निर्वाचनमा:सबै,सँधै र सँगै

इनेप्लिज २०७८ फागुन ६ गते १२:२२ मा प्रकाशित

विराटनगर,६ फागुन।आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रदेश निर्वाचन कार्यालय १ नं प्रदेश विराटनगद्वारा छैठौँ निर्वाचन दिवस–२०७८ को सन्दर्भमा आज यहाँ आयोजित निर्वाचन संचालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो धारणा राखेका हुन्।निर्वाचन आयोगले यसवर्ष ‘निर्वाचनमा:सबै,सँधै र सँगै’ प्रमुख नारा कायम गरेको छ।

सहभागीहरुले निर्वाचन आचार संहितामा कडाई हुनु पर्ने,खर्चमा मितव्ययिता अपनाउनु पर्ने र मत बदर हुन नदिन मतपत्रमा पनि सुधार गर्नु पर्ने कुरा उहाँहरुले जोड दिएका छन्।मतदान केन्द्रका अधिकृतहरुबाट कुनै पनि लापार्वाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिनुपर्ने,मतपत्रको ठेलीमा गन्तीमा कमी हुन नहुने भन्दै निर्वाचनमा सहभागीहरुले मतदानका दिन मतदाताहरुलाई मत खसाल्न हुन सक्ने सहजता विधि अपनाउनु पर्ने बताएका थिए।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्वाचन निस्पक्ष, धाँधली एवं भयरहित तुल्याउन सबै राजनीतिक दलहरुको साथ र सहयोग आवश्यक पर्ने भन्दै निर्वाचनमा कुनै पनि समस्या हुन नदिन शान्ति सुरक्षाको अवस्थालाई बलियो पार्ने बोल्नुभयो।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मोरङ सात लाख १० हजार हाराहारीमा मतदाता रहेको बताउँदै मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले संचालन गर्ने जानकारी दिनुभयो।

उहाँले अघिल्लो निर्वाचनमा मोरङमा ७४ दशमलव९८ प्रतिशत मतदान भएको जानकारी दिँदै मोरङमा १२ दशमलव ३६ प्रतिशत मत बदर भएको थियो भत्रुभयो ।सत्र वटा पालिका र १५९ वटा वडा रहेको जिल्लामा अघिल्लो निर्वाचनमा चार हजार ३५१ उम्मेदवार थियो भने निर्वाचित उम्मेदवार ८२९ र भाग लिने राजनीतिक दलको सङ्ख्या २० थियो।कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया