मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्री प्रसाद बीच मीरगञ्ज पुलका विषयमा छलफल

इनेप्लिज २०७८ माघ २२ गते १३:०६ मा प्रकाशित


विराटनगर,२२ माघ।प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र भारत विहारका उपमुख्यमन्त्री तारेकश्वर प्रसाद वीच सिङ्घीया, केसलिया नदी करिडोर र मीरगञ्ज पुल समस्या समाधानको बिषयमा आज यहाँ छलफल भएको छ।

नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की बीच भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिङ्ंघीया र केशलियको बाहिरसम्मको क्षेत्रमा तटबन्ध सहितको करिडोर निर्माणको विषयमा छलफल भएको हो।

सो अवसरमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मीरगज पुलमा भएको क्षतिका कारण यसक्षेत्रका उद्योगी व्यवसायीले ठूलो समस्या बेहोर्नु परेको गुनासो सुनाउनु भयो । उहाँले हरेक वर्ष पुल भास्सिने र ठूला मालवाहक सवारी साधन आउँजाउ गर्न नसक्दा व्यवसायीले ठूलो परिमाणमा विलम्ब शुल्क बुझाउनु पर्ने बाध्यता भएकोले सो समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब सञ्चालन गर्न आग्रह गर्नु भयो।

मन्त्री कार्कीले नेपाल र भारतका नागरिकबीच सदियौंदेखि भाईचारा सम्बन्ध रहेको र नदीजन्य विपत्तीका कारण दुबैतर्फ उत्तिकै कठिनाई हुने गरेको बताउनु भयो।उहाँले प्रदेशको राजधानी विराटनगर भएर बिहारतर्फ बग्ने सिङ्घीया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख दिने भएकोले व्यवस्थित तटबन्ध सहितको करिडोर निर्माण गर्नुपर्नेमा जोड दिनु भयो।

‘सिमापार अपराध र लागूऔषधले उत्पन्न समस्याको विषयमा समेत दुबैतर्फका राज्य सरकार मिलेर काम गर्नुपर्दछ,’मन्त्री कार्कीले भन्नु भयो।उहाँले परिवेश, भेषभुषा, रहन सहन र आपसी संस्कार,संस्कृति दुबै देशतर्फ उस्तै रहेकोले पनि आपसी हितलाई ध्यानमा राखी हामीले संयुक्त रुपमा कार्य गर्नु पर्दछ भन्नु भयो।

बिहार सरकारका उपमुख्यमन्त्री प्रसादले प्रदेश एक सरकारसँग मिलेर आफूहरुले धेरै काम गर्न सक्ने र दुबैतर्फका नागरिकको हितमा यो अपरिहार्य भएको धारणा राख्नु भयो।

उहाँले उठेका विषयलाई थप औपचारिक रुपमा दुई सरकारबीच छलफलमा लग्ने भन्दै मन्त्री कार्कीलाई पटना भ्रमणमा आउन निमन्त्रणा दिनु भयो।

उपमुख्यमन्त्री प्रसादले भन्नु भयो ‘ प्रदेश एकको मात्र नभएर हाम्रो सम्बन्ध सम्पूर्ण नेपाली नागरिकसँग उत्तिकै छ र यो क्षेत्रको विकासमा बिहार सरकारले सक्दो मद्दत गर्ने विषयमा हामी सरकारस्तरमा थप छलफल गर्नेछौ ।” उहाँले मीरगञ्ज पुलबाट सिर्जित समस्याको विषयमा आफू जानकार रहेको भन्दै यसको समाधानका लागि पहल गर्ने बताउनु भयो।

प्रतिक्रिया