विराटनगर,१२ माघ।प्रदेश नं १ मा राष्ट्रिय सभा तीन सदस्य पदको आज भएको निर्वाचनको मत परिणाम साँझ सार्वजनिक गरिएको छ।
उक्त निर्वाचनमा दुई स्थानमा गठबन्धन दलले विजयी भएको छ भने एक स्थानमा नेकपा एमाले बिजयी हुन सफल भएको छ।
राष्ट्रिय सभाको अन्य तर्फ गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसबाट गोपालकुमार वस्नेत (झापा) निर्वाचित हुनु भएको छ।उहाँका प्रतिद्वन्द्वी नेकपा(एमाले)का गुरु प्रसाद बराल (मोरङ)ले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नेकाँका बस्नेत विजयी हुनु भएको छ।उहाँहरु दुबैले चार हजार ४८८ मत ल्याउनु भएको थियो।अन्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्वरबहादुर विष्ट(झापा)ले १६८ मत ल्याउनु भएको थियो।अन्यतर्फ प्रदेश सभा सदस्यको एक मत र स्थानीय निकायतर्फ दुई मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनु भयो।
यसैगरी अपाङ्ग÷अल्पसङ्ख्यकबाट नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा( सोलु) चार हजार ४७० मत ल्याइए बिजयी हुनु भएको छ।उहाँका प्रतिद्वन्द्वी गठबन्धन दलबाट जनता समाजवादी पार्टी, नेपालका हेमराज राई थुलुङ ( भोजपुर) चार हजार ३८६ मत ल्याउनु भएको थियो।उक्त मतदानमा स्थानीय तर्फको चार मत बदर भएको थियो।
यस्तै महिला उम्मदेवारतर्फ नेकपा एकीकृत समाजवादीका जयन्तीदेवी राई(भोजपुर) चार हजार ६९२ मत ल्याइए विजयी हुनु भएको छ।
उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेकी सुमित्रा सुवेदी भण्डारी(झापा)ले चार हजार ३६२ मत ल्याउनु भएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी रन्जु प्याकुरे(झापा)ले १२० मत ल्याउनु भएको छ।महिलातर्फको मतदानमा स्थानीय निकायको तीन मत बदर भएको थियो।
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस,नेपाल कम्यूनिष्ट पार्टी( एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी,नेपाल(गठबन्धन दल)बाट तीन जना र नेपाल कम्यूनिस्ट पार्टी (एमाले) बाट तीन जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना उम्मेदवार रहनु भएको छ।
राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सभाका ९२ र १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन्।
आज भएको निर्वाचनमा प्रदेश सभातर्फ ९१ र स्थानीय तहका २७० जनाले मतदान गर्नु भएको थियो।प्रदेश सभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन अधिकृत भरत लम्सालले बिजयी उम्मेदवारलाई आजै साँझ प्रमाणपत्र वितरण गर्नु भयो।
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया