विराटनगर,२२ माघ।प्रेस चौतारी नेपालको स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ दुई पत्रकारहरुलाई पुरस्कारद्वारा सम्मान गरिएको छ।
चौतारी मोरङले कृष्णप्रसाद सिग्दल स्मृति युवा पत्रकारिता पुरस्कार विसं २०७७ बाट घनश्याम भण्डारी र विसं २०७८ बाट नेपाल पत्रकार मोरङका सचिव नेत्र पि अधिकारीलाई नगद रु ११ हजार १११ र दोसल्ला ओढाई सम्मान गरेको छ।
सो अवसरमा पूर्वमन्त्री भानुभक्त ढकालले पत्रकारहरुलाई पुरस्कार वितरण गर्दै संविधान र सङ्घीयताको सुनिश्चिातको लागि तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनु भयो।
उहाँले स्थानीय तह जनप्रतिनिधि रिक्त हुनु अगाडि निर्वाचन हुनुपर्छ भन्दै नेकपा एमाले जनताको सार्वभौमसत्ता कायम राख्न सदैब हरेक निर्वाचनको स्वागत गर्दछ भन्नु भयो।
नेकपा एमालेका केन्द्रीय सदस्य बिनोद ढकालले पेशागत हकहितका लागि संङ्गठित रुपमा कार्य गरी स्वच्छ,मर्यादित र निश्पक्ष रुपमा जनतालाई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनु भयो।
चौतरी मोरङका अध्यक्ष सुदिप कोइराला,नेकपा एमाले मोरङ सचिव रुपेश खतिवडा,चौतारीका केन्द्रीय लेखा संयोजक विक्रम लुईटेल,नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष सञ्जीव खनाल,पे्रस सेन्टर नेपाल मोरङ अध्यक्ष अर्जुन आचार्य र नेपाल प्रेस यूनियन मोरङका उपाध्यक्ष कौशल निरौलाले सञ्चारकर्मीहरुमा आर्थिक र सुरक्षाको चिन्ता रहने भएकोले यसको निराकरणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनु भयो।
प्रतिक्रिया