प्रचण्डको राजनीति प्रतिवेदनमाथिको समूहगत छलफल सकियो

इनेप्लिज २०७८ पुष १५ गते १६:२९ मा प्रकाशित

काठमाडौं।नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन माथिको छलफल सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि २५ समुहमा छलफल भएको थियो।

आज १४ समूहका टोली नेताले आफ्नो समुहबाट आएका सुझाव राखेका थिए।यसअघि हिजो ११ समूहका टोली नेताले सुझाव राखेका थिए।समूहगत रिपोर्टिङ सकिएलगत्तै स्थायी कमिटी बैठक पनि सुरु भएको छ।बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

आज रिपोर्टिङ गर्ने अधिकांश टोली नेताहरुले एमसीसी खारेज गर्नुपर्ने र दस्तावेजको व्यवहारिक कार्यान्वयन हुनेमा आशंका गरेका छन्।भोली अनुशासन,लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि पुष्प कमल दाहाल प्रचण्डले जवाफ दिनुहुने जनाइएको छ।

यसैबिच नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष दाहालको प्रतिवेदनले समेट्नैपर्ने केही विषय नसमेटेको भन्दै युवा नेता लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको छ।उहाँले पार्टीमा उच्छृङ्खलता मौलाउँदै गएको,नेताहरू सम्पत्ति केन्द्रित हुँदै गएको,भारतको थिचोमिचो विरुद्ध प्रचण्डको प्रतिवेदन मौन रहेको,पार्टीका गतिविधि दक्षिणपन्थ उन्मुख रहेको लगायतका मत राख्नुभएको छ।

भोलीबाट निर्वाचन कार्यक्रम सुरु हुने माओवादीका निर्वाचन आयोगका प्रमुख विष्णस पुकार श्रेष्ठले जानकारी दिनुभयो।माओवादीमा नेतृत्व चयनमा सर्वसम्मतिको पहल भइरहेको भएपनि आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न कठिन देखिएको छ।माओवादीको अन्तरिम विधानले प्रतिनिधिहरूले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरेको छ।

माओवादीको ८ औँ महाधिवेशनमा करिब १ हजार ७ सय प्रतिनिधि सहभागी छन्।माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष,६ जना उपाध्यक्ष,एक महासचिव, दुई उपमहासचिव,तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ।

प्रतिक्रिया