जस्तो लाग्यो । अरु काम र कुराले मन तान्नै सकेनन् । साँझ ढलिसकेको थियो । पुस्तक भुईँमा राखेर बेलुकाको खाना बनाउँन लाग्दा समेत मेरा मनमा नीलो बतास चलिरहेको थियो । पुसको चिसो रात । सिरक देख्ने बित्तिकै निद्रादेवीको काखमा लुटपुटिन थाल्ने म त्यसदिन त्यही अघि आपूmले पढ्दा पढ्दै छोडेको पुस्तक ग्रीष्मको नीलो बतासमा पौडिन पुगिहालेँ । आज मलाई कुनै सामाजिक सञ्जालले तान्न सकेन ।
मैले मोबाइल नै हेरिन । केवल नियात्रीसँग दौडिरहेँ । स्याउलीको चुरीफुरी भन्ने शब्द देख्ने बित्तिकै मलाई कक्षा १० मा पढेको पाठ ताना शर्माको घनघस्याको उकालो याद आयो । डडेलधुरातिर उकालो चढ्दै गर्दा भाकल दिएको सन्दर्भ रीतिका नाममा कुरीति उजागर गर्दा झन मन आनन्दित भएर आयो । भ्रमणमा चिसोलाई बहाना बनाएर फोहोरी बस्ने फोहोर राख्ने गुनासो बढ्दै जाँदा आपैmँलाई व्यङ्ग्य गरे जस्तो लाग्यो । धेरै दिनदेखि बढेको यस चिसोले साच्चै म पनि घर र आपूmलाई फोहोरी राख्दै थिएँ नियात्रा पढ्दै जाँदा आफ्नो मनले भोलि घर सफा गर्ने योजना बनाइहालें । एउटा राम्रो पुस्तकले हरेक क्षेत्रमा कति राम्रो प्रभाव पार्दछ भन्ने उदाहरण मैले ग्रीष्मको नीलो बतासमा धेरै भेटें, भेटिरहें ।
ग्रीष्मको नीलो बतास ज्ञानको नवीन बिम्ब हो, मनोरञ्जनको मीठो भण्डार हो । नेपालका हिमाल देख्नमा जत्ति सुन्दर छन्, त्यो भन्दा धेरै उनीहरूको कित्ता कित्ता मानवको लागि बहुउपयोगी छन् भन्ने निकै सबल रुपमा उजागर गरेको पाएँ ग्रीष्मको नीलो बतासमा । हिमाली सुगन्ध र स्वाद, नद नदीका असीम शक्ति, सौन्दर्य र सभ्यता, जंगल र बस्तीहरूले खोजिरहेको बिराट सम्भावना थाहा पाउँनपनि डा. पुडासैनीको ग्रीष्मको नीलो बतास अब्बल कृति ठहरिएको छ । त्यसै भएर पनि मैले आजसम्म पढेका पुस्तकहरू मध्ये असाध्यै तान्यो मलाई यो पुस्तकले ।
पुस्तकमा बर्णित सेती किनारमा खेत रोपेको दृश्य आँखाभरि सजाउँदै अब त रात प¥यो भन्दा पनि नियात्राले साथ छोड्नै मानेन । भएन अब कति पढ्नु भनि किताब थन्क्याएँ । सपनामा पनि छोडेन ग्रीष्मको नीलो बतासले । झिंग्रानामा काला भाडा माझेको र धामी कामेर बिरामीको उपचार गरेको दृष्यले घचघच्याइएको रहेछ सपनामापनि । त्यही अन्धविश्वासको दृश्य आयो । त्यहीं सुदुर पश्चिमीहरूको देवता र धामीप्रतिको अन्धविश्वासको कारण उही मारकाट भइरहेको दृश्यले चिमोटिरह्यो धेरै दिन सपनामा ।
तेइस वटा नियात्रा समेटिएको यस कृतिका सबै शीर्षक उत्तिकै मन चोर्ने किसिमका छन् । पाठ पढ्दा अरु सबै कुरा भुलेर त्यसैमा केन्द्रित भइन्छ । खप्तडको खसखसमा राजा वीरेन्द्र पटकपटक हेलिकप्टरमा खप्तड आवतजावत गरेको राजाकै कारणले प्रसिद्धी कमाएका खप्तड बाबा भनेर पढ्ने वित्तिकै उनको अनुहार पुरै याद आयो । पुस्तकका पाना पानामा रमाइरहें । छोड्न मन लागेन ।
लेखकलाई मीठो गाली गर्नपनि मन लाग्छ कहिले कहीँ । कति विषयमाथि ध्यान दिन सकेको ? कति धेरै ज्ञान र लेखकसँग । संस्कार, संस्कृतिमा सुधार गर्ने र संसार उज्यालो पार्ने कुराहरूले भरिएको भेटें ग्रीष्मको नीलो बतास । प्रकृति र प्राकृतिक वस्तुबीचको अन्तरसम्बन्ध शहरीकरण आधुनिकतासँगै बढ्दै गएको वायु, जल, ध्वनी, प्रदुषण, जीवहत्या वनफँडानी जङ्गली जनावर, पशु, पूmल आदि कति हो कति कुराको ध्यान । कति धेरै विषयको ज्ञान । भेटेको हरेक पात्रको मन कसरी चोर्न सकेका । त्यति धेरै बुझ्न, त्यति धेरै लेख्न र त्यति धेरै आंकलन गर्दा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ नि । हुनत समाज डो¥याउने लेखक बन्न कहाँ त्यसै सकिन्छ र ? यस्तै मनमोहक र ज्ञानको ज्योतिले भरिएको पुस्तक लेखेरै त हो ।
‘ग्रीष्मका नीलो बतास’ पढ्दै जाँदा कैयौं पटक अरुलाई सुनाइ सुनाई पढ्न मन लाग्दथ्यो । यी राम्रा कुरा घरका अन्य सदस्य र विद्यालयका निर्दोष बालबालिकालाई पनि चिच्याइ चिच्याइ सुनाउन मन लाग्थ्यो । विषय र प्रसङ्ग मिल्दा मिलाइ पनि हाल्थे ।
एक दिन कक्षा कोठामा वातावरण भन्ने शीर्षकमा आपूmले जाने जति शब्दको व्याख्या गर्दै जाँदा दिमागमा फेरी आइ दियो ग्रीष्मको नीलो बतासकै लेखकको विचार । ‘पहिले गाउँका भान्छामा धुवाँ हुन्थ्यो बाहिर स्वच्छ हावा तर अहिले सहरका भान्छा सफा छन् तर बाहिर वातावरण निसास्सिदो हावा यहीं वाक्य सम्झिदै र विद्यार्थीहरूलाई सम्झाउँदै पुरा गरे त्यो कक्षा ।
लेखकले प्रदूषणबाट टाढा जानका लागि पहाड तथा गाउँतिर गई स्वस्थ र फुर्तिलो बन्न सक्ने चेतना दिएका छन् । प्रकृतिभित्र विशाल रहस्य छन् तर त्यसलाई खोतल्न मान्छेको जाँगर र जुक्ति चाहिन्छ भनेका छन् ।
बल्लबल्ल पाथीभराको दर्शन गर्ने निहुमा र इलाम घुम्ने निहुमा पूर्वतिर भ्रमणमा निस्किएकी थिए केही वर्ष अघि म । तर पश्चिम नेपाल मेरोलागि अझै अगम ठाउँ हो । मध्यपश्चिम र सुदुर पश्चिमको पहाडी र हिमाली जनजीवन, महाकाली पश्चिमका छिमेकी भुू–भाग, हिमाल, पहाड र जङ्गली परिवेश सौन्दर्य जीवनशैलीलाई प्रष्टै रुपमा बुझ्न पाएकोमा लेखकलाई फोन गरेर तुरुन्त धन्यवाद दिन मन लाग्यो र डायल गरें लेखकलाई नं ९८५१०९२०७७ मा तर फोन व्यस्त रहेको संकेत आएपछि पुनः पढ्न थालें त्यही पुस्तकको रगतको होली शीर्षक ।
नियात्राले मानिसका स्वार्थी क्रियाकलापले पर्यावरणीय चक्र माथिपारेको अन्धविश्वासका कारण अन्य जीवमाथि गरेको हत्या हिंसा (बलि प्रथा) प्रति जति आक्रोस पोखेको छ त्यतिनै आक्रोस म पढ्दै जाने पाठकका मनले पनि आक्रोस पोख्दै छन् । सुदूरपश्चिम क्षेत्रका महिलाहरूमाथि भइरहेको शोषण, बलिप्रथा, धामीझाक्री प्रथा, अशिक्षा कुपोषण, बेरोजगारी जस्ता समस्याले त्यस भेगका मान्छेहरू मान्छेको स्तरमा अघि बढ्न गाह्रो परेको यथार्थ बताउँदा लेखकले पटक पटक मन दुःखाएका छन् । लेखकले गरेका वर्णन पढ्दा मेरा पनि आँखा रसाए । यस्तो प्रथा जसरीपनि हटाउने प्रणमा म पनि समावेश भएँ र त्यस्ता कुतत्व विरुद्ध लड्न दह्रो मुटु बनाएँ । त्यही बेला ‘मम्मी किन रुनुभएको भन्ने छोराको आवाज सुनेपछि आँशु पुछेँ ।
प्रकृतिलाई संरक्षण गरौं प्रकृति आफ्नै गतिमा निरन्तर हिँडिरहेको छ । प्यासलाई विथोल्ने काम नगरौं । जीव र वनस्पति पनि बाँच्ने अधिकार छ । आफ्नो स्वार्थ पुरा गर्नका निम्ति जीव र वनस्पतिको हत्या गर्न नहुने कुरा नियात्रामा पाएँ । संसार मान्छेको मात्र होइन । सबै जीव र बनस्पति रमाए मात्र मान्छेको मन उज्यालो हुने हो ।
मानिस प्रकृति र जीव विचको अन्तरसम्बन्ध यस नियात्रामा प्रष्ट पाइयो । मानिसले आफ्नो सुविधाका लागि प्राकृतिक स्रोतको उपयोग गर्छ । प्राकृतिक स्रोतको उपयोग गर्दा विवेक पु¥याउनु पर्छ । मानिसका अविवेकी क्रियाकलापले प्राकृतिक स्रोतमा विकृति आउँछ । प्राकृतिक वातावरणमा विकृतिले विसङ्गति देखा पर्छ । यसको प्रतिफल मानिस स्वयम् सङ्कटको भूमरीमा फस्छ भन्ने सन्देश नियात्रामा पाएँ ।
सुदुर पश्चिमेलीहरूका कथाव्यथा लेकका जीवन बाँच्नेहरूका औषधी पानी अखाद्यान्न जस्ता अत्यावश्यक चिजबाट बञ्चित हुनुपर्ने अवस्था, पुरुषहरू तास खेल्ने र रक्सी खाने दिनचर्या, महिलाहरू घर र कृषि, पशुपालन काममा जीवन धान्नु पर्ने यथार्थ चित्रण नियात्राका शब्द शब्दमा पाना पानामा पाएँ ।
अन्त्यमा नियात्रामा दुर्गम क्षेत्रको दौडाहमा जंगली जनावरको भय हुने दुर्गम हिमाली क्षेत्रमा जीवन धान्न धेरै सङ्घर्ष गर्नुपर्ने, कामका खोजीमा भारततिर लाग्ने तर प्रतिफलमा एड्स लिएर फर्किने जमात लेकाली पर्यावरण, यात्रामा भेटिएका डोटेली भाषाशैली र रहनसहन, लेकले लाखौं पर्यटकलाई तान्न सक्ने आकर्षण शक्ति रहेको, विकासे कायक्रम कागजी पानामा मात्र रहेको, स्वास्थ्य, सञ्चार, शिक्षा, यातायातका अभाकवमा भोग्नुपरेका पीडा दुरुस्त उतारिएका सवल चित्र आँखा देखाउन सक्ने उत्कृष्ट नियात्रा का रुपमा मैले दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास नियात्रा पाएँ ।
डा. दामोदर पुडासैनीको नियात्रा पढ्दा साँच्चै यात्रा गर्न गाह्रो छ र नियात्रा लेख्न झन् कठिन छ जस्तो लाग्छ । यात्राको सर्सती वर्णन त जोसुकैलेपनि गर्ला, तर, नियात्रा जस्तै नियात्रा पढ्न डा. दामोदर पुडासैनीकै नियात्रा पढ्नुपर्छ भन्ने मेरो ठम्याई छ । ग्रीष्मको नीलो बतास त्यसको अब्बल उदाहरण हो ।
प्रतिक्रिया