एनआरएनए मतदाता नामावलीप्रति प्रमुख संरक्षक घलेले जनाए आपत्ति (पत्र सहित)

इनेप्लिज २०७८ फागुन १५ गते १२:३५ मा प्रकाशित

काठमाण्डौ (जीएनएन) — गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको प्रयोजनका लागि विधान विपरितका मतदाता राखी मतदाता नामावली प्रकाशित गरिएको भन्दै संघका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले अवैधानिक मतदातालाई सूचीबाट हटाउन माग गरेका छन् ।

संघका प्रमुख निर्वाचन अधिकृतलाई आइतबार एक पत्र लेख्दै प्रमुख संरक्षक घलेले विधान विपरित चयन भएका १ हजार बढि मतदातालाई सूचीबाट नहटाएसम्म निर्वाचन प्रकृया अगाडी नबढाउन समितिलाई आग्रह गरेका छन् ।

घले संघले हालै गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत हुन् । डेलिगेट्स (प्रतिनिधि) सूचीको विषयमा विवाद भएपछि संघको महाधिवेशन अन्यौलमा पर्दै आएको थियो । उच्चस्तरीय समितिका सदस्य समेत रहेका अध्यक्ष कुमार पन्तले एक पक्षीय रुपमा विवादित मतदाता सूची निर्वाचन समितिलाई पठाए पछि विवाद चर्किएको थियो।

उच्चस्तरीय समितिद्वारा संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित समितिले कुल ३ हजार ६ सय मतदातामध्ये करिव एक हजार मतदाता तोकिएको मितिभन्दा पछि थपिएको निचोड निकालेको थियो । झण्डै एक हजार मतदाताको वैधानिकतामाथि प्रश्न उठिरहेको बेला संघको केन्द्रीय सचिवालयले समितिको प्रतिवेदन आउनु अगाडी नै एकतर्फी रुपमा निर्वाचन तालिका प्रकाशन गरेको थियो ।

निर्वाचन समितिलाई पत्र लेख्दै पूर्व अध्यक्ष घलेले परिमार्जित सूचीअनुसार मात्र निर्वाचन अगाडी बढ्न सक्ने उल्लेख गरेका छन् ।

३ हजार ६ सय जना मतदाता कायम गर्ने संघको निर्णयको वैधानिकता पुष्टि हुन नसक्ने भन्दै उनले विवाद समाधान उच्चस्तरीय समितिले सचिवालयमा उपलब्ध तथ्यका आधारमा तय गरेको परिमार्जित सूचीअनुसार चुनाव हुनुपर्ने बताएका छन् ।

संस्थापन पक्षले विधान विपरित एकपक्षीय रुपमा मतदाता छनौट गरी अन्याय गरेको भन्दै असन्तुष्ट समूहले निर्वाचन प्रकृया बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायत बहुसंख्यक देशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले एनआरएनए नेतृत्वबाट अन्याय भएको भन्दै विरोध जनाउँदै आएका छन् । असन्तुष्टीका आवाज बाहिर आएसँगै परराष्ट्र मन्त्रालयले निष्पक्षरुपमा निर्वाचन गर्न लिखित निर्देशन दिएको थियो ।

तर अध्यक्ष कुमार पन्तले उक्त निर्देशन विरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

उक्त रिट उपर अन्तिम सुनुवाई छिट्टै हुने अपेक्षा गरिएको छ।

पिडिएफमा हेर्न यहाँ थिच्नु होला :

Letter-to-CEC-Shesh-Ghale-27.02.2022

प्रतिक्रिया