हिमानी ट्रष्ट दरबारभन्दा माथि

अनिल पाण्डे, क्यालिफोर्निया २०७८ माघ १५ गते ०:२७ मा प्रकाशित

मलाई मेरा साथीहरु राजतन्त्रवादी भनेर चिन्छन् ।

मलाई आपत्ति लाग्दैन । उनीहरुको विचारमा म पूर्वपञ्चहरुको साथमा छु । यो पनि आंशिक सत्य हो । अनिल नेपाली राष्ट्रियताप्रति समर्पित व्यक्ति हो भनेर चिन्नेहरु पनि छन् । यो भने सतप्रतिसत सत्य हो । समाजसेवामा रुचि राख्ने र नेपाली हुनुमा गौरव गर्ने, नेपालको प्रतिष्ठा उच्च बन्ने–बनाउने हरेक कार्यमा रमाउने व्यक्तिको नाम नै अनिल पाण्डे हो ।

यहाँ अनिलले आत्मचिनारी गराउने आवश्यकता किन देख्यो, पाठकहरुलाई जिज्ञासा भएको हुनसक्छ । वास्तवमा गत साता युवराज्ञीहिमानी राज्यलक्ष्मीदेवी शाहलाई स्वागत गर्न क्यालिफोर्नियाबाट उफ्रेर डिसी पुगेको यो व्यक्ति शाह फर्किदासम्म निकै निराश भइसकेको थियो । निराशा मेरो व्यक्तिगत विषय हुनसक्छ, तर हिमानी ट्रस्ट युएस राजावादी, दरबारिया वा पूर्वपञ्चहरुको संस्था हो भन्ने छाप अमेरिकामा रहेका आम नेपालीको मनमा पर्यो भने, महाभारतका अर्जुनलाई स्यालको शिकार गर्न लगाए सरह भएन र हिमानी शाहलाई सामान्य रोजगारीमा रहेका नेपाली समुदायका बीच लाने, सामान्य चिनारी गराउने, फोटो खिचाउने आदि कार्यमै सीमित गराउनु स्यालको शिकारभन्दा ठूलो केही होइन ।

विश्वलाई थाहा छ, बिल गेट्स एण्ड मेलिना फाउण्डेसनलाई कसैले पनि खास राजनीतिक दलको निकट वा राजनीतिक विचारधाराको प्रतिष्ठान भनेर चिन्दैन । उसको उद्देश्य र प्रक्रियाभित्र समेटिने सबैलाई उसले सघाउँछ । रुम टू रिड यस्तै अर्को प्रतिष्ठानलाई स्मरण गर्न सकिन्छ । बेलायतको वेलकम ट्रस्ट पनि राजनीतिक रुपले पक्षीय छैन । हुवार्ड हुगेस भनौं वा लिली इण्डोमेन्ट वा फोर्ड फाउण्डेसन यी सबै विश्व प्रसिद्ध प्रतिष्ठानले उचाइ हासिल गर्नुको पछाडि त्यसमा राखिएको बिउ पूँजी प्रधान थिएन, उनीहरुले अख्तियार गरेको भिजन र संस्थालाई अघिबढाउन अपनाइएको प्रक्रिया मुख्य विषय थियो ।

यस पटक यूवराज्ञी हिमानी शाह सरकार अमेरिकामा खोलिएको हिमानी ट्रस्ट युएसको समुद्घाटनका लागि आउँदा केही आकर्षक कार्यक्रम राख्न सकिन्थ्यो । बिल गेट्स वा यस्तै विश्वविख्यात ट्रस्टीलाई अतिथि बनाएर ड्यासमा राखेर गोष्ठी सञ्चालन गर्न, युवराज्ञी हिमानी सरखार लाई पनि सँगै मन्तव्य दिन लगाउन पनि नसकिने त होइन, तर अहिले नै त्यहाँ सम्म नपुगे पनि प्रान्तीय सांसद ह्यारी भण्डारीलाई त ड्यासमा राख्न सकिन्थ्यो । नेपालमा रहेका प्रभावशाली राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिलाई पनि सम्बोधनका लागिआमन्त्रण गर्न सकिन्थ्यो ।

अमेरिकामै बसेर नाम कमाएका केही नेपाली त छन्, उनीहरुलाई सहभागी गराउन सकिन्थ्यो । हिमानी ट्रस्ट दरबारिया र पूर्वपञ्चहरुको संस्था हो भन्नेहरुलाई मुखभरिको जबाफ दिनसकिन्थ्यो । हामी राजनीतिक दल र शासन सत्ताको प्रक्रियागत पद्धतिका विषयमा फरक मत राखौंला, तर हिमानी ट्रस्टले सबैको प्रेम र सद्भाव पायो भने अन्ततोगत्वा लाभ नेपाल र नेपालीलाई नै हुनेछ ।

आखिरीमा, हाम्रो अभीष्ट यही होइन र रु के यस पटक हामीले यो अवसर गुमाएका होइनौं र नेपालमा लोककल्याणकारी संस्थाका रुपमा नाम कमाइसकेको हिमानी ट्रस्टको अमेरिकास्थित च्याप्टरको समुद्घाटनका लागि हिमानी ट्रस्टका संरक्षक स्वयं अमेरिका आएको बेला व्यापक प्रभावको कार्यक्रम दिनैपर्ने थियो ।

क्यालिफोर्नियाबाट युवराज्ञी शाहलाई स्वागत गर्न मात्र म मित्रहरु नारायण सोमनामे र रविसिंह बस्नेत सँग डिसी पुगेको थिइनँ । नेपाली राष्ट्रियताको प्रबर्धनका गतिविधिमा सरिक हुन त्यहाँ गएको थिएँ । हिमानी ट्रस्टको अमेरिका च्याप्टरको उद्घाटन समारोहमा सरिक हुन विभिन्न स्टेटबाट भेला भएका स्थानीय च्याप्टरका एम्बेसेडरहरुको भावना पनि यस्तै हुनुपर्छ भन्ने मलाई लाग्छ ।

जेहोस्, युवराज्ञी हिमानी लिजबर्गमा १९ जनबरीका दिन एक समारोहका बीच हिमानी ट्रस्ट युएसको समुद्घाटन गर्नुभएको छ, अब यसको प्रतिष्ठा बढाउनका लागि हामी अमेरिकामा रहेका नेपालीले मेहनत गर्नुछ । तर, हिमानी ट्रस्ट भनेको मैले तीन दशक अघि खोलेको मदरल्याण्ड नेपाल होइन, सामान्य फण्ड जम्मा गर्ने र नेपालका गरिब दुखीलाई दिने काममा मात्र हिमानी ट्रस्ट सीमित हुन सक्तैन । यसले भोलिको रेडक्रस बनेर देखाउन सक्नुपर्छ ।

हिमानी ट्रस्ट युएसका अध्यक्ष हरि शर्माले समुद्घाटनको पूर्वतयारी कार्यक्रमलाई सम्बोधन गर्दै सही भन्नुभएको छ, परिस्थितिले अमेरिका आउनुपरे पनि नेपालको समुन्नति प्रति नै ध्यान जाने भएकाले मानवीय सहयोगका लागि ट्रस्टलाई व्यापक र सबल बनाउन हामी सक्रिय रुपमा लाग्नेछौं, लाग्नु पनि पर्छ । को बाल, को वयोवृद्ध, को महिला, को पुरुष– सबै विपन्न, असहाय तथा सहयोगका लागि उपयुक्त पात्रलाई तन, मन र धनले सहयोग गर्ने उद्देश्यले हामी यस ट्रस्टलाई स्थापित मात्र गर्ने होइन सबल र सक्षम पनि बनाउन सफल हुनुपर्छ ।

हिमानी ट्रस्टले महाभूकम्प, बाढी, पहिरो आदिका कारण पीडित–प्रभावित भएका वा अन्य विविध समस्याले पछाडि पारिएका व्यक्तिका लागि राहत वितरण गर्दै र विभिन्न अन्य तरिकाले सघाउँदै आएको छ । यो सुखद पक्ष हो । तर, यसलाई आम प्रतिष्ठानमा सीमित गर्नु चाहिं फेरि पनि माल पाएर चाल नपाउनु नै हो । अर्जुनलाई स्याल मार्न पठाउनु नै हो ।

हरेक स्टेटमा हिमानी ट्रस्टको स्थानीय समिति रहने र त्यसको नेतृत्व ट्रस्टका लागि छानिएका एम्बेसेडरले गर्ने प्रावधान राखिएको छ । अधिकांश स्टेटमा एम्बेसेडर छनोट भइसकेका र ट्रस्टका लागि बाँकी स्टेटमा पनि छिटै एम्बेसेडर छनोट हुने बताइएको छ । सांगठनिक रुपमा हेर्दा, यो सबै अभ्यास ठीकै छ ।

युएस अमेरिकाको कानुन अनुसार विधिसम्मत ढंगले दर्ता भई सञ्चालनमा आएको हिमानी ट्रस्टलाई नेपाली राष्ट्रियताका पक्षमा सक्रिय गराउने जिम्मा अब हाम्रो हातमा छ । हामीले सीमित वैचारिक मानसिकतालाई स्थगित राखेर हिमानी ट्रस्ट आज आम नेपालीका लागि हो, तर भोलि यो अन्तर्राष्ट्रिय जगतका लागि पनि हुनसक्छ, यसो भएमा नेपालकै समृद्धि बढ्छ भन्ने उदात्त चिन्तनका साथ काम हुनु आवश्यक छ ।

प्रतिक्रिया