विराटनगर,१२ माघ।राष्ट्रिय सभा सदस्य पदको निर्वाचन प्रदेश नं १ मा सौहार्दपूर्ण वातावरणमा शुरु भएको छ।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा आज बिहान मतदान गर्नु भयो।तीन पदका लागि भइरहेको निर्वाचन आज बिहान ९ बजेबाट शुरु भएको हो।
प्रदेश नं १ का सामाजिक विकास मन्त्री जयराम यादवले सबैभन्दा पहिले मतदान गरी निर्वाचनको कार्य शु्भारम्भ गर्नु भयो।
प्रदेश निर्वाचन आयोगको कार्यालयले विराटनगर–१०स्थित आफ्नो भवनमा स्थानीय निकायका प्रतिनिधिहरु र बाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा प्रदेश सभा सदस्यहरुका लागि गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनु भयो।
निर्वाचनमा अग्रपङतिमा मतदान गर्नेहरुमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवो,नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला लगायत छन्।
मतदान कार्य बिहान ९ बजेदेखि ३ बजेसम्म हुने कार्यालयले जनाएको छ।
उक्त निर्वाचनका लागि नेपाली कांग्रेस,नेपाल कम्यूनिष्ट पार्टी(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी,नेपाल(गठबन्धन दल)बाट तीन जना र नेपाल कम्यूनिस्ट पार्टी (एमाले) बाट तीन जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना उम्मेदवार रहनु भएको छ।
राष्ट्रिय सभाको अन्य तर्फ गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसबाट गोपाल वस्नेत (झापा),एमालेबाट गुरु बराल ( मोरङ) र राप्रपाबाट अम्वरबहादुर विष्ट(झापा),महिलाका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई ( भोजपुर) र एमालेबाट सुमित्रा भण्डारी ( झापा ) र राप्रपाबाट रन्जु प्याकुरेल(झापा) रहनु भएको छ।
यसैगरी अल्पसङ्ख्यकमा गठवन्धनबाट जनता समाजवादी पार्टी, नेपालका हेमराज राई थुलुङ ( भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवारी रहनु भएको निर्वाचन कार्यालयले जनाएको छ।
राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सभाका ९२ र १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन्।
प्रदेश सभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ।
माघ १२ गते नै मतगणना गरी सोही दिन विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिने छ।
आयोगले मतदाताले मत खसाल्नका लागि निर्वाचित आयोगले विजयी हुँदा दिएको दिएको प्रमाणपत्र,नेपाली नागरिकताको प्रमाणपत्र,मतदाता परिचय पत्र र राष्ट्रिय परिचय पत्र मध्ये एकको आधारमा मतदान गर्न दिने व्यवस्था गरेको छ।
विराटनगरको मौसम आज अत्यन्त चिसो भएपनि मतदाता र समर्थकहरुका तथा सुरक्षाकर्मी एवं सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ।
प्रतिक्रिया