माध्यमिक तहको कक्षा ९ र १० पढ्दा नेपाली विषयको किताबको नाम महेन्द्रमाला थियो ।कक्षा ९ का लागि भाग एक र कक्षा १० का लागि भाग दुई गरी दुईओटा किताब थिए महेन्द्रमाला भाग १ र २ ।यी किताबका लेखक तथा सम्पादक थिए तारानाथ शर्मा ।हामीलाई नेपाली विषय पढाउने मुक्तिराम पौडेल गुरुले भन्नुभएको थियो, “जुन पाठको लेखक लेखिएको छैन, ती ती पाठका लेखक तारानाथ शर्मा हुन्।” हामीलाई सप्रसङ्ग व्याख्या गर्दा लेखकको नाम चाहिने हुन्थ्यो।यी किताबमा “घनघस्याको उकालो काट्दा” र “पेरिस रङ्गिन्छ रङ्गैरङ्गमा” जस्ता पाठमा लेखकको नाम थिएन।“यी पाठ तारानाथ शर्माले लेखेका हुन्” भनी हामीलाई नेपाली विषय पढाउने मुक्तिराम पौडेल गुरुले भन्नुभएको थियो।
एसएलसीपछि क्याम्पस पढ्न गएपछि तारानाथ शर्माका सम्बन्धमा बढी जानकारी मिल्यो।साहित्यको अध्ययन गर्दै गएपछि मैले कक्षा ९ र १० मा पढेका “घनघस्याको उकालो काट्दा” र “पेरिस रङ्गिन्छ रङ्गैरङ्गमा” जस्ता पाठ यात्रा साहित्य रहेछन्, वर्तमान समयमा नियात्रा भनिदोरहेछ । तारानाथ शर्माको “बेलायततिर बरालिँदा” भन्ने पुस्तक यात्रा साहित्य रहेछ । यसलाई बालकृष्ण पोखरेलले “नियात्रा” भनिदिएपछि नेपाली साहित्यमा पनि यात्रा साहित्यलाई नियात्रा भन्न थालिएको रहेछ । मलाई यात्रा सम्बन्धी निबन्ध वा प्रबन्धलाई नियात्रा भनिने कुरा त पछि नै जानकारी भएको हो।
++++
नियात्रा साहित्यको गद्य विधाअन्तर्गतको निबन्ध विधाकै एक भेद हो।यात्रासाहित्य,यात्रावृत्त,यात्रावर्णन,यात्रावृत्तान्त,भ्रमणवृत्तान्त,भ्रमणसाहित्य,यात्राविवरण,यात्रानिबन्ध, यात्रासंस्मरण जस्ता अनेकन शब्दले नियात्राकै प्रतिनिधित्व गर्छन्।यात्रामा साहित्य मिलेपछि यात्रासाहित्य अर्थात् नियात्रा बन्न जान्छ।यात्रामा देखेका,भोगेका,अनुभूति गरेका विषय,परिवेश,प्रकृतिलाई संस्मरणात्मक र कलात्मक शैलीमा अभिव्यक्ति दिएमा नियात्रा हुन पुग्छ।
नियात्रामा व्यक्त वर्णन यथार्थ भए पनि निजात्मकता र लेखकीय उपस्थिति भने अनिवार्य हुने गर्छ।नियात्रामा लेखकको सजीव उपस्थिति हुन्छ,यात्रालाई लेखकले सजीवता प्रदान गर्छ।लेखकले यात्रामा देखेका,भोगेका र अनुभूत गरेका सामाजिक,साँस्कृतिक,धार्मिक,आर्थिक,राजनीतिक,जनजीविका,ऐतिहासिक जस्ता विषयलाई दस्तावेजीकरण गर्छ।यसको शैली आत्मापरक र आख्यानात्मक हुने गर्छ।लेखकीय शैलीअनुसार प्रस्तुतीकरण भिन्न हुने गर्छ।
नियात्रामा लेखकको सजीव उपस्थिति हुने हुँदा लेखक तटस्थ रहन सक्दैन,लेखकीय आत्मचेतना र दृष्टिकोणले गहन प्रस्तुति हुने गर्छ।आत्मपरक शैली भएकाले लेखकीय प्रस्तुति रागात्मक पनि हुने गर्छ।प्रस्तुति रोचक बनाउन विवरणात्मक हुनबाट बचाउन आख्यानको सहायता लिनुपर्ने हुन्छ।नियात्रामा कल्पना तत्त्व त हुनैपर्छ, कल्पना तत्त्वसँगै वस्तुतत्त्व पनि उत्तिनै महत्त्वपूर्ण हुन्छ।तर, नियात्रालाई स्वैरकल्पना (फेन्टेसी) हुनबाट बचाउन लेखक सावधान हुनैपर्छ।विषयको प्रस्तुतिमा लेखक इमान्दार हुनै पर्छ। नियात्रामा वर्णन रोचक, कौतुहल र मनोहर हुनुपर्छ।
+++++++
शास्त्रीय छन्दमा कविता लेख्ने र लयात्मक शैलीमा वाचन गर्ने भवानी खतिवडा पहिलो पटक ‘घामभन्दा पहिले’ नामको नियात्रा कृति लिएर पाठक माझ आएका छन्।शिखा बुक्सले प्रकाशन गरी बजारमा ल्याएको यो कृति फागुन ८ गते सार्वजनिक पनि भएको छ।
कुल १४६ पृष्ठको यस कृतिमा नियात्राका तीनओटा खण्ड छन्ः मुक्तिनाथ–यात्रा, हलेसी–यात्रा र रारा–यात्रा।मुक्तिनाथ–यात्रा खण्डमा मुस्ताङसितको भेट,आमाको रहर, मुक्तिनाथको सेरोफेरो र घामभन्दा पहिले शीर्षकमा यात्राको वर्णन गरिएको छ।हलेसी–यात्रा खण्डमा तीन तालमा हलेसी र रारा–यात्रा खण्डमा बुल्बुला हराएको बुल्बुले, काँक्रेविहारको काखमा, दैलेख म तिमीलाई माया गर्छु, हितैषीले जुराएको रारायात्रा, दही नबग्ने दहीखोला, पिलीको पीर खालीको खुशी, रारासँग मनका कुरा, छत्तीससँगको भेट र खलङ्गाको रात र नर्क–कुण्डको ढोकैबाट शीर्षकमा यात्रा वर्णन र अनुभूति अटाएएको छ।
मुक्तिनाथ–यात्रा खण्डमा मुक्तिनाथ जाने आमाको रहर र आमालाई मुक्तिनाथ तीर्थयात्रामा साथ दिने लेखकको चाहनाअनुसार काठमाडौंबाट रात्री बसमा नै यात्रा तय भएको हुन्छ । आमाको स्वास्थ्यका कारण पोखरामा नै छाडेर लेखकसहितको टोली अगाडि बढ्छ र बस दोस्रो दिन दाना हुँदै अगाडि बढ्दा मुक्तिनाथको सेरोफेराअन्तर्गत मुस्ताङको प्राकृतिक वातावरणको चर्चा भेटिन्छ ।घामभन्दा पहिले शीर्षकमा मुक्तिनाथको दर्शन गरेको भोलिपल्ट सूर्यादय नहुँदै यात्राबाट फर्केको उल्लेख छ । फर्किदा लेखकले देखेको, भोगेको र अनुभूति गरेक विषयवस्तु यस शीर्षकमा समेटिएको छ।यस नियात्रा पुस्तकको नामाकरण पनि यही शीर्षकबाट गरिएको छ ।
हलेसी–यात्रा खण्डमा लेखकले हलेसी तीर्थयात्राको वर्णन गरेका छन् । यस खण्डमा एउटा मात्र शीर्षक तीन तालमा हलेसी रहेको।
रारा–यात्रा खण्ड यस नियात्राको सबैभन्दा लामो खण्ड हो।कार्यालयीय कामका सिलसिलामा सुर्खेत र दैलेखको भ्रमणमा निस्केका लेखक हितैषीले जुराइदिएको रारा यात्रालाई विभिन्न शीर्षकहरू समेटेका छन् । कर्णाली अञ्चलका कालिकोट,जुम्ला र मुगुको दृश्यावलोकन गर्दै देखेको, भोगेको र अनुभूति गरेका विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
++++
लेखक निजामती कर्मचारी हुन्।कार्यालयीय कामका सिलसिलामा देशका विभिन्न स्थानमा भ्रमण गर्दाका नियात्राका माध्यमबाट प्रस्तुत गर्न लेखक निकै खप्पिस देखिन्छन्। लेखक निजामती कर्मचारी मात्र होइनन्,कृषि क्षेत्रको प्राविधिक र निजामती कर्मचारीको टेड युनियनकर्मी पनि हुन्।लेखकले ठाउँ ठाउँमा अधिकारका कुरा मात्रै उठाउँदैनन्, कर्तव्य पनि सम्झाउन सफल छन्।
भाषा लयात्मक, सुक्तिमय छ।यात्राको वर्णन साह्रै मन छुने किसिमले गरिएकोछ।लाग्छ यात्रीले मस्तिष्कले बोलिरहेका छैनन्, मन र हृदयले बोलेका छन्।लेखनमा कृतिमता छैन,लेखक वर्णनमा इमान्दार देखिन्छन्।पाठकलाई यात्रीले आफूसँगै हिँडाउन सक्नु लेखकको लेखकीय कौशल हो।कृतिभित्र भाषिक लालित्य भेटिन्छ।लेखक एक सफल कवि पनि भएकाले नियात्राका केही स्थानमा लेखकका कविताले फुर्ने अवसर पाएका छन्।
नियात्रामा प्रशस्त उखान टुक्काको प्रयोग गरिएको ।यस्तो प्रयोगले विषयवस्तुको प्रस्तुतिमा मिठास ल्याएको छ।जस्तैः चितायो एक थोक,हुन्छ अर्कै थोक।देखिन्छ एक थोक, पाइन्छ अर्कै थोक !(पृ.७), माल प्रशस्त पाएर पनि चाल पाउन कहिल्यै सकेनौँ (पृ.६०), भुइँको एक मुठी उठाउन खोज्दा आफ्नो पाल्टाभरिको हीरा पोखिएर खेर गएको (पृ.६०), धान खाने मुसो अनि माफी माग्ने चाहिँ भ्यागुता (पृ.७४),जो नाच्छ ऊ धेरै बाँच्छ (पृ(८८), शोक न सुर्ता भोक न भकारी (पृ.१२७),हात्तीलाई कट्टु लगाइदिनू (पृ.१२८), रात रह्यो अग्राख पलायो (पृ.१३८)।
यात्रा वर्णनका सिलसिलामा लेखक स्थानीय बासिन्दासँग निकै भलाकुसारी गर्न रुचाएका छन्।भलाकुसारीका सन्दर्भमा स्थानीयले बोलेका भाषालाई त्यहीको लवजमा टपक्क टिपेका छन् लेखकल ।यस्तो टिपाइले प्रस्तुतिमा मिठास थपेको छ,पाठकलाई आफू त्यहीँ नै पुगेको अनुभूति गराएको छ।लेखकले मार्फाको थकाली लवजलाई यसरी उल्लेख गरेका छन्ः “मेरो घार ता मार्फा ।” “स्याउ मात्राइ काँ फाल्छा रा ? आलु फाल्छा,उवा फाल्छा,फापर फाल्छा,जिम्फु पानि फाल्छ नि !” “छोरीको घार छा पोखरामा । उसाइको घार गा’रा आको।” “मार्फामा दुईजाना छोरा छा, ब्वारी छा,नातिनातिना बस्छा, आनि गार्को बुढा पनि छा.. हा हा हा (पृ.११)।” “हुटेल गार्छा।बाउले पनि त्यै गा¥यो, छोराहारु पनि त्यै गार्दैछा।” “मेरा घार ऊ त्यो हो । म झार्छ आबो । तिमी राम्रोसिता जाऊ है ! (पृ.१२) ।” कति जीवन्त बोलीचाली । मुस्ताङका थकाली तथा गुरुङको जीवन्त बोली भेटिन्छ कृतिभित्र।
उदयपुरकी बिष्टिनी सानिमाको बोलीमा पनि गाउँले भाषाको सुवास आएको छ । जस्तैः “हन ए काठी, यति छिटै थाक्यौ कि क्या हो ? किन अँध्यारो मुख ला”की हँ ? छिटो हिँड (पृ.३९) ।” सासुआमा जङ्गिदाको भाषामा पनि औधि मिठास पाइन्छ।जस्तैः “हन थिति, धर्मको ख्याल गर्नुपर्छ कि पर्दैन हँ ? तिमेर्लाई जतिखेर मन लागो उतिखेर फ्यास्स जाने ठाउँ हो त्यो ? यो दुईजिउकी छे, था छ कि छैन ? एस्ता बेलाँ माहादेउको दर्शन गर्न मिल्दैन भन्ने जान्नुपर्दैन? (पृ.४१)” । “रारा ह्याँबाटै बग्न्याँ हो । यिन्लाई त हाम्ले बालखैमा सिकाउन्याँ नै यै हो, मेडम (पृ.११०) !” भुल्भुले गाउँकी साहुनीले बोलेका गाउँले भाषाको मिठासलाई लेखकले उल्लेख गरेका छन्ः “केलाई नपाउनी हो र ? तपैँहरूलाई नि खाना खुवाउनी भनेर पर्खिरा हो केरे । तिमी दाल भन्दिरैच्यौ, हाम्ले त पोइतो भन्नी हो क्या ! अब त बुझेऊ होला नि Û हाहाका…(पृ.१२७) ।” तातोपानी कुण्डमा भेटिएकी आमाको बोलीमा स्थानीय सुवास भेटिन्छः “ह्याँ न्वाएपछि दुखबिमार हराइजान्छ, ह्याँ न्वाँउनेलाई भगमान्ले रच्छे गर्छन् पृ.१३१) ।”
लेखकले नेपालको अस्तव्यस्तता र जिम्मेवारी नलिने प्रवृत्तिप्रति ठाउँ ठाउँमा तिखो व्यङ्ग्य कसेका छन् । जस्तैः गल्ती गरेपछि कसैले जिम्मेवारी लिनु पर्दैन नेपालमा । तलदेखिमाथिसम्मै कोही पनि जिम्मेवार नभएर त देशको यो दुर्गति भएको छ (पृ.५४) । यही देशकी नागरिक हुन् यिनी र यही देशकी नागरिक हुन् वर्तमान राष्ट्रपति पनि । कति फरक छ यी दुईबीचको जीवन । शीतल निवासले पढ्ला त यी र यीजस्ता नारीको जीवन कथा ? बालुवाटारले बुझ्ला त यिनको व्यथा? (पृ.९७–९८) । अघाएका एउटा राजा बर्खास्त भए । सयौं भोका राजा सिंहासनमा चढे (पृ.९९) । व्यवस्था फेरिएर के चाहिँ भयो त? मानसिकता पटक्कै फेरिन सकेन । नियम फेरिएर के हुँदो रहेछ छ ? नियत फेरिएन । आखिर यो राजनीतिले पनि परिवादको नीति नै त अवलम्बन ग¥यो नि (पृ.९९) !
लेखकलाई नेपाली कविता र गीतको प्रशस्त जानकारी भएका कुरा यात्रा वर्णनका विभिन्न ठाउँमा दृटान्तका रूपमा उल्लेख गरेबाट झल्किन्छ । हुनतः लेखक सिद्धहस्त कवि नै हुन् । विभिन्न ठाउँको वर्णन गर्दा आफूले सुनेका गीत तथा कविता सम्झिन्छन् । कालिकोट सदरमुकाम मान्मालाई देखेपछि लेखकले गीतकार तथा गायक प्रेमप्रकाश मल्लको पोखरा त साँच्चिकै पो पोखरा नै रैछ (पृ.९६) लाई सम्झिन्छन् । श्रमिकको श्रमलाई देख्दा खुशीराम पाख्रिनको मजदुर गीतको सम्झन्छन्ः “गैँती बेल्चा उचालेर पहाडलाई छिचोलेर, डाँडाकाँडा बाटो बनायौं (पृ.१२४)”, तिला नदीको चञ्चलता र कञ्चन जल देखेपछि लेखकले महाकाव्यकार उमानाथ शास्त्री सिन्धुलीयको कविता सम्झिन्छन्ः “कडा घामले चन्द्रमा वैलिँदैन, हिमाली नदी भेलले मैलिँदैन (पृ.१०४) ।” गायक खेमराज गुरुङको ‘वारि जमुना, पारि जमुना’ गीतलाई तिला नदीसँग सन्दर्भ मिलाएर लेखकले सम्झिन्छन्ः ”मरेदेखि तिजाजीलाई बाँचे हजुरीलाई (पृ.१०५) ।” सुर्खेतको बुल्बुले तालमा बुल्बुल नदेखेपछि निर्मोही व्यासको कविता उल्लेख गर्दै त्यसको जवाफ पनि दिएका छन् लेखकलेः “बताऊँ म के आज के हातलमा छु ? म उल्लासको बुल्बुल तालमा छु (पृ.६१) ।”
लेखक आफैँ कवि भएकाले प्राकृतिक सुन्दरता देख्ने बित्तिकै कविता फुरिहाल्छ । बिहानीमा रारा ताललाई देखेपछि लेखकले कविता लेख्छन्ः “यहाँभन्दा दिव्य भूमि मैले टेक्नु छैन, यहाँभन्दा नौलो स्वर्ग मैले देख्नु छैन (पृ.११८)
नियात्राका विभिन्न खण्डको कालक्रम मिलेको पाइँदैन । पहिलो खण्ड ‘मुक्तिनाथ–यात्रा’ वि.सं. २०७४ सालको रहेछ । दोस्रो खण्ड “हलेसी–यात्रा” वि.सं. २०७६ सालको रहेछ । “रारा–यात्रा” वि.सं.२०७५ सालको रहेछ । कालक्रमअनुसार दोस्रो खण्डमा “रारा–यात्रा” र तेस्रो खण्डमा “हलेसी–यात्रा” हुनुपर्ने हो ।
नियात्रा कृति पढ्न सुरु गर्दा नै दाँतमा ढुङ्गा लाग्छ । नियात्रा–क्रमको ‘मुक्तिनाथ–यात्रा’ खण्डमा ‘मुस्ताङसितको भेट’ पहिलो शीर्षक हो तर यो शीर्षकको यात्रा वर्णन कृतिभित्र कतै पनि भेटिँदैन । नियात्रा–क्रममा यो शीर्षकलाई पृष्ठ १ भनिए पनि पृष्ठ १ मा ‘मुस्ताङ–यात्रा’ लेखी मुक्तिनाथ मन्दिरको फोटो राखिएको छ । ‘मुस्ताङ–यात्रा’ नियात्रा–क्रममा उल्लेख गरिएको पनि छैन, ‘मुक्तिनाथ–यात्रा’ उल्लेख छ । यो कृतिको उल्लेख गर्नैपर्ने त्रुटि हो ।
कृतिमा शब्तातीत, वर्णनातीत र कल्पनातीत शब्द पटकपटक दोहोरिएका छन् । नियात्रा कृतिभित्र व्याकरणगत त्रुटि खासै नभए पनि तिर्थकीकरणमा भने खासै ध्यान दिइएको पाइँदैन । जस्तैः बाटोमा (पृ.२२), एकसाताको लागि (पृ.५३), भएकोले (पृ.५४), पु¥याउनको लागि (पृ.५५), वासको लागि (पृ.५६), जलाउनको लागि (पृ.६५), बच्चोकी (पृ.९७), बच्चोले (पृ.९७), अरूको लागि (पृ.१४३) ।
++++
मुक्तिनाथ नगएका व्यक्तिलाई मुक्तिनाथ मात्र होइन बेनीदेखि मुस्ताङ हुँदै मुक्तिनाथसम्मको यात्रा गराउन सफल छ पुस्तक घामभन्दा पहिले । हलेसी यात्रा नगरेकाहरू आफ्नै साथमा लैजान्छ तीन तालमा हलेसी खण्डले । पाठक आफैँ हलेसी पुगेको अनुभव गर्दछ । रारायात्राका विभिन्न शीर्षकले कर्णालीका तीन जिल्ला कालिकोट, जुम्ला र मुगुमा नै पु¥याउँछ, रारा तालमा डुङ्गासँगै घुमाउँछ, कर्णालीका कठिन भूगोलसँगै हिँडाउँछ, कर्णालीको प्रकृतिसँग मितेरी लगाउँछ ।
समग्रमा “घामभन्दा पहिले” पुस्तक नियात्रा साहित्यका पारखीहरूले त पढ्नै पर्छ, अन्य पाठकहरूलाई पनि आकर्षित गर्छ । पुस्तक पठनीय छ, सङ्ग्रहणीय छ ।आफुले पढेर अरूलाई पनि पढ्न उत्साह जगाउन सक्ने किसिमको छ । कवि हृदय नियात्रा लेखकमा नै पसेपछि कविता, आख्यानात्मक वर्णन र परिवेशको चित्रात्मक प्रस्तुतिले पाठकलाई पुस्तक नसकिकन उठ्न दिँदैन । अनुभूतिजन्य वर्णन र वर्णनजन्य अनुभूतिको समिश्रण छ “घामभन्दा पहिले” मा । यस्तै, भावी दिनमा यस्तै रसिला नियात्रा पस्कन लेखकलाई अवसर र प्रेरणा मिलोस् शुभकामना ।
कृतिः “घामभन्दा पहिले”
विधाः नियात्रा
लेखकः भवानी खतिवडा
प्रकाशकः शिखा बुक्स
संस्करणः पहिलो (२०७८)
पृष्ठः १४९
मूल्यः रु.३००÷–
प्रतिक्रिया