दल महाधिबेशन र जन आकाँक्षाहरू !

दीपक पन्त २०७८ पुष २४ गते २३:१६ मा प्रकाशित

संबैधानिक बाध्यात्मक अबस्था सृजना भए पछि होस् वा नियमित आवधिक प्रकृयामा होस् । नेपालका प्रमुख राजनैतिक दलहरू,नेकपा एमाले,नेपाली काँग्रेस , नेकपा माओबादी केन्द्र वा रास्ट्रीय प्रजातन्त्र पार्टी सबैको महाधिबेशनको हुरी भर्खर-भर्खरै सम्पन्न भएको छ ।

यद्दपि केही दलहरू भित्र अध्यक्ष वा सभापतिले मनोनयन गर्नु पर्ने पदाधिकारी तथा बिभागहरुको पूर्णता हुन भने अझैं बाँकी नै छ । अझ माओबादी केन्द्रको कुरा गर्ने हो भने त बिधानत: अध्यक्ष पछाडिका महासचिब तथा अन्य पदाधिकारीहरुको समेत चयन भइ नसकेको अवस्था छ ।

प्रतिस्पर्धा गराउने भन्दा नि “बा” को आशिर्वाद सहित “टिका ग्रहण” प्रवृति हाबी

दलीय ब्यबस्थामा राजनैतिक पार्टीहरुको राष्ट्रिय महाधिबेशन मुख्यत दलको नेतृत्व अनि दलका नीति ,कार्यक्रम र भाबी योजनाका बिषयमा कार्य दिशा तय गर्ने गरिन्छ । समय सापेक्ष जन आकाँक्षा अनुरुप दलहरुले आफ्नो पार्टीको नीति र कार्यशैलीमा परिमार्जन गर्दै जनताका बीच जाने कार्य पद्दति नै महाधिबेशनका मुख्य एजेन्डा हो ।

यसो त पटक पटक देशको राजकीय सत्ता प्राप्त गरी राज्य संचालन गरेका यी दलहरुको राष्ट्रिय महाधिबेशनबाट देश र जनताले के परिबर्तनको आशा र सम्भावनाको अनुभूति गर्ने ? के कस्ता नीति / रणनीति कार्य योजना ,कार्य पत्र प्रस्तुत भए ? प्रश्नहरु देखिएका छन् ।

समग्रमा भन्ने हो भने दलहरुको यो महाधिबेशनलाई नीतिगत र कार्यशैलीको हिसाबले निम्नानुसार विश्लेषण गर्न सकिन्छ ।

१) नेकपा एमाले

नारायणी नदी किनारमा बिशाल जनसागरका बीच टुंगीएको यो महाधिबेशनले पार्टीका कार्य नीति,नयाँ घोषणा कार्यक्रमका बारेमा कुनै ठोस दस्ताबेज प्रस्तुत गरेको पाइएन । प्रजातान्त्रिक प्रतिस्पर्धात्मक पद्दतिबाट उम्मेद्वार बनि पार्टीको पदाधिकारीमा प्रतिस्पर्धा गराउने भन्दा नि “बा” को आशिर्वाद सहित “टिका ग्रहण” प्रवृति हाबी भएको पाइयो । यसले देख्दा प्रजातान्त्रिक निर्वाचन पद्दतिबाट नयाँ नेतृत्व चयन भनिएता पनि “टिके निरंकुशता” को कता कता छायाँ देखिएको सहजै अनुमान लगाउन सकिन्छ ।

नयाँ नेतृत्व चयन भनिएता पनि “टिके निरंकुशता” को कता कता छायाँ देखिएको

२) नेपाली काँग्रेस

आफूलाई प्रजातन्त्रको ठेकेदार मान्ने नेपाली काँग्रेसको महाधिबेशनमा पनि कुनै नीति ,कार्यनीतिर आम सरोकारका बिषयमा चु सम्म बोलेको पाइएन । मुख्य रुपमा दल भित्र र बाहिर पार्टीका नेताहरुले राख्ने फरक मत ,नेकाको पुरानो राजनैतिक बिचार धारा बीपीको समाजबाद वा नयाँ परिवेश अनुरुप २०६२/६३ पछि गिरिजाप्रसादले हिडेको गणतान्त्रिक धारका बिषयमा यो महाधिबेशन मौन रह्यो । केवल पुस्तान्तरणको नारा लगाएर केही युवाहरु चर्चित बने भने दोस्रो पुस्ताका नेताहरु कि आफैं नेतृत्व हत्याउने नभए पुरानो नेतृत्व कै निरन्तरतामा रातारात देखिए । यद्दपी महाधिबेशन प्रतिनिधिहरुको छनौटले केही यूवा र केही पाका नेताहरुलाई पदाधिकारीमा अगाडि बढाएको देखियो ।

२०६२/६३ पछि गिरिजाप्रसादले हिडेको गणतान्त्रिक धारका बिषयमा यो महाधिबेशन मौन रह्यो

तर मूल पार्टीमा नीति, कार्य पद्दतिमा देखिएका ढुल मुले चरित्र बिषेशत: संघियता, गणतन्त्र धर्म निरपेक्षताको सन्दर्भमा पार्टीका आगामी कार्य दिशामा कुनै बहसनै भएन । यसले गर्दा अबको काँग्रेस बीपीको समाजवादको फेरो मै अल्झी रहन्छ कि जनआन्दोलन २०६२ /६३ पछि फेरिएको राजनैतिक संरचनालाई घनिभूत बनाएर हिड्छ ? प्रश्न पेचिलो अनि सान्दर्भिक बनेको छ । यसले गर्दा पार्टीको नीति र कार्य दिशाको लाइन स्पष्ट नभएकोले केही उत्साहप्रद युवाहरू नेतृत्वका लागि चुनिए पनि समग्र काँग्रेसको चालमा तात्विक भिन्नता देखिने कुरामा शंका गर्न सकिन्छ ।

३) राष्ट्रिय प्रजातन्त्र पार्टी

नीतिगत रुपमा राप्रपाले पनि पुरानै राजनैतिक एजेन्डा बोकेको देखियो । यद्दपि नेतृत्वमा नयाँ पुस्तान्तरण भएको छ । बिगत नेतृत्वले पार्टीको मूल राजनैतिक, नीतिगत एजेन्डा बिर्सेर पार्टीलाई सत्ता सांझेदारीको भर्याङ्ग मात्र बनाएको आरोप लाग्दै गर्दा नयाँ नेतृत्व चयन हुनु संयोग मात्र हो कि ? नयाँ परिबर्तनको सम्भावना छ त् ? यो हेर्न बाँकी नै छ । तर बर्तमान परिबेशमा राप्रपाले जुन एजेन्डा बोकेर हिडेको छ । त्यो बगी सकेको नदीको प्रबाह फर्काउनु त्यति सहज बाताबरण भने पक्कै छैन । यद्दपि राजनीतिमा असम्भव शब्द पनि सहजै अनुकरण गरिन्छ । बरु सकृय राजतन्त्रको सट्टा सांस्कृतिक पहिचान र दरिलो रास्ट्र बादमा पार्टीलाई उभ्याउन सक्ने हो भनेआगामी निर्वाचन पछि राष्ट्रिय राजनीतिमा राप्रपाको स्थिति गणना गर्न लायक हुन सक्ने आँकलन गर्न सकिन्छ ।

नयाँ परिबर्तनको सम्भावना छ त् ? यो हेर्न बाँकी नै छ ।

४) नेकपा माओबादी केन्द्र

तुलानात्मक रुपमा यो पार्टीको अधिबेशन नीतिगत एजेन्डाका हिसावले भिन्न रह्यो । यस पार्टीकोअधिबेशनमा प्रचण्डको कार्यदिशा सगँ संगै लेखनाथ न्यौपानेको फरक मत र राम कार्कीको अर्को प्रस्तावले पार्टीमा छलफल गर्नु पर्ने अवस्था बनायो । यसले माओबादी केन्द्रमा आएको बिचारको स्खलन र आजको आबस्यकता । अनि जन आन्दोलन देखि आज सम्मको हिसाब किताब खोज्यो। बन्द सत्रमा माओबादी नेताहरुको फेरिएको जीवन शैली र शसस्त्र संघर्षमा देश र जनता प्रतिखाएको कसमको पुन:समिक्षा गरियो । यसले गर्दा माओबादी केन्द्रको आगामी कार्यदिशाको स्वरुप परिबर्तन गर्दै केही सुधारका संकेतहरु आउलान् भन्ने आशा जगाएको छ ।

समकक्षी नेताहरु मोहन बैद्य वा बाबुराम भट्टराई मूल पार्टीको प्रवाहमा नरहेसी प्रचण्डको ३० बर्षे एकल बिरासतको बिकल्पमा कसैले आँकलन गर्न भने सकेनन् । तथापि लेखनाथ न्यौपानेको फरक दस्ताबेज र राम कार्कीको पुरक प्रस्तावले नेतृत्वलाई गम्भीर भएर सोच्नु पर्ने अबस्थामा पुर्यायो । बहु चर्चित एमसीसी अनुदानका बिषयमा पनि निर्णय पुर्ब नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउँदै शहिदको रगतको मुल्य सम्झन झग्झगायो ।

 प्रचण्डको ३० बर्षे एकल बिरासतको बिकल्पमा कसैले आँकलन गर्न भने सकेनन्

तर प्रतिनिधिहरुले आफ्नो मौलिक अधिकार प्रयोग गर्दै नेतृत्व छान्न पाउनु पर्ने बिषयमा भने यस पार्टीमा पनि सर्ब सम्मतकोनाममा “निरंकुशता सर्ब सत्ताबाद” लादियो । जसले गर्दा खुल्ला प्रतिस्पर्धामा आफ्नो धरातलनाप्न खोज्ने प्रतिनिधिहरु नेतृत्वको आँखामा नपर्दा खुल्ला प्रतिस्पर्धाको बिगुल फुक्न सकेनन् ।अझै यस पार्टी भित्र अध्यक्ष सहित केही केन्द्रीय सदस्य हरुको टुंगो लागेता पनि समग्र पदाधिकारीहरुको टुंगो अझै लागि सकेको अबस्था देखिदैन् ।

निष्कर्ष :

समग्रमा हेर्दा सबै राजनीतिक दलको अधिबेशन प्रकृया १९/२० को फरक भन्दा अन्य फरक अन्तर बस्तु देखिदैन् । पार्टीमा राजनेताको छबिको लागि चाहिने दुर दर्शिता अभिव्यक्ति भन्दा तत्कालिन सुबिधा अनुकुलको अभिव्यक्ति प्रधान भएको देखिन्छ ।

मुख्यत जन आकांक्षाका सबालहरू सबल राज्य नीति ,बैदेशिक नीति ,समग्र देशको आर्थिक नीति , बैदेशिक लगानी ,श्रम बजार र बेरोजगारी नियन्त्रण ,उत्पादनमुखी कार्य योजना ,अन्तराष्ट्रिय सम्बन्ध , जन स्वास्थ्य , शिक्षा तथा समग्र देश बिकासका बिषयमा होस् या नयाँ संविधानले अङ्गीकार गरेको संघियता ,धर्म निरपेक्षा ,गणतन्त्रका बिषयमा सबै पार्टीका सबै पार्टी सदस्यहरुले स्वतन्त्र फरक मत नदिने संकल्प कुनै पार्टीले पास गरेको देखिएन ।

बहुचर्चित एमसीसीका बिषयमा पनि धेरै पार्टी मौन रहे । केवल नेतृत्वमा आफू उभिने र राजनीतिकै दाउ पेचमा सत्ता प्राप्ति गर्ने खेल भन्दा अन्य धेरै कुरा आश गर्न सकिदैन् ।

तैपनि देशको राज्य सत्ताको बागडोर यिनै राजनैतिक पार्टीको हातमा हुने हुँदा यिनीहरुकै कार्यशैलि मै आगामी पुस्ताको भाग्य निर्भर रहने कुरामा दुइ मत देखिदैन् ।

अत:बेलैमा दुरदर्शी निर्णयका साथ राज नेता बन्ने सुबुद्धि नेतागणमा छिट्टै जाओस !  अस्तु !!

 

 

 

 

 

 

 

 

 

दीपक पन्त

मिल्वाकी, अमेरिका

प्रतिक्रिया