केही दिनदेखि “भ्यालेन्टाइन डे” को बारेमा सकारात्मक र नकारात्मक दुबै कुराले भरीएका लेखहरू पढ्न पांए।सबै पढिसकेपछि मलाई “कोरोनाको महामारीले दुई बर्ष देखि आकुल व्याकुल छ संसार,अब “ भ्यालेन्टाइन डे “ भन्दै कोही खुशी हुन चाहन्छन् भने मनाउनेलाई मनाउन देउ ! उपहारमा दिएको फूल घरमा राख्दा त्यसै पनि राम्रो देखिन्छ।उपहार पाउॅंदा को खुशी नहोला र अनि घरमा पकाउनु नपर्दा को रेष्टुरेन्ट जान नाई भन्छ र !” भन्ने बिचार मनमा आयो।
हुन पनि हैन त कति जेमा पनि नराम्रो मात्रै देख्नु एकबारको जुनीमा।समाचार हेर्दा र पढ्दा केही राम्रो देखिन्न।खै लाग्छ साच्चैं नराम्रै मात्र भएको हो की,लेख्नेले नराम्रो मात्रै देखेका हुन्।त्यस्तै नेपालको राजनीतिको के कुरा गर्नु सधैंको किचलो ! त्यस्तै युट्युव हेर्दा लाग्छ,आजकल घरघरमा झगडा छ।अनि आजकल विदेश जानु भनेको त पैसा कमाउन हैनकी उल्टै रिन खोज्दै दलाललाई पैसा बुझाई विदेश गएर काम नपाई अलपत्र पर्नुमात्र हो ।
नेपालको विकाश मात्र कागजमा सीमित छ।प्रत्येक ३-४ दिनमा उद्घाटन हुन नपाई पुल भत्किएको समाचार आउॅंछ।देशलाई ज्वरो निको पार्ने सिटामोल चाहिएको छ।तर सरकार लागेको छ डांडा माथिबाट हेर्ने “भ्यु टावर” बनाउनमा !
एकातिर दिनरात यस्तो समाचारहरू हेर्नुछ।अर्कोतिर दुई बर्षदेखि शुरू भएको कोरोनाको महामारी रोकिन्ने नाम नै लिन्न।उल्टै नॅंया नॅंया निक्लिन्छ।अब जसरी पनि जुधेरै बांच्नु पर्ने भएकोछ।
“फेव्रुअरी १४,भ्यालेन्टाइन डे वा भनौं प्रेम दिवस” संसारभर मानिस रमाईलो गरेर मनाईरहेछन्।केही बर्ष देखि नेपालीहरूपनि निक्कै मनाउॅंछन्।हो यो नेपालको पर्व हैन।र एकथरीलाई किन मनाउनु पर्यो “पश्चिमी संस्कृति” भन्ने लाग्ला।तर प्रेमको पनि कुनै देश हुन्छ र ? प्रेम र प्रेम प्रकट गर्ने यो पर्व मनाउॅंदा के नै बिग्रिन्छ र ?
एकथरी भन्छन् किन देखावटी गर्नु पर्यो।एकदिन मनाउॅंदैमा के प्रेम बलियो भएको प्रमाण हो र ? त्यस्तै सोसल मिडियामा कति श्रीमान् श्रीमतीले प्रेम प्रकट गरेर लेखेको कुरालाई पनि टिप्पणी गर्छन्।मेरो बिचारमा जसरी प्रेम प्रकट नगर्नु गलत हैन।त्यस्तै प्रेम प्रकट गर्नु पनि गलत चाहीं हैन।
हो नेपाली समाजमा खुलेर प्रेम प्रकट गर्ने चलन थिएन।तर नेपाली गीत संगीत सुनौं वा कथा, कविता पढौं ती त प्रेमले भरीएकै हुन्छन् त हैन र ? मान्छे समय अनुसार चल्न सक्नु पर्छ।के प्रेमलाई फेरी पनि सधैं झैं गीत,कथा,कवितामा नैसीमित राख्ने त ? व्यवहारमा नउतार्ने त ?
अझ म त भन्छु,तॅंपाई आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ।तॅंपाईं सॅंग खर्च गर्ने पैसा त्यसै बैंकमा थुप्रिरहेको छ भने यो बर्ष त जति सक्दो धुमधामले “प्रेम दिवस” मनाउनुस्।तपाईंले किनिदिएको उपहार र गुलाफको फूलले पसलेको घर चल्छ।त्यस्तै रेष्टुरेन्टमा खान जानु भयो भने,कोरोनाको महामारीले केही समयलाई वन्द भएर आम्दानी गुमाएका रेष्टुरेन्टका कामदारको घरमा चुलो बल्छ।
देखावटी नै सही एकआपसमा प्रेम प्रकट गरेर त हेर्नुस्।केही समय देखि अत्यास मनस्थितिमा रहेको मनलाई शान्ति मिल्छ।मन खुशी रहे केही नॅंया,नौलो गर्ने जागॅंर चल्छ।
सबैलाई प्रेम दिवसको शुभकामना !
-शशी के.सी
लेखिका
प्रतिक्रिया