कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिने–मन्त्री यादव

इनेप्लिज २०७८ माघ ५ गते १२:२४ मा प्रकाशित

विराटनगर,५ माघ ।प्रदेश नं १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र विराटनगरमा अक्सिजनको अभाव हुन नदिने गरी प्रवन्ध गर्ने बताउनु भएको छ।

मन्त्री यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिनका लागि आज मन्त्रालयमा आयोजित अक्सिजन आपुर्तीकर्ताहरुसँग छलफलमा सो जानकारी दिनु भएको हो।

उहाँले कोभिड अस्पतालमा अक्सिजनको आपुर्तीका लागि पहिले गरेको कार्यका लागि धन्यवाद दिदै आगामी दिनमा पनि सोही अनुसारको सेवा दिन आपुर्तीकर्ताहरुलाई आग्रह गर्नुभयो।

सो अवसरमा मन्त्री यादव समक्ष आपुर्तीकर्ता उद्योगका प्रतिनिधिहरुले कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।

मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिज, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको हो।

मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी हुनु भएको थियो।आपुर्तीकर्ताहरुले अक्सिजनका खाली शिलिण्डरहरु समयमै उपलब्ध गराईदिनु पर्ने बताउनु भएको छ।

प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ वेड विस्तार गरेको छ।यसअघि ९६ बेडको अस्पताल सञ्चालनमा थियो।

प्रतिक्रिया