कृति समीक्षा हृदयका स्पन्दनहरुभित्र रुमलिदा

अरुणबहादुर खत्री “नदी” २०७८ माघ २३ गते २३:४३ मा प्रकाशित

कवयत्री गंगा लिगलको हृदयका स्पन्दनहरु नामक कवितासङ्ग्रह मेरो हात परेको छ।यो कवितासङ्ग्रह सत्रौ कृतिको रुपमा २०७२ सालमा प्रकाशित भएको रहेछ। उनको पहिलो कृति बिहानी नामक कवितासङ्ग्रह निस्केको रहेछ।यस कविता सङ्ग्रहमा हृदयका स्पन्दनहरु शीर्षकको एउटा कवितामात्रै राखिएको छ।उक्त कविता पेज नं.१५ देखि पेज नं.८० सम्म ६६ पेजको छ।नवजीवनको कोल्टेबाट बामे सर्दै उभिएर हिँड्न सक्ने संसार देख्ने क्षमता लिएर हिँडेको मान्छे केवल बाल्यकालको कोपिलै अवस्थामा पुग्दानपुग्दै हृदयभित्रका स्पन्दनहरुले आँखा उघार्न के थालेको थियो कलिलो हृदयमा ठूलो आघात लाग्दा ती चोटहरु हृदयका स्पन्दनस्वरुप छर्कन शुरु हुन थाल्यो कवयत्रीले भनेकी छिन्।कवयत्री गंगालाई बाल्यकालदेखिको मन पर्ने र रुचिको विषय नै साहित्य भएकोले उनी सदा यसबाट अलग्गिन सकिनन्।उनलाई लाग्छ हाम्रो देशको धर्ती उनको अत्यन्त प्यारो स्थान हो ।उनले धर्तीलाई सम्झदै कविता लेखेकी छिन्।

प्रकृतिसँग मुग्ध भै अनन्तताको मीठो स्वर्णीम भावलाई अझैँ आल्हादित बनाउन कोइलीको आह्वानमा काफलको स्वाद लिन तल्लीन भै सम्पूूर्ण प्रकृति बसन्तले जगमगाएको बेला यो सौन्दर्यपान गर्न स्वार्थका अप्सराहरु पनि लुकि छिपी छन्छन्को आवाज दिएर नृत्य झंकारमा मस्त हुन थाले कवयत्रीले कविता बनाएर भनेकी छिन्।धान रोपाई गरेको मनोहर दृश्यावलोकन गर्न आनन्दित हुन थाले यो रमणीय दृश्यले स्पन्दन अनि आफूलाई उल्लासमय वातावरणमा पाएको अनुभव गर्दै कवयत्री गंगा गद्गद् भइन्।अनि खित्का पनि छोड्न थालिन्।यही अविरलतामा मातृभूमिका दर्शनीय स्थलको भ्रमण दर्शनमा तल्लीन भै मानववीच दया,माया, प्रेम सौन्दर्यताको भावनामा उनले उनलाई कवितामा अग्रसर गराइन्।प्रकृतिको रमणीय वातावरणमा घुलमिल गर्दै गुराँस परासको सौन्दर्यमा मोहित भै दृश्य रमणमा आफूलाई स्वर्गीय आनन्दको अनुभूति व्यक्त गर्दै सुनगाभाले बोटमा लगाएको मालाको कल्पनामा केही भावुकता व्यक्त गर्दै बसन्तको कोइलीसँग रमाउन पुग्दछ कवयत्रीले कवितामा भनेकी छिन्।

उनले लेखेको लामो कविताको पुरानो खास लक्षण केही छैन।त्यसलाई सामान्य काव्य भनेर पनि पुकारिन्छ अथवा खण्डकाव्य पनि भन्छन्।जे भने पनि यो पश्चिमा विधा हो लामो कविता।कवयत्री गंगाले मुक्तक,कविता,गीत,खण्डकाव्य,गजल विधामा हात हालेकी छिन्।हाम्रो देश नेपालको पहाडका वेगमय कर्णाली,सेती, कोशी वा बाग्मतीजस्ता कञ्चन र पवित्र नदीहरु आफ्नो गतिमयताले आफ्नो जनता र सम्पूर्ण राष्ट्रलाई नै जीवनदान दिएर अगाडि बढाउन आफूलाई समर्पित गछिंन् कवयत्री गंगा लिगल।

कवयित्री गंगाले सिर्जना गरेको कविता यस कृतिभित्र बेजोडले कुदिरहेको देख्न पाइन्छ।कविको मन अत्यन्त कोमल हुन्छ,संवेदनशील हुन्छ त्यसैले ऊ सूक्ष्मभन्दा सूक्ष्म कुराहरुलाई नजिकबाट नियाल्न सक्छ।त्यसैले उसले कविता लेख्न सक्छ । कवयित्री गंगाले इमान्दारीपूर्वक निर्भीकताका साथ आफ्नो सभ्यता र संस्कृतिका साथै यावत् जीवनको जटिलतम गूढ रहस्यलाई प्रकृति,कला,विचारको माध्यमबाट सशक्त रुपमा अभिव्यक्ति दिएकी छिन्।उनले लेखेका कविताहरु स्तरीय र तिख्खर बन्दै गरेका छन्।कवयित्रीलाई हाम्रा केही सामाजिक रीतिस्थितिहरु मन पर्दो रहेनछ ।उनी त्यही रीतिस्थितिभित्रै छिन्।उनी त्यहाँबाट उन्मुक्त हुन पनि सक्दिनन्।प्रेम र माधुर्यका मात्र कविता लेख्नेहरुका लागि यो एउटा गतिलो चड्कन हुनेछ जस्तो मलाई लाग्छ।प्रेम भनेको युवा युवती बीचको मात्र नभएर प्रकृति आफ्नो मातृभूमिप्रति पनि हुन्छ भन्ने कुरा यो सङ्ग्रहले बताउछ।अधिकांश कविताहरुमा प्रकृति प्रेम झल्कन्छन्।

हिन्दू चाड दशैँ र तिहार त सबभन्दा महान् चाडको रुपमा भएकोले टाढा गएका छोराछोरीहरु पनि आमाबाबुको हातको टीका लगाउन आइपुग्छन् । यो पनि श्रद्धा भक्ति र आस्थाको ठूलो योगदान हो कवयत्रीले कवितामा भनेकी छिन् । त्यस्तै सम्पूर्ण जातजातीहरु आफ्नो आस्था जताई हृदयलाई आनन्द दिन क्रियाकलापहरु गर्ने गर्दछन् रे।हिन्दूहरुले आफ्ना देवीदेवताको मन्दिरमा नै पूजाआजा भजन कीर्तन प्रवचन गरेर आफू आनन्दित हुने साथै अरुलाई आनन्द दिने गर्दछन् कवयत्रीले लेखेकी छिन्।देशका ठूल–ठूला धरोहरहरु बिना कुनै निशानी नराखी सखाप पार्न पछि हट्दैनन् जसले गर्दा देश सङ्कट अवस्थामा पुग्छ भने परिवार, समाज सङ्कटमा गुज्रेको पाइन्छ उनको कविताले भनेको छ।

मृत्युको खाडलमा धकेल्नेजस्ता कार्यले मानवजीवन अस्तव्यस्त भएका छन् भने अब ऊ आफैंमा निर्भर रहन्छ गंगाले कवितामा पोखेकी छिन्।देशमा विकृति आउनु स्वाभाविकै हो यो अत्यन्त ध्यान दिनु पर्ने मुख्य कुरा हो हुन त हाम्रो देश मात्र होइन ठूलो देशमा पनि यस्ता कतिपय काण्डहरु हुन्छन् तर यो क्रियाकलाप सानो र गरिब देशले धान्न सक्दैन तसर्थ देश गरीबमा पनि अति गरीब बन्न पुग्छ भनेर उनले देशप्रति गुनासो पोखेकी छिन्।देशले शान्तिको सास फेर्न पाउने भयो भन्ने कल्पना ली हिँडेका स्पन्दनहरु धैँया धैँया गर्न थाले कवयत्री भन्दछिन्।

साहित्यकार गंगा लिगलले पुरस्कार र सम्मान विभिन्न ठाउँ संघ संस्थाहरुबाट पाइसकेकी छिन्।राष्ट्रिय शिक्षा पदक २०४८ सालमा पाएकी छिन्।भानु जयन्तीमा वासिंटन डि.सी.बाट Famous Poetess को सम्मान २००९ मा,Nepalese Association of Houston बाट नेपाली भाषा साहित्यको सेवामा सम्मान २००९ मा,नेवाः खल सिद्धार्थनगर भैरहवा सम्मान,अ.ने.सा.स.नेपाल च्याप्टर सम्मान, महिला साक्षरता अभियान कार्यक्रम सम्मान,२०० औं भानु जयन्तीमा म्।D.C.। बाट भानु सम्मान,चितवन साहित्य परिषद्मा भानु सम्मान,आदिकवि भानुभक्त आचार्य द्विशत बार्षिकी समारोह समिति भानु सम्मान,सर्वोत्कृष्ट पुस्तक पुरस्कार अमेरिकाबाट २०१५ मा,साहित्य सृजना सम्मान बोस्टनमा २०१४ मा,लुम्बिनी वाङ्मय प्रतिष्ठानबाट सम्मान,त्रिमूर्ति निकेतन लुम्बिनी अञ्चल समन्वय समिति अभिनन्दन २०७२ मा,विश्व नारी त्रिमूर्ति निकेतन लु.अ.रुपन्देहीबाट २०७३ मा सम्मान, अ.ने.सा.स.पाल्पा च्याप्टरबाट सम्मान,ज्योति साहित्य प्रतिष्ठान,तानसेन गुठी काठमाडौं, राष्ट्रिय सेविका नेपाल प्रमुख वक्ता सम्मान,नेपाल च्याप्टर अ.ने.सा.स.काठमाडौं,सिद्धार्थ साहित्य परिषद्बाट कदरपत्र र सम्मान २०७३, त्रिमूर्ति निकेतन केन्द्र शताब्दी पुरुष सत्यमोहन जोशीबाट २०७४ मा सम्मान, सिसास कदरपत्र,प्रश्रित प्रतिष्ठान नेपाल सम्मान,सिससा श्री फाइनान्स साहित्य पुरस्कार,टाइगर साहित्य सम्मान,श्री मनमर्ती साहित्य समाज सम्मान,बनिता त्रैमासिक साहित्य संस्थान अभिनन्दनपत्र,चितवन साहित्य प्रतिष्ठान सम्मान र पुरस्कार,नेपाल टाइगर साहित्य अभिनन्दन,अ.ने.सा.स.नेपाल सम्मान,सत्यमोहन जोशी शताब्दी पदक २०७४ मा लगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेकी छिन्।उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,सृजनशील साहित्य समाज,नेत्रज्योति संघ नेपाल, नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटी,विश्व हिन्दु महासंघ, बैदिक धर्म सनातन समितको आजिवन सदस्य छिन्।बासुशशी स्मृति परिषद्को सदस्य पनि छिन्।सत्य साइ केन्द्र्र,मेउदिहवा भैरहवाको भूतपूर्व अध्यक्ष पनि हुन्।सत्य साइ केन्द्र जनपथ भैरहवाको संस्थापक छिन्।साहित्यलाई निकै माया गरेकी छिन्।उनको कलम साहित्यिक रचनाहरुबाट अगाडि बढीरहेको छ।

आमाको मुहार कहिले उज्यालो नहुने भयो कस्ता सन्ततिहरुको जन्म भएछ यहाँ भन्दै आफैँलाई कवयत्री गंगाले धिक्कार्न थालिन्।यत्रो वर्षदेखिको प्रयत्न सबै खाल्टोमा गएछ यो त हामी नेपालीहरुको सार्है नै नामर्दीपन भयो उनी भन्दछिन्। मानव जीवन अलौकिक जीवन हो यही जीवन हो संसारका सम्पूर्ण वस्तुहरुको उपभोग गर्ने सुअवसर पाइन्छ वाल्य अवस्थादेखि नै साना बालबच्चाहरुलाई स्कूली शिक्षा बाहेक हरेक कुराको तालीम दिइन्छ कवयत्री भन्दछिन्।कवयत्री गंगा लिगल कविता लेखेर कहिल्यै थाक्दिनन्।अन्त्यमा कवयत्री गंगा लिगलको अरु नयाँ कृतिहरु जन्मन सकोस् भन्ने अपेक्षा राख्दछु।

कृतिः हृदयका स्पन्दनहरु
विधाः कविता
लेखकः गंगा लिगल
प्रकाशकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्यूस्टन च्याप्टर
संस्करणः प्रथम २०७२ भानुजयन्ती
मूल्यः रु.१५०।– पृष्ठः ८४

अरुणबहादुर खत्री “नदी”

प्रतिक्रिया