धुर्मुस सुन्तलीलाई छिर्के हान्नेका नाममा….

सरगम भट्टराई २०७८ माघ ५ गते २:३० मा प्रकाशित

मलाई यति नमीठो भाषामा लेख्न मन थिएन, तर देशको एउटा होनहार सिपाहीप्रति जताततै असह्य र अभद्र टिप्पणी देखे पछि कड़ा शब्द प्रहार गर्नु परेकोमा क्षमाप्रार्थी छु।

मेरो प्रहार आफूले केही काम नगर्ने तर अरुले गरेका काममा सधै खोट देखेर बन्द कोठामा बसेर सामाजिक संजालमा बे-लगाम ट्यार ट्यार गर्नेहरुका नाममा हो, उनलाई अपराधी जस्तो ब्यवहार गर्ने बिकाऊ मिडियाका नाममा हो।

भ्रष्टाचारको आरोप लागेर जेल पुगेकाहरु प्रमाण पुगेन भनेर जेलबाट छुट्दा तिमी कता हुन्छौ ? चप्पल पड्काएर शहर छिर्नेहरु करोडौँको गाडीमा हुईँकिदा तिम्रा आँखा कता फर्केका हुन्छन् ? तीस हजारको जागिर खाने कर्मचारीहरुका ३० करोडको सम्पत्तिको मालिक हुँदा उनीहरुसंग हिसाव कहिल्यै माग्यौ ? नेताहरुले सेटिंग गरेर न्यायलय देखि बिद्यालयमा भागवण्डा गर्दा तिम्रा मुखमा कुन ब्राण्डको पट्टी थियो ? किन आफ्नो पेशा नै छोडेर दु:खी, गरीब र नेपाली जनताका लागि आफ्नो ख़ुशी समर्पण गरेका धुर्मुश सुन्तलीलाई हदैसम्म गिरेर चाहिने नचाहिने आरोप लगाउँछौ ?

नेताहरुले सेटिंग गरेर न्यायलय देखि बिद्यालयमा भागवण्डा गर्दा तिम्रा मुखमा कुन ब्राण्डको पट्टी थियो ?

तोरीहरु हो ! हिसाव तिमीहरुका घरमा दिने हो ? तिम्रो कानमा आएर फुट्ने गरी सुनाउनु पर्ने हो? कि तिमीले सामाजिक संजालमा लेखेका स्टाटसमा कमेन्ट गरेर हिसाव दिनुपर्ने हो? तिमीहरुले कति पैसा दिएका थियौ बस्ती बसाउन? कति पैसा दिएका थियौ रंगशाला बनाउन ? कति दिन उनको शिविरमा गएर श्रमदान गर्यौ ? कहिले धुर्मुशले भ्रष्टाचार गरेको प्रमाण पेश गर्यौ ? धुर्मुशले आफ्नो घर बेचेर, सुन्तलीले गहना बेचेर रंगशाला बनाउनुपर्ने हो ? रंगशालाको काममा जाँदा तिमीहरुका बा’ ले दिन्छ खर्च?

तिमीहरुले तिम्रा भ्रष्टाचारी नेताहरुसंग माग्यौ हिसाव ? तिमीहरुले महाकाली बेच्नेसंग माग्न सक्छौ हिसाव ? ललिता निवासको जग्गा हडप्नेहरुसंग माग्यौ हिसाव ? लाउडा, धमीजा,ओम्नी, यति, एनसेल, सेक्युरिटी प्रेस खरीद, आयल निगम, मल खरीद, स्वास्थ्य खरीद सामग्री ख़रीद लगायत हजारौँ कर्तुतमा तिम्रा बा’हरुले गरेको घोटालाको हिशाब माग्यौ ? क्यानटोनमेन्टको अर्बौँ भ्रष्टाचारबारे हिसाव माग्यौ? बैँक लुटेका हिसाव माग्यौ?

क्यानटोनमेन्टको अर्बौँ भ्रष्टाचारबारे हिसाव माग्यौ? बैँक लुटेका हिसाव माग्यौ?

तोरीहरु हो ! कान खोलेर सुन: धुर्मुशले भ्रष्टाचार गरेको प्रमाणित भएको छैन, तिम्रा बा’ हरु जस्तो धुर्मुश भ्रष्टाचारी पनि हैन। जुन दिन भ्रष्टाचार भएको ठहर्ला, त्यो दिन हेरौँला। तिम्रै बा’ हरुका हातमा कानुन छ, प्रमाणित गर, जेल हाल। तर प्रमाणित नहुन्जेल सक्छौ चुप लागेर बस, सक्दैनौ, जाऊ रंगशालामै गएर हेर, रंगशाला धुर्मुशले आफ्नो ख़ुशीको लागि रंगशाला बनाएको होईन, तिमीहरुका लागि, तिमीहरुका सन्तानको लागि बनाउन खोजेको हो। नेपाल र नेपालीका लागि बनाउन खोजेको हो।

धुर्मुशले तिमीहरुसंग जबर्जस्ती पैसा माग्यो? बल प्रयोग गर्यो? यति चन्दा नदिए तेरो सफ़ाया गरिदिन्छु भन्यो? यति पैसा नदिए तेरो टाउको छिनाउँछु भन्यो? किन एउटा राष्ट्रको गहना बिरुद्ध हात धोएर लागेका छौ ? कि एउटा सच्चा समाजसेवा गर्ने मान्छेलाई टर्चर दिन तिमीलाई मजा आउँछ?

हो, धुर्मुशले काम गर्दा गल्ती गर्यो होला, नमूना बस्ती निर्माणबाट हौँसिएर यति ठूलो सपना देख्यो होला, तर कसका लागि देख्यो धुर्मुशले सपना ? तिमीलाई शंका लागेको भए सुरुमै मुद्धा किन हालेनौ ? तिम्रो विवेकमा छ छैन: एउटा राज्यले गर्न नसकेको कतिवटा काम धुर्मुशले गर्यो ? कतिवटाको आश्रय बन्न धुर्मुशले नेतृत्व गर्यो? धुर्मुशले गरेको गल्ती खोज्ने तोरीहरुले तिम्रा भ्रष्टाचारी बा’ हरुको हजारौँ गल्तीको हिसाव माग्यौ? माग्न सक्छौ? नागरिकका रुपमा तिमीहरुले के गर्यौ? तिम्रा बा’ हरुले नेताका रुपमा के गरे? बन्द कोठामा बसेर धुर्मुशलाई आरोप लगाए तिमीलाई पुग्यो हैन? बस्तीदेखि रंगशाला बनाउँदा धुर्मुशका हातका ठेला देख्यो तिम्रा आँखाले? उनकी आठ बर्षे छोरीको कारुणिक अवस्था देखेका छौ? धुर्मुश, सुन्तलीका आँखामा आँशु देख्यौ?’

धुर्मुशले गरेको गल्ती खोज्ने तोरीहरुले तिम्रा भ्रष्टाचारी बा’ हरुको हजारौँ गल्तीको हिसाव माग्यौ?

मलाई तिम्रा नालायक भ्रष्टाचारी बा’ हरु भन्दा धुर्मुश हज़ार गुना सदाचारी लाग्छ, तिम्रा नाटकी गफाडी बा’ हरु भन्दा ऊ हज़ार गुना कर्मशील छ।उसले कहिल्यै मैले बनाएँ, मैले गरेँ, मलाई पूजा गर भनेको छैन, फ़ाउण्डेशन नै दर्ता गरेर काम गरेको छ, सरकार, संस्थालाई स्वामित्वका लागि याचना गरिरहेको छ। त्यहाँ ऊ एक्लै छैन, धुर्मुशलाई गाली गर्नुभन्दा पहिले आफ्नो अनुहार ऐनामा हेर, तिम्रा घरअघिको बाटो हेर, तिम्रो नजिकको सरकारी स्कूलको अवस्था हेर, तिमीले सही ठानेर छानेर पठाएका बा’ हरुको कायापलट हेर अनि गर धुर्मुशको बदनाम !

धुर्मुशलाई गाली गर्नुभन्दा पहिले आफ्नो अनुहार ऐनामा हेर !

फेरि पनि भन्छु, गल्ती प्रमाणित नहुँदै ऊसलाई बदनाम नगर, नागरिकको रुपमा आफ्नो दायित्व निर्वाह गर, भोली तिमीले गरेको आधारहीन आरोप प्रमाणित भएन भने तिमीले क्षतिपूर्ति सक्छौ?

प्रतिक्रिया