स्कारपिओ दुर्घटना हुँदा रौतहटमा छ जन्तीको मृत्यु

इनेप्लिज २०७८ पुष १३ गते १५:५८ मा प्रकाशित

रौतहट-रौतहटमा मंगलवार दिउँसो भएको स्कारपिओ दुर्घटनामा छ जना जन्तीको मृत्यु भएको छ।जन्ती लिएर विवाहबाट फर्किरहेको भारतीय नम्बर प्लेटको स्कारपिओ रौतहटको गरुडामा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको हो।मृतक सबै एकै गाउँका रहेका छन्।

रौतहटको गरुडा नगरपालिका १ जयनगरस्थित गौर–चन्द्रपुर सडक खण्डमा गौरबाट गरुडातर्फ जाँदै गरेको बीआर ०५ पिए ६९५३ नम्बरको स्कारपिओ दुर्घटना भएको हो।नरकटिया गाउँबाट गम्हरिया गाउँतर्फ जाँदै गर्दा अनियन्त्रित भई बाटोको छेउमा रहेको बिजुलीमा पोलमा स्कारपिओ ठोकिएको थियो।
दुर्घटनाको खबर पाउनासाथ उद्धारमा जुटेको प्रहरीको टोलीले गम्भीर घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाएको थियो।उपचारकै क्रममा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गढीमाई नगरपालिका वडा नम्बर ३ गम्हरियाका १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह,५५ वर्षीय डा.मोसाफिर अन्सारी र २५ वर्षीय शेख छोटुको उपचारको क्रममा गरुडास्थित रौतहट ग्रान्डी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसै गरी थप उपचारको लागि वीरगंजतर्फ लैजादै गर्दा १५ वर्षीय शेख अजिबुल्लाहको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।यसै गरी पहिचान नखुलेका एक जना ४०÷४५ वर्षका पुरुषको सुकदेव चौकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेमा १६ वर्षीय शेख अल्फाज, १५ वर्षीय शेख अमानत र १७ वर्षीय शेख करिमुल्लाह रहेका छन् । घाइतेमध्ये शेख अल्फाजलाई थप उपचारको लागि वीरगंज पठाइएको छ भने दुई जनाको उपचार गरुडामा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जन्तीबाट फर्किरहेको गाडी दुर्घटनामा परेर छ जना हताहत भएको र अन्य तीन जना घाइते भएको खबरले गाउँ नै शोकमा डुबेको गम्हरियाका समाजसेवी शेख ग्यासुद्दीनले जानकारी गराएका छन्।

घटनाको विषयमा छानबिन भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भन्डारीले जानकारी गराएका छन्।

प्रतिक्रिया