यो शिर्षक पढ्ने पाठकको मनमा राग पक्कै पैदा हुन्छ किनकी नयाँ पुस्ताको लागि भ्यालेन्टाइन डे राष्ट्रिय चाडकै रुपमा नेपाली समाजमा मौलाएको छ।
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस के हो भनेर व्याख्या गर्नु पर्ने आवश्यकता नभए पनि स्मरण गर्नु जरुरी छ। १४ फेब्रुअरीका दिन जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि यो विशेष अवसरको रुपमा परिभाषित गर्छन नयाँ पुस्ताका युवायुवतीहरु तर यो पूर्वीय संस्कार भने होइन।
भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमवाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डेको इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राट्ले महिलासँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे ।
सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङघन गरेको कारण सम्राट्लाई सहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।प्रणय दिवस पश्चिमी संस्कृति हो।
भ्यालेन्टाइन डेको लागि रंगीबिरंगी गुलाफ :
भ्यालेन्टाइन डेमा गुलाफ आदानप्रदान हुन्छ, जसमा रातो रंगको गुलाफ बढी आदानप्रदान हुने गर्छ। यस दिन गुलाफको फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको मानिन्छ । रातो रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक समेत मानिन्छ । भ्यालेन्टाइन डेमा गुलाफी रङको गुलाफ पनि आदान प्रदान हुन्छ जसको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्किने भन्ने बुझिन्छ।
पहेँलो गुलाफ मित्रताको प्रतीक पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डेमा पनि यसको प्रयोग हुन थालिसकेको छ । साथै सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ। कालो गुलाफ बिदाइको प्रतीक भएकोले यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भन्ने आभास प्रेमी वा प्रेमिका लाई दिन प्रणय दिवसमा कालो गुलाफ दिने चलन आज भोलि देखिन थालेको छ।
क्षेत्रीय र विश्व्यापी व्यापारीकरणको कारण आयातित संस्कार:
पछिल्लो समय एसिया मात्र नभई अरब र अफ्रिकाका युवा पुस्तामा भ्यालेन्टाइन डे प्रति मोह हरेक वर्ष बढ्दै गएको छ। यसको मूल असर क्षेत्रीय र विश्व्यापी व्यापारीकरणको कारण संसार भर फैलिएको छ। आफ्नो व्यापार बढाउन आजभोली फेब्रुअरी १४ लाई मात्र भ्यालेनटाइन डे नमनाई प्रेम दिवसको सप्ताह ‘डे सेलिब्रेसन’ शुरु भएको छ, यो व्यापारीहरुले सुरु गरेको कुटिल विकृती हो, जस अनुसार ‘भ्यालेन्टाइन डे’को पहिलो दिन,‘रोज डे’ । यस दिन आफुले मन पराएका आफ्नो प्रेमी साथीहरुलाई गुलाबको फूल दिने गरिन्छ । दोस्रो दिन अ प्रपोज डे हुँदै तेश्रो दिन चकलेट डे, चौथो दिन टेडी डे, पाचौ दिन प्रमिस डे, छैठौ दिन हग डे, १३ फेब्रुअरीमा किस डे, १४ फेब्रुअरीमा ‘भ्यालेनटाइन डे’ अर्थात प्रणय दिवस मनाउने गरिन्छ ।जुन दिन सबै प्रेमीप्रमीकाहरुको महत्वपूर्ण दिन मानिने गरेको छ। भ्यालेन्टाइन डेमा किनमेल गर्न दशैँ तिहार जस्तै सपिङ्ग मल र उपहार पसलहरुमा भिड बढ्नुलाइ आज भोलि स्वभाविक मानिन्छ। गुलाफको विशेष माग भ्यालेन्टाइन डेमा हुने तर नेपालमा यस क्षेत्रमा लगानी नहुदा उत्पादन घट्दो छ। भ्यालेन्टाइन डेकै लागि भनेर छिमेकी मुलुक र तेश्रो मुलुकबाट गुलाफको आयात गर्नु पर्ने हुँदा ठुलो मात्रामा देशको अर्थ विदेशिएको छ। त्यसै गरी चकलेट र टेडी बियर जस्तै उपहार उत्पादन समेत अन्तरिक उत्पादन कमजोर रहेकोले विदेशबाटै आयात गर्नु पर्ने बाध्यता छ।
सामाजिक विकृतीमा भ्यालेन्टाइन डे
हाम्रो मौलिक संस्कृति बाहिर को यो पर्वले दिनदिनै विकृती फैलाउन शुरु गरिसकेको छ। केहि वर्ष अघि एक दिन मनाइने यो दिन आजभोली सप्ताहव्यापी रुपमा मनाउन थालिएको छ। यसरी सप्ताहव्यापी रुपमा मनाउदा प्रेमीप्रेमिकालाइ उपहारको भार पर्न जानु त स्वाभाविक हो भने अर्को तर्फ उपहारको तुलना हुन्छ। फलानोको प्रेमीले यो दियो वा फ़लोनोको प्रेमिकाले यो दिई भन्ने किसिमका गुनासोले प्रेमी प्रेमिकामा मानसिक हिनताबोध मात्र होइन सम्बन्ध नै टुट्न समेत थालेको छ। प्रेमीप्रेमिकाहरुमा उपहारको मोल अनुसारको प्रेमीप्रेमिका खोज्ने चलन समेत आजभोली नौलो मानिदैन।
सामाजिक संजालहरुले पनि भ्यालेन्टाइन डेको विकृतीलाइ अझ बढावा दिई रहेका छन्। हरेक दिन बिहान बेलुकासंगै रहेका श्रीमानश्रीमतीहरुका पनि विभिन्न खाले मायाप्रेमका पोस्टहरु यो दिन सामाजिक संजालमा देखिने गर्छन। भ्यालेन्टाइन डे प्रेमी प्रेमिकाको मात्र मनाउन पाउने तर विवाहितहरुले मनाउन नपाउने भन्ने पटक्कै होइन तर सच्चा प्रेम सामाजिक संजालको भित्तामा होइन व्यवहार उतार्न सचेत हुनु पर्ने बेला हाम्रो समाजमा आइसकेको छ। अरुलाई देखाउनै पर्छ अर्काको देखासिकी गर्ने पर्छ भन्ने मान्यता पढेलेखेका जोडीहरुमा पनि प्रशस्त भेटिन थालेको छ।
हिजो आज भ्यालेन्टाइन डेको समय पारेर यौन हिंसा र अन्य विकृती बढ्न थालेको छ। युवा पुस्ताले पश्चिमी संस्कृतिको सिको गर्दै शारीरिक सम्पर्कलाई प्रेममा परिभाषित गर्न थालेको छ भने घर परिवार र समाजलाई यो कुरा पाच्य छैन। दुइ पुस्ता बीचको असमझदारीका कारण युवा पुस्ता असुरक्षित यौन सम्पर्क गर्छन र जसको परिणाम अबैध गर्भ धारण,यौन रोग साथै मानसिक रोगको शिकार लगायतका कारण युवा पुस्ता लागु पर्दाथ जस्ता दुर्व्यसनीमा फस्न पुग्छन। यौन शिक्षामा हाम्रो समाज अझै पनि अनुदार नै छ।
प्रेमको प्रस्ताव राख्न आफ्नो भावना पोख्न न त् भ्यालेन्टाइन डे कुर्नु पर्छ न त सामाजिक संजाल को पोस्ट नै भर्नु पर्छ वा न कुनै महँगो उपहार दिएर नै आफ्नो प्रेमी वा प्रेमिका लाई आकर्षित गर्नु पर्छ। हरेक सम्बन्ध एकअर्का प्रतिको विश्वास,सम्मान र भावनाको कदरमा टिक्ने गर्छ तर हाम्रो समाजमा श्रीमान र श्रीमती हून या प्रेमी प्रेमिका एक अर्का को मोबाइल,सामाजिक संजालका खातामा समेत बन्देज लगाउने,चियो गर्ने र त्यहि कुरामा विवाद गरेर सम्बन्ध चिसाउने काम गरेका थुप्रै उदाहरण भेटिन्छ भने कयौ जोडीहरु विवाह अघि प्रेमिल र विवाह पछि झगडालु हुन्छन।हप्ता दिन किनेको उपहार र एक दिन देखाएको प्रेमले प्रेम जीवन सुखमय पक्कै हुँदैन।त्यसैले भ्यालेन्टाइन डे सिमित दायरामा रहेर मनाउदा आफु,परिवार र समाज सबैलाई लाभ्दायिक हुन्छ।
बाबा राजेश्वरी थापा
भिएना,अष्ट्रिया
प्रतिक्रिया