प्रदेश नं १ को नामाकरण ‘विराट’ हुनुपर्छ

इनेप्लिज २०७८ फागुन २ गते १२:०४ मा प्रकाशित

विराटनगर,२ फागुन।प्रदेश नं १ लाई विराट प्रदेश नामाकरण गर्नु पर्ने राजवंशी समाज उत्थान समिति( विराट)ले आज यहाँ माग गरेको छ।

समितिको यही फागुन ६ गते हुने १५ औं बृहत भेला पूर्व आज यहाँ गरिएको पत्रकार सम्मेलनमा विराट राजासँग जोडिएको विराट राजवंशीहरु पूर्वी नेपालको आदिवासी भएकोले यस क्षेत्रको सामूहिक पहिचानको लागि प्रदेशको नाम विराट हुनुपर्ने अन्यथा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।

समितिका केन्द्रीय अध्यक्ष भुवनेश्र मण्डलले विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्नुपर्ने जानकारी दिनु भयो।

समितिले विराट राजवंशीलाई राज्यको हरेक अङ्गमा स्थान सुरक्षित गर्नु पर्ने, यस समुदायलाई विराटनगरको प्रथम जातीको रुपमा घोषणा गर्नुपर्ने,प्रदेश सभा सदस्यमा यस जातीलाई समानुपातिक रुपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विराटनगर महानगरपालिका, कटहरी,जहदा बुढीगंगा ,धनपालथान र ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषदको व्यवस्था गर्नुपर्ने, यस समुदायको उत्थानका लागि प्रत्येक तह र अङ्गहरुमा छुट्टै आरक्षणको व्यवस्था गनुपर्ने र विराटनगरको भेडियारीस्थित विराट दरवार क्षेत्रको संरक्षण र प्रबर्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने लगायतका माग सङ्घीय र प्रदेश सरकारले यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनु भयो।

अध्यक्ष मण्डलले आफ्ना मागका सम्वन्धमा विगतमा जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत वुझाइएको जानकारी दिनु भयो।

यही फागुन ६ गते मोरङको जहदा गाउँपालिका–३ वभनटोलीमा हुने भेलामा मोरङ,सुनसरी र झापाका विराट राजवंशीको वृहत सहभागिता हुने जानकारी दिइयो।

विसं २०६८ को जनगणना अनुसार मोरङ,सुनसरी र झापामा यस समुदायको जनसङ्ख्या ४० हजार रहेको अध्यक्ष मण्डलले जानकारी दिनु भयो।

प्रतिक्रिया