“छोरा जन्मिन्छ रे” भनेर एकजना गर्भवती महिलाको निधारमा २ ईन्चको किल्ला ठोकेछन् पाकिस्तानमा ! ओहो, त्यो समाचार पढेपछि स्तब्ध भएं धेरैबेर।हो यो घटना त पाकिस्तानको हो।तर यस्तै अन्धविश्वास मान्ने नेपालमा पनि कम त कॅंहा छन् ।बोक्सीको नाममा कुटिने महिला,बर्षेनी छोरी पाएको नाममा घरबाट निकालिने महिला,महिनावारी हुंदा घरमा बसे देवता रिसाउॅंछन् भनेर छाउ गोठमा बस्नु पर्ने पनि महिलाले नै आदी।यसरी अनेक अन्धविश्वासको नाममा यसो उसो गर्यो यातना चाहीं संधैं निर्दोष महिलाले नै भोग्नु पर्ने ! कहिलेसम्म ?
अन्धविश्वास भन्नाले कुनै कुरा बिना विचार गरेरै “होत भनेर पत्याउनु” हो।अन्धो जस्तो भएर त्यसै पछि लाग्नु,नसोचि मान्नु,विवेकशुन्य धारणा,संभव-असंभव बिचार नगरि मान्नु आदी!
हुन त संसारमा जॅंहा पनि अन्धविश्वास मान्ने त हुन्छन् नै तर फरक कति मान्ने वा नमान्नेमा हुन्छ।फेरी अन्धविश्वास भन्ने कुरा जति सानो उमेरमा दिमागमा घुसाईदियो उति नै ठुलो हुंदैजांदा गाढा हुदैं जाने रहेछ। वा अन्जानमा पनि हो है जस्तोलाग्ने।
हामी कतिले हातले घांटीमा छुन पुगेमा,हातलाई फु फु गरेर फुक्छौं। कारण चाहीं फु नगरेमा घांटीमा गांड आउॅंछ भनेर सानैदेखि सुन्दै आएकोले हो।हामीलाई थाहा छ शरीरमा आयोडिनको कमीले गांड आउॅंछ भन्ने तर हात फुक्न छोड्दैनौं।
त्यस्तै कुनै कुनै अन्धविश्वास मान्ने हुंदा त कहिले काहीं आपतमा पनि परिन्छ।एकपटक म र साथी कलेज जान गल्लीकोबाटो हिंड्दै थियौं।हाम्रो अगाडीबाट बिरालोले बाटो काट्यो।हामी रोक्कियौं।अन्धविश्वास सुने अनुसार बिरालोले बाटो काट्दा हिंडन हुन्,अशुभ हुन्छ,भन्थे।त्यो दिन त खै के भएर हो आधा घण्टासम्म कोही पनि नआएर गल्लीमा रोकिनु पर्यो ।अशुभ त त्यसै भई नै हाल्यो नी ! उता कलेजको क्लास पनि छुट्यो।अर्कोतिर बानेश्वरको अंध्यारो गल्लीमा दुईकेटीहरू,डर त्यस्तै।
कहिले चाहीं आफुले मान्दै आएको कुनै अन्धविश्वासलाई समय सॅंग सॅंगै परिमार्जित पनि गर्दै लग्नु पर्छ।हाम्रो नेपालीचलन अनुसार कोही यात्रामा निक्लन लाग्दा मुल ढोकाको दुईतिर घडामा पानी राख्ने चलन छ।शुभ साईत हुन्छ भनेर।यात्रा गर्नेले मान्यजनबाट साईतको टिका लगाई,दुई घडामा केही पैसा चढाई,पानी छोएर निक्लन्छन्। अनि घरबाट निक्लेको यात्री गन्तव्य नपुगे सम्म घडा त्यतिकै ढोकाको दुईतिर राख्ने चलन छ।म चाहीं आजकल ढोकामा घडा राख्दिन।बरू पूजा गर्ने ठाउंमा राख्छु। कारण,केही गरेर ढोकामा राखेको पानी पोखिएमा उल्टै यात्री गन्तव्य स्थल सम्म सुरक्षित नपुगुन्जेल मानसिक तनावमात्र हुन्छ।फेरी यात्रीको गन्तव्य पनि आजकल त छोटो हुन्छ र ! पुग्न नै १-२ दिन लाग्छ।त्यस्तै एकपटक त यात्रीलाई एयरपोर्ट छोडेर आउॅंदा ढोकाको घडा चोरी पनि भएको छ।
अरू केही चलनचल्तिका अन्धविश्वासहरू जुन मान्नुमा कुनै अर्थ नै हुन्न तर पनि मानी रहेछका हुन्छौ ।
सराध्यमा बिरालो बान्ने : उहिले बिरालोले खाईदेला,पोखाईदेला चढाउने सामान भनेर बांधे होलान्।अहिले पनि कतिलेत पितृको काम गर्दा बिरालो बांध्नु पर्ने नै रहेछ भनेर खोजेर बांध्ने गर्छन।
खोर्सानी हातमा नदिने : खोर्सानी हातमा दिए,लिने र दिनेको झगडा पर्छ भनेर दिने गरिन्न।अब झगडा के केमा पर्छ,दोष खोर्सानीलाई !
राती घर भित्र नंग नकाट्नु : बुढापाका भएको घरमा राती नंग काट्दा त गाली गरेर सातो लिन्छन्।अलच्क्षिन लाग्छ भन्छन्। खासमा के लाग्थ्यो अलच्छिन ! उहिले घरमा खाने,सुत्ने, बस्ने एकै ठाउॅंमा हुने र बिजुली बत्ती पनि नहुनालेअध्यारो हुने।अब नंग काट्दा उछिट्टिएर खानामा पर्ला भन्ने डर ! बरू अलच्छिन लाग्छ भनिदिए काट्दैनन् भनेर भने होलान्।त्यस्तै राती घरभित्र कपाल पनि कोर्न दिनन्। कपालको गुजुल्टो सागको तरकारीमा आयो भने,वाक्कै आउॅंदैन त !
विवाहित महिलाले बिहिवार ननुहाउनु र छोराको आमाले शुक्रवार पनि :अब उहिल्यै घरमा धारा नहुने,नुहाउन तल खोलातिर जानु पर्ने बाध्यता।पानी बचाउन साथै महिला नुहाउन धेरै जालान र घरको काम गर्ने कोही नहोलान् भनेर भनिदिएहोलान्।
उल्टो चप्पल,जुत्ता देखे दिन बिग्रने:ओहो,यो बिचार त हाम्रो दिमागमा यसरी पसेको छ की,उल्टो देखे जो कोहीले पनिसुल्टो पारिदिहाल्छौं।त्यस्तै अरूले उल्टो लुगा लगाएको देखे, देख्नेलाई अशुभ र आफुले लगाएको देखे चाहीं शुभ भन्छन्।
खाने बेलामा नबोली खानु : खानेबेलामा आफुभन्दा ठुलोको अगाडी बोल्ने, हांस्ने गरे गाली खाईन्छ।ईज्जत नगरेको हुन्छरे! खासमा त्यो होईन ! खाना सर्किन सक्छ बोलेर, हांसेर खांदा भनेर रोक्नलाई त्यसो भनेको होलान्। त्यस्तै खानाउछिट्टिएर जुठो अर्कोको खानामा पनि पर्न सक्छ। हुन पनि खाना सर्केर नराम्रो घटना भएको पनि सुनिन्छ।
हाक्छिंउ गरेको सुनेमा बाहिर निक्लन लागेका पनि एकछिन रोक्किन्छौं। अशुभ मान्छौं। तिनजना एकैपटक निक्ले साईतबिग्रन्छ भन्ने गरिन्छ।घर भित्र सुसेल्न दिन्नन्। शनिवार लामो यात्रामा ननिक्लनु,मंगलबार भेट्न नजानु,छोरीको घरकोखाना त केर,पानी सम्म पनि नपिउनु,भारा लाग्छ भन्छन् बुढापाका ! औंशी,पुर्णेमा केही शुभ कार्य नगर्नु,दाहिने दातचिलाए पैसा आउंछ,देब्रे चिलाए जान्छ।त्यस्तै दाहिने आंखा फर्फराए राम्रो,देब्रे नराम्रो,अझ नफर्फराओस् भनेर थुकलगाएर सानो कागज टांस्ने गरिन्छ। हिक्क,बाडुली आए कसले संम्झ्यो भनेर धमाधम नाम लिन थाल्छौं।घाटीं खसखस गरे कसले कुरा काट्यो भन्छौं।आमाहरू चसक्क छाती चर्के,ओहो संतानलाई बिसंन्चो पो भयो की सोच्छन्।अझ सपनामा विश्वास मान्ने त कति हो कति !
कुनै अन्धविश्वासलाई चाहीं धार्मिकतासॅंग पनि जोडिन्छ।तर जसको बैज्ञानिक आधार पनि हुन्छ।
ग्रहण लागेकोबेला केही नगर्ने : सुर्य वा चन्द्र ग्रहण लागेकोबेला घरबाट बाहिर ननिक्लनु,सुर्यलाई नांगो आंखाले नहेर्नु ,खाना नपकाउनु पाप लाग्छ आदी भनिन्छ। बैज्ञानिक हिसावले पनि ग्रहण लाग्दा बिभिन्न किसिमको मनुष्यलाई हानी गर्ने हानीकारक तत्व निक्लेको हुन्छ।सुर्यको किरण त ग्रहणकोबेला यति घातक हुन्छ। सुर्यलाई सिधै हेर्दा आंखाको रेटिनामाअसर गरेर आंखाको ज्योति पनि गुम्न सक्छ।बरू हेर्न मन लागे थालमा पानी राखेर सुर्यलाई हेर्ने वा सनलाईट प्रोटेक्ट हुनेचस्मा लगाएर हेर्न सकिन्छ। तर नहेरेकै ठिक!
हामी केटाकेटी हुंदा ग्रहण सकिएपछि सबैले नुहाउनु पर्थियो।हुन त अहिले पनि नुहाउने चलन छ।नुहाउनुको कारण ग्रहणलेछोएकोले शुद्ध हुनुपर्छ भनेर हो।कुरा त ठिक हो,ग्रहणको बेला निक्लेको बिकिरण शरीरबाट सफा गर्नै पर्र्यो।ओहो,त्योबेला त काठमाडौंमा बस्ती पनि थोरै।ग्रहण नुहाउन भनेर खानेपानी संस्थानले पानी पनि छोडिदिने धारामा ।त्यस्तैबागमती नदी किनारतिर,पुरानो बानेश्वरको ढुगें धारा तिर नुहाउन मान्छेको घुईंचो लाग्ने।अहिले कता पुग्यो ढुंगेधारा,बागमती भईन ढलमती।अझ रत्नराज्य स्कुल (पुरानो बानेश्वर) अगाडीको दुई ढुंगे धारा मध्य एक चाहीं नुहाउने र लुगा धुन प्रयोग हुन्थ्यो।अर्को खाने पानीको लागि!त्यहाको पानीले त पिनास निको हुन्छ भन्थे।पानी चिसो र मिठो त्यस्तै हुने।
ज्योतिषी देखाउने :कहिलेकाहीं जति मेहेनत गर्दा पनि सफलता मिल्दैन।अरूलाई जति राम्रो गर्दा पनि नराम्रो नै भईदिन्छ।“बोल्यो की पोल्यो” भने जस्तो कहिलेकाहीं राम्रो कुरा गर्दा पनि उल्टो हुन्छ।मन अलिक निरास जस्तो हुन्छ र पुग्छौं जन्मकुण्डली वा चीना बोकेर ज्योतिषीकोमा देखाउन।चीना हेरेर जान्ने ज्योतिषीले धेरै कुरा मिलाउॅंछन्। कतिले बिभिन्न पथ्थर ( स्टोन ) रूबी,हिरा,मोती,निलम,पुष्पराज आदीको औंठी हातको कुनै औंलामा सुन वा चांदीमा बनाएर लगाउनु, ग्रह ठिक हुन्छ भन्छन्।हुन्छ पनि कतिको त।
खासमा पथ्थरमा बिभिन्न किसिमको शक्ति हुन्छ भन्ने कुरा परापूर्वकालदेखि ग्रीक सभ्यतामा पनि मानिदैं आएको रहेछ।स्वंयम्वरमा देव्रे हातको साहिंली औंला वा रिंग फिंगरमा हिराको औंठी लगाईदिने चलन छ।त्यसरी लगाउनुको कारण त्यो औंलाको नशा सिधै मुटुमा जोडिएको हुने रहेछ।त्यस्तै हल्का निलो रंगको एक्कुमरीन (Aquamarine) ले मन शान्त पार्छ, रेड रूबी प्यारको प्रतिक हो।
कहिलेकाहीं चाहीं कतिले ज्योतिषीको कुरा मानेर बिभिन्न ग्रह शान्तिको पूजा,लाख बत्ती बाल्ने,ब्रत बस्ने, शंकटा,महांकाल,बगलामुखी मंन्दिरतिर जप गराउने,सोमबार, मंगलबार माछा मासु नखाने पनि गर्छन्।कति मान्ने वा न मान्ने त्यो त मान्छे अनुसार फरक हुन्छ।
केटाकेटीको पास्नी धुमधामले नमनाउने : आजकल छोरा र छोरीको पास्नी निक्कै नै धुमधामले मनाउने चलन छ।तर कतिको घरमा फाप्दैन भनेर सीमित तरीकाले मनाउॅंछन् ।सबैलाई आफ्नो संतानको माया लाग्छ।ठुलो गर्ने रहर हुंदाहुंदै बुढापाकाले नगर भनेपछि मानेर गर्दैनन्।तर यसमा पनि अंन्धविश्वास नै लुकेको छ। पास्नी भनेको खाना खुवाउनु हो। त्यो दिन बिभिन्न पाहुनाले पालैपालो बच्चालाई कुनबेला तयार पारेको खीर खुवाउॅंदा संन्चो नहुन पनि सक्छ ।त्यस्तै उहिल्यै राम्रो स्वास्थ सेवाको सुविधा थिएन्। बच्चामा बिभिन्न किसिमको स्वास्थ समस्या रहेको हुन पनि सक्छ।बेलैमा उपचार गराउनु पर्ने हुन्छ।तर बच्चा बिरामी वा एक बर्ष नपुग्दै बितेमा दोष चाहीं धुमधामले पास्नी मनाएर भन्ने रहेछ।
बुढाबुढीको ८४ पूजा गर्ने :आजकल त कुनैबेला नेवारी समुदायले मात्र गर्ने ८४ पूजा वा जंख्खु,अरू समुदायले पनि गर्नशुरू गरेका छन्। “हजार जुनी” भन्छन नी, मान्छेले ८१ बर्ष पुरा गर्दा सम्ममा हजारवटा पूर्ण चन्द्रमा देखिसकेको हुन्छ। तेहीहजार चन्द्रमाको दर्शन लाई हजार जुनी पार गरेको मानेर चन्द्रमाको पूजा गर्नुलाई ८४ पूजा भनिने रहेछ। बिभिन्न पण्डितले,बिभिन्न किसिमले पूजा गराउॅंछन्।कति बुढाबुढीले त्यसैबेला तराजुमा एकातिर आफु र अर्कोतिर त्यतिनै तौलबराबर अन्न,फलफूल, पैसा राखेर दान दिन्छन् ।कतिले गाई दान आदी दिने गर्छन।यी सबै गरेपछि यो जुनी पार भयो भन्ने हो। कति बुढा बुढी चाहीं ८४ पूजा गरेपछि मरिन्छ भनेर गर्न नमान्ने पनि हुन्छन्।
अहिले म बसिरहेको देश अमेरिकामा चाहीं बिरालोले बाटो काटे अशुभ र नंबर १३ लाई चाहीं निक्कै अशुभ मान्ने,सोच्ने रहेछन्।अग्लो भवनमा १३ तल्ला हुन्न,१३ नंबरको कोठा होटेलमा हुन्न। त्यस्तै शुक्रवार अनि १३ गते परेमा बिहान देखिआज के अशुभ हुनेहोला भनेर गनगन गरेको सुनिन्छ।
अन्त्यमा,जे जस्तो अन्धविश्वासमा तॅंपाईं विश्वास गर्नु हुन्छ गर्नुस।तर अन्धविश्वासको नाममा कुनैपनि महिलालाई यातना दिन चाहीं पाईन्न।अझ मत भन्छु घर वा समाजबाट सॅंधैको लागि अन्धविश्वासहरू हटाउन चाहने हो भने साना केटाकेटीहरूको दिमागमा आफुले मान्ने गरेका अन्धविश्वासहरू सानैदेखि नथुपारिदिनुस्।कुनै कुरा थाहा नै नपाएपछि,उनीहरू त्यो मान्ने नै छैनन्।
-शशी के.सी
लेखिका
प्रतिक्रिया