सञ्जय साह मित्र,रौतहट-सर्लाहीको बागमती नदीमा २१ किलोमिटर मानव निर्मित कृत्रिम नदी रहेको विषयमा धेरैलाई थाहा नहोला तर सम्भवतः नेपालको सबैभन्दा लामो कृत्रिम नदी नगरपालिकाले बनाएको नगर प्रमुख भरतबहादुर थापाले जानकारी गराएका छन्।
चुरेको फेंदीदेखि तलतिरको बर्षाको पानी व्यवस्थित गर्दै जाँदा करिब २१ किलोमिटर कृत्रिम नदीको निर्माण हुन पुगेको नगर प्रमुख थापाको भनाइ छ। चुरेबाट विभिन्न ठाउँमा वर्षाको समयमा निस्कने पानी र बस्तीको धेरै ठाउँबाट निस्कने पानीलाई एकीकृत निकास दिने क्रममा नदीको विकास हुन पुगेको नगर प्रमुख थापाको दाबी छ।
चुरेको फेदबाटै सुरु गरिएको कृत्रिम नदीको अन्त्य बागमती नदीमा भएको छ। प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनिसकेको भरततालको पूर्व भएर दक्षिणतिर गएको कृत्रिम नदी अहिले सुख्खा छ।वर्षाको पानीको व्यवस्थित निकास बनाइएकोले हिउँदमा सुख्खा हुनु स्वाभाविक भएको थापाको भनाइ छ।
पानी निकासको लागि कृत्रिम नदीको कल्पना एउटा स्वाभाविक विकास भएको स्थानीयबासीको भनाइ छ । पहिले नै सोचविचार गरेर कृत्रिम नदी बनाइएको नभएर पानीको निकास खोज्ने र धेरै ठाउँ भएर निकास दिनुभन्दा एकै ठाउँबाट एकीकृत गर्दा खर्च कम हुने तथा धेरै नोक्सानी पनि नहुने भएकोले नदीको स्वरुप लिन पुगेको स्थानीयबासी बिमल थापा बताउँछन्।
मानव निर्मित कृत्रिम नदीको बारेमा अध्ययन गर्न चाहनेको लागि बागमती नगरपालिकाको व्यवस्थित प्रयास हुन गएको छ।बागमती नदीको पूर्वी किनारमा सर्लाहीको उत्तर–पश्चिमी कुनाको क्षेत्र समेटर बनाइएको बागमती नगरपालिका नेपालकै सम्भवतःठूलो कृत्रिम ताल भएको पालिका हो।एक सय बिगाहामा फैलिएको भरततालसँगै रहेको मानव निर्मित कृत्रिम ताल पनि कालान्तरमा पर्यटकको आकर्षण बन्ने नगर प्रमुख थापाको भनाइ छ।
कृत्रिम नदीमा कालान्तरमा घरबाट निस्कने पानीलाई पनि व्यवस्थित र प्रशोधित गर्ने सम्भावना रहेको थापाको भनाइ छ।
प्रतिक्रिया