प्रदेशको नामकरण ढिलो भएको छ– मुख्यमन्त्री राई

मनोज दाहाल २०७८ फागुन १० गते १२:२२ मा प्रकाशित

विराटनगर,१० फागुन(रासस):प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण अन्य प्रदेशको तुलनामा ढिला भएको बताउनु भएको छ।

मुख्यमन्त्री राईले मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयको सभाहलमा आज नामकरणको लागि आयोजित सर्वदलीय वैठकको शुभारम्भ गर्दै उहाँले चेतना र सङ्ख्याको हिसावले प्रदेश अग्रणी भएपनि नाम अहिलेसम्म टुङ्याउन नसकेकोमा लाज लागेको विचार राख्नु भयो।

मुख्यमन्त्री राईले सरकारको कार्यकाल अत्यन्त छोटो रहेको र प्रदेश सभाको दुईबटा अधिवेशन मात्र बाँकी रहेकोले समय थोरै रहेकोले आम जनताको माग, सवाल र चाहना एवं कामको सिलसिलामा पनि अप्ठ्यारा रहेकोले नामलाई चाँडै सहमती कायम गरीे टुङ्याउनु पर्नेमा जोड दिनु भयो।

उहाँले स्वतन्त्र रुपमा पार्टीको धारणा आउने भएकाले आज छलफलको आयोजना गर्नु पर्ने कारण उल्लेख गर्दै सांसदहरुले नामका सम्वन्धमा पार्टीको विचार अनुसार धारणा राख्ने बताउनु भयो।

मुख्यमन्त्री राईले मुलुकको विभिन्न राजनीतिक परिवर्तनको घटनाकममा प्रदेशको ठूलो भूमिका रहेको छ भन्दै विवादहिन र अन्योता हटाइ नामकारणमा एकजुट हुन सवैलाई आग्रह गर्नु भयो।

उहाँले गम्भिरता एवं जिम्मेवारपूर्वक नाममा टुङ्याउन पर्नेमा जोड दिदै पहिचान ,भूगोलको पहिचान र मिस्रित पहिचानका सम्वन्धमा तीन नामका बिषयमा अन्त्यन्त ललिचो भएर सहमतीका आधारमा दलहरुले आफ्नो दायित्व ठानेर छलफल गरी नामको टुङगाउनु पर्छ भन्नु भयो।

मुख्यमन्त्री राईले वहुदलीय व्यवस्थाको मूल मर्म भनेको सहकार्य एवं आवश्यक लचकता भएको चर्चा गर्दै दलहरुले आवश्यक्ता परेमा संयन्त्र गठन गरी नियमित छलफल गरी नाममा सहमती कायम गर्न सबैदललाई आग्रह गर्नु भयो।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नामाकरण पेचिलो र जटिल भएपनि साझा सहमती आधारमा आधुनिक सङ्घीयता र युग सुहाउँदो नामकरण गर्नु पर्नेमा जोड दिनु भयो।

नेकपा एमाले प्रदेश पार्टी अध्यक्ष तुलसी न्यौपानेले विगतको सरकारले प्रदेश सभामा साझा र सर्वसहमतीका लागि नामकरण गर्न लामो समय रोकिएको चर्चा गर्दै वर्तमान सरकारले साझा प्रस्ताव ल्याएमा छलफल गरी नामकरण टुङ्ग्याउन पार्टी तयार रहेको विचार व्यक्त गर्नु भयो।

नेकपा एकीकृत(समाजवादी)का केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले नामका सम्वन्धमा विविधता भित्र एकताको खोजी गर्नुपर्नेमा जोड दिदै सवैको भावनालाई समेटिनु पर्ने आवश्यक्ता औल्याउनु भयो।

नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले प्रदेशमा वसोवास गर्ने नागरिकले अपनत्व स्विकार गर्ने नामकरण गर्नुपर्नेमा जोड दिदै हतारमा होइन गम्भिर रुपमा सुझवुझका साथ सहमती र सहकार्यका साथ निर्णय गरेमा सफलता प्राप्त हुने धारणा राख्नु भयो।

नेकपा (माओवाद) केन्द्रका हर्क नेम्वाङ्गले पहिचानलाई विशेष महत्व दिएर छलफल गर्न जोड दिदै यथाशिघ्र प्रदेशको नाम दिनु पर्नेमा जोड दिनु भयो।

जनता समाजवादी नेपालका प्रदेश उपाध्यक्ष राजकुमार यादवले पार्टीको तर्फवाट पहिचानको आधारमा प्रदेशमा नाम किराँत–लिम्बुवान,मधेश– शेपालुङ हुनुपर्ने धारणा राख्नु भयो।

सङ्घीय लोकतानित्रक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले सङ्घीयताको आधार पहिचान हुनुपर्छ भन्दै सहमतीको आधारमा नामकरण गर्न आग्रह गर्नु भयो।

नेकपा एकीकृत(समाजवादी)का प्रदेश अध्यक्ष बलदेव चौधरीले पहिचान,भुगोल र भाषासंस्कृतिका आधारमा सबैलाई मान्य हुने सहमतीका आधारमा नामकरण गर्न गर्नुपर्नेमा जोड दिनु भयो।

यसअघि स्वास्थ्य मन्त्री जयराम यादवले सरकारले आफ्नो संयोजकत्वमा सर्वदलीय छलफलको आयोजना गरी प्रदेशको नामकरण टुङ्याउन जिम्मेबार दिए अनुसार छलफल शुरु भएको चर्चा गर्दै आगामी दिन दलहरुवीच अझ विस्तृत गहन रुपमा सहमती कायम गरी नाममा सहमती हुने विश्वास व्यक्त गर्नु भयो।

बैठकमा प्रदेशका मन्त्री, राज्यमन्त्री,राष्ट्रिय सभाका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया