केही दिन अगाडि लेखक खगराज बरालको ‘स्यानी’ उपन्यास पढने मौका मिल्यो।मसँग साहित्यिक रचनाको टिप्पणी गर्ने अभ्यास र अनुभव नभए पनि यस उपन्यासले मेरो मन छोयो र मलाई यसका बारेमा आफ्नै प्रकारको सानो टिप्पणी लेख्ने उत्प्रेरणा जाग्यो।उपन्यासले मन छुने खास कारण उपन्यासमा रहेको ग्रामीण परिवेशको सजीव चित्रण थियो।उपन्यासकार बरालले गाउँमा जे जसरी आफ्नो बाल्यकाल गुजारेका थिए,मेरो बाल्यकाल पनि ठिक त्यसरी नै गुज्रेको थियो ।लेखकको बाल्यकाल कास्कीको पुम्दीभुम्दीमा बितेको रहेछ तर मेरो बाल्यकाल भने उनको भन्दा एक दशक अगाडि खोटाङको गाउँमा बितेको थियो।स्थान र समय फरक परे पनि भोगेको बाल्यकाल दुरुस्त उस्तै थियो।
लेखकले ‘स्यानी’ उपन्यास मातृवियोगका वेदनालाई समेटेर लेखेका रहेछन्।लेखककी आमालाई बा आमाले मावलीमा छोडेर मुगलान (भारतको आसामतिर) गएछन्।त्यसपछि बुढाबुढीले बालक छोरीको खासै खोज खबर पनि गरेनछन्।बुढाबुढी एक प्रकारका निष्ठुरी नै रहेछन्।मावलीमा छोडिएकी बालक भाञ्जीलाई मामामाइजूले भने स्नेहले लालनपालन गरेछन्।तिनले सानी भाञ्जीलाई ‘स्यानी’ भनेर बोलाउँदा रहेछन्।‘स्यानी’ हुर्केपछि मामामाइजूले नै उनको बिहेसमेत गरिदिएछन्।त्यसपछि ‘स्यानी’ले कुशलतापूर्वक आफ्नो घर सम्हाल्नु भएछ।‘स्यानी’ लाई लेखकसहित पाँच पुत्र भएछन्।सबै छोरा हुर्केपछि छोराहरूको पौरख खाने बेलामा आमाको असामयकि र अप्रत्यासित निधन भएछ।यसले लेखकलाई पु¥याएको असैह्य चोटले उपन्यासको सिर्जना हुनपुगेछ।दिवंगत आमाको बाल्यकालको ‘स्यानी’ भन्ने अनौपचारिक नाम नै उपन्यासको नाम हुनगएको रहेछ।
‘स्यानी’ उपन्यासमा लेखकले आमासँग सोधेका बाल जिज्ञासाका अनेकन प्रश्न र बालक छोरासँग आमाले अनेक विषयमा गरेका संवादलाई चलचित्रको संवाद झैँ जस्ताका तस्तै उतारेको पाइन्छ।उपन्यासका सम्बाद र वर्णन खास गरी चाडबाड,संस्कार,संस्कृति,बिहे,ब्रतबन्ध, स्वस्थानी कथावाचन, भजन किर्तन जस्ता विषयमा छन्।उपन्यासमा आमाको काज किरिया र गरुड पुराणका विषयमा पनि धेरै कुरा छन्।उपन्यासमा साउने सक्रान्तिमा गाउँ घरमा लुतो फाल्ने विधि विधान पनि चलचित्रमा देखाए जस्तै गरेर बताइएको छ।गाउँघरमा के कसरी स्वास्थानी कथावाचन गरिन्छ र सुनिन्छ भनेर पनि यथार्थ वर्णन गरिएको छ।लेखक सानो छँदा आमाले उनलाई स्वस्थानी ब्रतको फूल प्रसाद सेलाउन सेती गण्डकीको रामघाट लिएर जानुभएको रहेछ।तिनै आमाको पार्थिव शरीर त्यही रामघाटमा सेलाउनु पर्दाको मार्मिक क्षण उपन्याकारका लागि सम्हालिन नसकिने क्षण बनेको पाइयो।
पहिले गाउँघरमा घडी थिएनन्।गाउँका मानिसले दिनमा घाम र छायाँ हेरेर र रातमा आकाशका तीन तारा र सप्तऋषि हेरेर समयको अड्कल गर्दथे । उपन्यासकार बराललाई आमाले तीन तारा र सप्तऋषि हेरेर रातको समय अडकल गर्न सिकाइ दिनुभएको रहेछ।बराल सानामा राति उठेर पढ्दा तिनै तारा हेरेर उठ्ने गर्दारहेछन्।लेखकले उपन्यासमा रातमा तीन तारा र सप्तऋषि देख्ता आमाको सम्झना हुने कुरा उल्लेख गरेका छन्।लेखकलाई जस्तै मलाई पनि मेरी आमाले रातको समय अड्कल गर्न तीन तारा र सप्तऋषि चिनाइ दिनुभएको थियो।म सानामा रातका बेला घर बाहिर हुँदा आकाशमा तीन तारा र सप्तऋषि कहाँ छन् भनेर हेर्दथेँ।बाल्य कालमा यसरी तारा हेर्ने बानी परेकाले म यस वयस्क उमेरमा पनि रातमा घरबाहिर हुँदा समय अड्कल गर्न घडी मात्र होइन तीन तारा र सप्तऋषि पनि कता छन् भनेर हेर्ने गर्दछु । यी तारा देख्ता मलाई पनि बाल्यकाल र आमाको स्मरण हुन्छ।
किसानका सन्तानलाई दुहुनु गाईवस्तुको ठुलो महत्त्व हुन्छ।घरमा दुहुनु गाईभैँसी भए भागमा दुध,दही,मही पाइन्छ,नत्र रुख्खा सुख्खा खानुपर्ने हुन्छ । दुध दहीको आशमा लेखक आमासँग भैँसी कहिले ब्याउँछ भनेर सोध्ने रहेछन्।आमाले भैँसी ब्याउने लगभग दिन बताइदिएपछि लेखकले भैँसी ब्याउने दिनको गन्ति गर्ने गरेको कुरा उपन्यासमा उल्लेख गरेका छन्।म पनि बाल्य कालमा यसैगरी गाईभैँसी ब्याउने दिनको प्रतिक्षामा हुन्थेँ।लेखकले उपन्यासमा भैँसीका बारेमा थप मार्मिक कुरा पनि बताएका छन्।उनी सानो हुँदा उनको ब्याउने भैँसी लडेर ढाड भाँचेछ र लडेकै ठाउँमा थला परेछ ।यसरी थला परेको भैँसी हेर्न उनी दिनदिनै भैँसी भएका ठाउँमा जाँदा रहेछन्।उनी एक दिन बिहानै भैँसी हेर्न गएछन्।भैँसी मुन्टो पसारेर लडेको अवस्थामा रहेछ। यस कुराले उनलाई भैँसी मरेको आभास भएछ र रुँदै घर आएर आमालाई भैँसी मरेको खबर दिएछन्।किसानका सन्तानलाई दुध दिने चौपायको कस्तो माया हुने रहेछ भन्ने कुरा यसले जानकारी गराउँछ।
‘स्यानी’ उपन्यास कास्कीको दक्षिण पश्चिम र स्याङ्जाको उत्तर पूर्वी भागमा बोलिने नेपाली भाषिकामा लेखिएको छ।यसले उपन्यासमा भएका संवाद र कुराकानीमा मिठास भरेको छ।त्यस भेगमा क्रियापदमा भएको ‘छ’ लाई ‘च’ भनेर उच्चारण गरिन्छ, जस्तो खान्च, जान्च, भन्च, खान्चु, जान्चु, भन्चु आदि।कतिपय शब्दमा ‘ग’ लाई अ भनेर पनि उच्चारण गरिन्छ, जस्तो ‘गर्छ’ लाई ‘अर्च’,‘गर्छु’ लाई ‘अर्चु’ आदि।त्यसैगरी, कतिपय क्रियापदमा भएको एकारलाई इकार उच्चारण पनि हुने गर्दछ,जस्तो ‘भन्ने’ लाई ‘भन्नी’,‘हुने’ लाई ‘हुनी’,‘बोलाउने’ लाई ‘बोलाम्नी’,‘गर्ने’ लाई ‘अर्नी’ आदि।उठ्थ्यो, गथ्र्यो, भन्थ्यो भन्ने जस्ता क्रियापदलाई उठ्तो,अर्तो,भन्तो भनेर उच्चारण हुने गर्दछ।त्यसैगरी, अलिनुलाई अल्नु,पर्मेश्वरलाई पर्मिश्वर भनेर पनि उच्चारण हुन्छ।उपन्यासमा आएका यस्ता शब्दले पाठकलाई आफू कास्की र स्याङ्जाकै सीमानामा भएको अनुभव हुन्छ।
लेखकले उपन्यासमा उनको घरमा कुनै बेला कुनै अदृश्य शक्तिले ढुङ्गा हान्ने गरेको प्रत्यक्ष देखेको र अनुभव गरेको र त्यसरी हानेको ढुङ्गाले घरको टिन नै ठाउँ ठाउँ कुच्चिएको उल्लेख गरेका छन् ।ज्योतिष,धामी,झाँक्रीले यसलाई नागले गराएको भनेर पूजा पाठ गर्न लगाएका र त्यसपछि भने ढुङ्गा हान्न छोडिएको रहेछ। उपन्यासमा यो कुरो भने एउटा अचम्मको विषय छ।
उपन्यास एकदम सरल भाषामा लेखिएको छ।विषयवस्तु र घटनाको सिलसिला तराईमा नदी बगे जस्तै सलल बगेको छ।पढ्दा कुनै पनि ठाउँमा अष्पष्ट हुने र नबुझिने छैन । यस उपन्यासले ग्रामीण परिवेशमा हुर्केका जो कोहीको मन छुन्छ।उपन्यास पढ्न थालेपछि पढेर नसकी उठ्न मन हुँदैन।
लेखक आफैँ पात्र भएर, आफ्नी आमालाई पात्र बनाएर लेखिएको छ।यो उपन्यासलाई प्राध्यापक डाक्टर जयराज आचार्यले भने झै आत्मोन्यास मान्न सकिने प्रशस्त स्थान छन्।सरल र मिठास विषयवस्तु र हरेक पाठकलाई आफैँभित्रको कथा लाग्ने जस्तो गरी गरिएको प्रस्तुति बेजोड छ।पाठक औपन्यासिक विषयवस्तुमा आफैँ हराउँछ, पढ्दै जाँदा आफैँलाई भए जस्तो भारी मन लिएर उपन्यास सकिन्छ।
सफल लेखनका लागि उपन्यासकार बराललाई बधाई।
पुस्तकः ‘स्यानी’’
विधाःउपन्यास
लेखकः खगराज बराल
प्रकाशकः साङ्ग्रिला बुक्स प्रा.लि.
संस्करणः पहिलो (२०७७)
पृष्ठः २५७
मूल्यः रु ४७५
प्रतिक्रिया