सारेगमप लिटल च्याम्प्सका प्रतियोगी आदित्यको गायन कलाको सर्वत्र चर्चा

इनेप्लिज २०७८ माघ २० गते ३:४९ मा प्रकाशित

काठमाडौं । संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स नेपालको चर्चा यतिबेला सर्वत्र छ । आगामी शनिबार हुने फाइनल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेका बेला सोही प्रतियोगीताका आशालाग्दा बाल गायक आदित्य विश्वकर्मा पनि चर्चाको शिखरमा छन् ।

जन्मिदै सुमधुर स्वर लिएर जन्मिएका ९ वर्षका आदित्यको जादुमयी स्वर सुनेर आनन्दित नहुने सायदै होलान् । भारतको सिलगुडीदेखि काठमाडौँसम्मको लामो यात्रा त्यो पनि महिनौँ काठमाडौँमा बसेर प्रतियोगीतामा भिडन्त गरिरहेका बाल गायक आदित्यले आफ्नो जादुमयी स्वरको कमाल त देखाएकै छन् ।

आदित्यको गायन यात्रामा जजहरु न्ह्यू बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी भावुक नबनेको पल नै छैन । हरेक एपिसोडमा जज र जुरीहरुले आदित्यलाई स्याब्बासी दिँदै उनको काँधमा ढाप मारेकै हुन्छन् । र त आदित्यले फाइनलसम्मको यात्रा चुम्न सफल भएका छन् ।

यसअघि भारतको संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्समा भिडेका आदित्यले चर्चा बटुल्न सफल भए । तर उक्त समयमा उनी निकै सानो उमेरका भएका कारण पनि प्रतिस्पर्धाको अन्तिम चरणसम्म पुग्न सकेनन् । तर पछिल्ला दिनमा उनी आफ्नो जादुमयी स्वर र अद्भुत कलाका कारण पनि सबैको मन मुटमा बस्न सफल छन् । सिलगुडीको कर्म म्यूजिक एकेडेमीमा गायनका कक्षाहरु लिइरहेका आदित्यमा गज्जबको आत्मविश्वास छ ।

आफ्ना बाबुसँग सारेगमप लिटल च्याम्प्स नेपालको प्रतिस्पर्धाका लागि काठमाडौँ आएका यी बाल प्रतिभाले आँफुले उपाधि जितेको खण्डमा भोलीका दिनमा नेपाली गीत संगीतलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

आदित्यको गायन कला देखेर शो हेर्ने र उनलाई सुन्नेहरुले जुनियर नारायण गोपालको उपाधि समेत दिइरहेका छन् । भोटिगं कोड ०२ रहेका आदित्यलाई प्रभु पेको एप्स डाउनलोड गरेर वा मम एपमार्फत भोटीगं गर्न सकिनेछ । फाइनलमा आदित्यले रोशा फुँयाल, अविज्ञा घिमिरे, अरुण सुनार र कृपा पौडेलसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगीताको फाइनल यही शनिबार हुँदैछ ।

प्रतिक्रिया